+
+
नयाँ अनुहार-९ :

झापा ५ मा सत्ता गठबन्धनका आकांक्षी रन्जित तामाङ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३० गते ७:१३

३० भदौ, काठमाडौं । अखिल क्रान्तिकारीमा रन्जित तामाङ निर्वाचित हुनु सानोतिनो घटना थियो । अघिपछिका सम्मेलनझैं माओवादी केन्द्र नेतृत्वले हेडक्वार्टरको निर्देशनमा नेतृत्व टुंगो लगाउन खोजेको थियो । त्यसअघि उपाध्यक्ष रहेका तामाङले चुनावका पक्षमा एकोहोरो अडान लिइराखे । पार्टीका शक्तिशाली नेता जनार्दन शर्माका भाइलाई पराजित गरेर पहिलो निर्वाचित अध्यक्ष बने ।

तिनै तामाङलाई यसअघिको पहिलो संघीय चुनावमा ‘केपी ओलीलाई जिताऔं’ भन्दै झापाभरि भाषण गर्नुपर्ने खण्ड आइलाग्यो । एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेको सन्दर्भ जो थियो । उनले ओली किन चाहिन्छ भन्दै मिलाई मिलाई तर्क गरे । तामाङको वाकपटुकतालाई ओलीले समेत राम्रैगरी सह्राएका थिए । इतिहासको संयोग, तिनै तामाङ यति बेला एमाले अध्यक्ष ओलीविरुद्ध झापा ५ मा गठबन्धनको सम्भावित उम्मेदवारका रुपमा खडा छन् । चुनावअघि उनले चार–पाँचपल्ट घरदैलो र कार्यक्रमहरु गर्न भ्याइसके ।

पार्टीले आफूलाई उम्मेदवार बनाउने सहमति दिएको दाबी गर्दै तामाङ भन्छन्, ‘हाम्रो क्षेत्रले नयाँ नेतृत्व खोजेको छ । उहाँ (ओली) पाका, अनुभवी र इतिहासमा धेरै योगदान गरिसकेको नेता भए पनि सधैं एउटै व्यक्तिको उपस्थितिले नयाँपनको आभास दिएको छैन । मैले युवाहरुको भावना सम्बोधन गर्ने मुद्दाहरु उठाएको छु ।’

झापा ५ को कमल गाउँपालिकाका स्थायी वासिन्दा तामाङ सशस्त्र युद्धकालमै अखिल क्रान्तिकारीको केन्द्रीय नेतृत्वमा बसिसकेका थिए । त्यस क्रममा उनले पटक–पटक गिरफ्तारी र प्रहरी दमनको सिकार बनेका थिए । शान्तिप्रक्रियामा पार्टी आएसँगै उनी सहरको बौद्धिकवृत्त र युवाहरुबीच आफ्नो प्रभाव बढाउँदै लगे । उनी अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएका बेला विश्वविद्यालय र क्याम्पसहरुमा संगठनले उल्लेख्य सफलता हासिल ग¥यो । एमालेसँग एकता भएका बेला उनी नवीना लामा अध्यक्ष रहेको अनेरास्ववियुमा सहअध्यक्ष रहे ।

झापा ५ मा यसअघि कांग्रेसले खगेन्द्रपाण्डव अधिकारीलाई उठाए पनि यसपल्ट गठबन्धनको तर्फबाट तामाङले टिकट पाउने सम्भावना बलियो बन्दै गएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले यसअघि पटक–पटक जित्दै आएको झापा ५ मा दमक, गौरादह, कमल र गौरीगन्ज छन् । तामाङले यसअघि त्यहाँका स्थानीयसँग अन्तर्क्रिया गरिसके । बुढापाका पुस्तादेखि नयाँ पुस्तासम्म आशा जगाउन सफल रहेको उनी दाबी गर्छन् ।

चुनावमा के मुद्दा लगेर जालान् त तामाङ ? उनको भनाइमा युवालाई अहिले रोजगारी चाहिएको छ, भ्रष्टाचारमुक्त समाजको प्रतीक्षा लामो भइसकेको अवस्थामा अब धेरै पर्खने अवस्था छैन । नयाँ पुस्ताले आफू समाजमा सही ढंगले सम्बोधित भएको महसुस गरेको छैन । अनि यथास्थितिमा रमाउने प्रवृत्तिले स्थानीय नागरिकहरु बढ्ता आक्रान्त बनेका छन् । ‘मैले यिनै नयाँ पुस्ताको आवाज सुन्ने कोसिस गरेको छु, म माओवादी या गठबन्धनको मात्रै होइन, समग्र नागरिकहरुको, अनि परिवर्तन खोजिरहेका युवाहरुको चाहना पूरा गर्ने मुद्दा बोकेको छु,’ उनले भने ।

तामाङको विचारमा सुशासनको अभाव आजको राजनीतिको सबैभन्दा ठूलो समस्या हो । जुनसुकै नेताहरु माथि पुगे पनि नागरिकलाई सकारात्मक भाव सन्चार गर्ने गरी डेलिभरी दिन नसकेको उनको बुझाइ छ । इतिहासका आन्दोलनहरुका योगदानको ब्याज खाने कुरा मात्रै गरेर अब समाजलाई आशा भर्न नसकिने उनी ठान्छन् । ‘मैले प्रत्येक टोलका युवाहरुलाई सही सोच र रोजगारीसम्म जोड्ने योजनाहरु बनाएको छु, संघ, प्रदेश र स्थानीय सरकार तीनै तहलाई मैले यसका लागि परिचालन गर्ने योजनाहरु अघि सार्नेछु,’ उनी भन्छन् ।

संविधान निर्माण भएको नौ वर्ष पुग्दासम्म यसको कार्यान्वयनमा विभिन्न कारणले व्यवधान उत्पन्न भएको, स्वयं ओली त्यसको कारक बन्न पुगेको तामाङको बुझाइ छ । अब राजनीतिक व्यवस्थाका नाममा धेरै कुर्न नसकिने, बरु नागरिकको जीवनस्तर सुधार गर्न ढिला गर्न नहुने उनको विचार छ । ‘त्यसैका लागि मैले आफू जन्मेहुर्केको ठाउँमा फर्केर नागरिकहरुसँगै मिलेर काम गर्ने निधो गरें, अब हामीलाई चाहिएको परिवर्तन हामी आफैं मिलेर ल्याउनुपर्छ । कसैले हाम्रा लागि परिवर्तन ल्याइदेला भनेर आशा गर्ने जमाना गयो,’ उनले अनलाइनखबरसँग भने ।

उनले गठबन्धनका सहयात्री दलहरुमात्रै नभएर विभिन्न विचार राजनीतिमा आस्था राख्ने, अनि स्वयं एमालेलाई नै मत दिँदै आएका मतदातालाई पनि भविष्यको बारेमा सोच्न अपिल गरेका छन् । उनले नयाँ पुस्तालाई राजनीतिप्रति घृणा र उपेक्षाको भाव नदेखाउन, बरु अहिलेको अवस्था परिवर्तन गर्ने प्रयासको हिस्सा बन्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?