+
+
साफ महिला च्याम्पियनसिप :

भारतविरुद्ध खेल्दा नेपालको नजर आफ्नै डिफेन्समा, १२ वर्षपछि फर्किएला खोलो ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ ३१ गते १३:०९

३१ भदौ, काठमाडौं । समूह चरणमा बंगलादेशले भारतमाथि ऐतिहासिक जित निकाल्दा नेपालले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन भारत विरुद्ध खेल्नुपर्ने भयो ।

प्रतियोगिताको १२ वर्षे इतिहासमा भारत पहिलो पटक बंगलादेशसँग नै पराजित भएको हो । नेपालले भने अहिलेसम्म भारतलाई हराउन सकेको छैन ।

दक्षिण एसियामा भारतको दबदबालाई तोड्दै फाइनल पुग्ने लक्ष्यमा नेपाल छ । तर भारती विरुद्ध बिहीबार दशरथ रंगशालमा दोस्रो सेमिफाइनल खेल्न उत्रिँदा नेपालको ध्यान भने आफ्नै डिफेन्समा हुनेछ ।

किनभने समूह चरणमा नेपालको डिफेन्स र गोलकिपर खासै मेहनत गर्नुपरेन । नेपालले पहिलो खेलमा भुटानलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ६-० ले सहजै हराएर समूह बी को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

ध्यान डिफेन्समा

भुटान र श्रीलंका तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भएकोले पनि नेपालको पोष्टमा खासै बल चार्ज गर्न सकेन । अर्कोतर्फ नेपालको फरवार्ड र मिडफिल्डरले गोल गर्दा डिफेण्डरले समेत विपक्षी विरुद्ध गोल गरेका थिए ।

तर अब भने डिफेन्सले आफ्नै पोजिसनमा काम गर्नुपर्ने बेला आएको छ । किनभने नेपालले अहिलेसम्म भएका पाँचवटै संस्करणमा भारतसँग मात्र पराजय बेहोरेको छ । चार पटक फाइनल र एकपटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

भारतीय प्रशिक्षक सुरेन क्षेत्रीले पनि नेपालले अट्याकिङमा राम्रो गरेको तर डिफेन्ड कसरी गर्छ थाहा नभएको बताएका छन् ।

‘नेपाल बलियो टिम हो र उनीहरुसँग राम्रो खेलाडी छ । उनीहरुले १० गोल गर्दै अट्याकिङ साइड देखाएको छ र कसरी डिफेण्ड गर्छ भन्ने हेर्न बाँकी नै छ,’ क्षेत्रीले एआईएफएफ मिडियासँग भनेका छन्, ‘नेपालसँग खेलेको हामीसँग पुराना अनुभव छन् । र हामी मैदानमा हाम्रो क्षमता अनुसार खेलमा केन्द्रित हुनेछौँ ।’

प्रशिक्षक कुमार र कप्तान एञ्जिला ।

यस्तै समूहको दोस्रो खेलमा श्रीलंकालाई हराएर सेमिफाइनल पुगेपछि नेपालका प्रशिक्षक कुमार थापाले भने डिफेन्डर गोलकिपरको खासै परिक्षण नभएको बताएका थिए । ‘समूह चरणमा डिफेण्डर र गोलकिपर टेष्ट गर्न पाएनौं । हाम्रो डिफेण्डर र गोलकिपर दुवै बलियो छ’, थापाले समूह विजेता बनेपछि भनेका थिए ।

नियमित कप्तान रनुका नगरकोटे चोटका कारण यस पटक टिममा नपरेपछि गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपालले साफ खेलिरहेको छ । उनले यसै साफबाट कप्तानीमा डेब्यु गरेकी हुन् ।

घरेलु मैदानको फाइदा

नेपालले लगातार दोस्रो पटक घरेलु मैदानमा साफ महिला च्याम्पियनसिप खेल्दैछ । दशरथ रंगशालमा नेपाली महिला टिमले खेलेको यो अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । सन् २०१९ मा विराटनगरमा भएको साफमा पनि नेपाली दर्शकको उल्लेख्य समर्थन रहेको थियो । यस पटक राजधानीमै खेल भइरहेको छ ।

नेपाल र भारत दुई चिरपरिचित प्रतिस्पर्धी मैदान उत्रँदा धेरै दर्शक उपस्थित हुने अपेक्षा छ । भारत विरुद्ध खेल्दा नेपाललाई घरेलु मैदान र घरेलु दर्शक र यहाँको वातावरणको साथ हुनेछ । नेपालका लागि त्यो बलियो पक्ष हो ।

समूह चरणमा नेपाल र भुटानको खेल हेर्न उपस्थित दर्शक ।

भारतका प्रशिक्षक सुरेन क्षेत्रीले नेपालसँग सेमिफाइनल भेट पक्का गरेपछि नै नेपाल फुटबलको हब भएको भन्दै घरेलु समर्थकको राम्रो समर्थन हुने बताएका थिए ।

क्षेत्री यस्तो अवस्थामा आफ्नो टिमले खेल राम्रोसँग सम्हाल्नुपर्ने बताएका छन् । ‘फुटबल भनेकै समर्थक र दर्शकको अगाडि खेल्ने हो । हामी केका लागि यहाँ आएका छौँ भन्ने हामीले उनीहरुलाई देखाउनुपर्छ । नेपालमा उनीहरु विरुद्ध नै खेल्नु हाम्रो लागि महत्वपूर्ण हुन्छ । यदी हामीले उनीहरुलाई मैदानमा राम्रोसँग ह्यान्डल गर्‍यौँ भने उनीहरुलाई हराउने क्षमता हामीसँग छ ।’

१२ वर्षीय फर्किएला खोलो?

नेपालले साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म भारतलाई हराउन सकेको छैन । २०१९ मै नेपालमा भएको १३औं सागमा पनि नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । यस्तै २०१९ मा विराटनगरमा भएको पाँचौ साफको फाइनलमा नेपाल भारतसँग ३-१ ले पराजित भएको थियो ।

त्यसअघि साफकै तीन फाइनल र एक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । त्यसैले यस पटक त्यो सबै हारको बदला लिने लक्ष्यमा नेपाल छ ।

साफ सुरु भएको १२ वर्ष भइसकेको छ । १२ वर्षपछि खोलो पनि फर्कन्छ भनेझैँ यस पटक नेपालले साफमै भारतलाई हराउला त ? भन्ने धेरैको चासो रहेको छ ।

नेपालले भारतमै भएको हिरो गोल्डकपमा एक पटक भारतलाई पराजित गरेको थियो ।

नयाँ इतिहास बनाउने लक्ष्य

सन् २०१६ मा भारतमा भएको चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । त्यस बेला नेपालको प्रशिक्षक कुमार थापा नै थिए भने सेमिफाइनलमा भारतसँग नै खेल परेको थियो । जहा नेपाल ३-१ ले पारजित भएर घर फर्कुपर्यो ।

यस पटक प्रशिक्षक थापा र नेपाल दुवैलाई त्यो हारको पीडा बिर्साउने र बदला लिने गतिलो अवसर जुरेको छ । त्यसैले नेपाल यस पटक नयाँ इतिहास बनाउन चाहन्छ । समूह चरणमा जसरी बंगलादेशले भारतलाई हराएर ऐतिहासिक जित निकाल्यो नेपाल पनि त्यसरी नै जित निकाल्न चाहन्छ ।

नेपालले भारतलाई पराजित गरे त्यो नेपालका लागि ऐतिहासिक जित हुन्छ नै भारत पनि पहिलो पटक सेमिफाइनलबाटै बाहिरिने छ ।

तर पछिल्लो समय नेपालको सिनियर टिमदेखि उमेर समूहका सबै टिमहरु महत्वपूर्ण खेलमा भारत विरुद्ध नै पराजित हुँदै आएका छन् ।

श्रीलंकामा भएको साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपविजेता बन्यो । केही समयअघि नेपाल साफ यू-२० मा भारतसँग ८-० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै गत वर्ष सिनियर पुरुष टिम साफ च्याम्पियनसिप फाइनलमा भारतसँग नै पराजित हुँदै उपविजेता बनेको थियो ।

यसपटक त्यो सबै हारलाई बिर्सिएर घरेलु समर्थकलाई खुशी दिलाउने नेपालको लक्ष्य छ । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?