+
+
चुनाव २०७९ :

म्यादी प्रहरी बन्न आवेदन दिनेको भीड

आर्यन धिमाल आर्यन धिमाल
२०७९ भदौ ३० गते १६:३६

३० भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन दिनेको भीड लागेको छ ।

एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना खुलाएपछि आवेदन दिनेको भीड लागेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिन नै भीड छ ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ६ असोजसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । नेपाल प्रहरीले ३० वैशाखमा भएको निर्वाचनका लागि नै १ लाख १९ हजार म्यादी प्रहरी चाहिने प्रस्ताव गरेको थियो । त्यसबेला एक लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृति दिएको थियो ।

संघीय र प्रादेशिक निर्वाचन हुने बेलासम्म चाहिँ ५ लाख बढी नयाँ मतदाता थपिएको अवस्थामा म्यादी प्रहरीको संख्या बढाइएको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीले प्रहरी जवानको तलब सरह ४० दिनको पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ पाउने छन् ।

यस्तै उनीहरुका लागि खद्यान्न वापत ६ हजार रुपैयाँ र तोकिएको पोशाक खरिदका लागि ७ हजार २०० रुपैयाँ पनि दिइने छ । यस्तै मतदानस्थलमा जान आउन यातायात खर्च १ हजार रुपैयाँ र खाजा खर्च ४ दिनका लागि १ हजार २०० रुपैयाँ दिइने छ । यो बाहेक हिमाली जिल्लामा खटिने म्यादी प्रहरीले ज्याकेट किन्न थप १ हजार रुपैयाँ पाउने  विभागले जनाएको छ ।

हेर्नुस् तस्वीरहरु 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?