+
+

कलसेन्टरमा फोन गर्नेको सुझाव : अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता देऊ  

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २ गते १६:५०

२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ भदौदेखि अनधिकृत संरचना हटाउँदै आएको छ । यो अभियानलाई महानगरले अहिले पनि जारी नै राखेको छ ।

नगरवासीको गुनासो सुन्न महानगरले सञ्चालन गरेको कल सेन्टरमा फोन गर्ने व्यक्तिहरुले महानगर क्षेत्रमा सञ्चालित अनधिकृत संरचना र फुटपाथ हटाउने अभियानलाई तीव्रता दिन सुझाव दिने गरेको पाइएको छ ।

अनधिकृत संरचना हटाउनु पर्ने सुझावसहित फोन आउने गरेको महानगरको भनाइ छ । अनधिकृत संरचना एवं फुटपाथ अतिक्रमण हटाउनुपर्ने माग राखेर कल सेन्टरमा बढी फोन आउने गरेको कल सेन्टरकी कर्मचारी सरिता रिजाल बताउँछिन् । अहिले दैनिक २०–२५ जनाको फोन अनधिकृत संरचना हटाउनेबारे आउने गरेको रिजालको भनाइ छ । कल सेन्टरको आएको सूचना तथा गुनासो सम्बन्धित विभागमा पठाउने र त्यसपछि कार्यान्वयनको लागि पठाउने गरेको उनले बताइन् ।

महानगरले वडा कार्यालय मार्फत सूचना लिएर फुटपाथ अतिक्रमण, नक्सा विपरीत बेसमेन्ट प्रयोग, सार्वजनिक जग्गा ओगटेको संरचनाहरु हटाउँदै आएको छ ।

डेंगुबारे कलसेन्टरमा चासो बढी

कल सेन्टरमा फोन गर्ने अधिकांश व्यक्तिले डेंगु नियन्त्रण र यसबाट बच्ने उपायका बारेमा चासो बढी राख्ने गरेको महानगरले जनाएको छ ।

कल सेन्टरमा कार्यररत अनमी लक्ष्मी खत्रीका अनुसार अहिले ८० प्रतिशत फोन डेंगुको विषयमा मात्रै रहेको छ । दैनिक २ सय ५० सम्म कल डेंगु रोगको नियन्त्रण र बच्ने उपायबारे आउने गरेको खत्रीको भनाइ छ । खत्रीका अनुसार कल सेन्टरमा आएका जिज्ञासाहरु उत्तर दिएर परामर्श दिने गरिएको छ । कल सेन्टरमा स्वास्थ्य क्षेत्रका ४ जना कर्मचारी परिचालित छन् । यस्तै प्रशासन तर्फ ४ जना कर्मचारी कार्यरत छन् ।

अनधिकृत संरचना हटाउने अभियान निरन्तर 

महानगरले आइताबार काठमाडौं महानगरपालिका वडा नम्बर १० का विभिन्न स्थानमा बिहानैबाट डोजर लगाएर अनधिकृत संरचना भत्काइरहेको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले शुक्रबार थापागाउँमा भत्काएको स्थानमा फेरि स्थानीयले अटेर गरेर संरचना पुनः निर्माण गरेको भन्दै आइतबार डोजर चलाइरहेको बताए । महानगरले अनधिकृत संरचनाहरु हटाउन निरन्तर सूचना जारी गरिरहेकोले अझै धेरै स्थानमा डोजर जाने महानगर प्रहरीले जनाएको छ । यस्तै आजै काठमाडौैं ३२ नम्बर वडाको कोटेश्वर क्षेत्रमा फुटपाथ अतिक्रमण अझै नरोकिएको भन्दै डोजर चलाउने तयारी गरेको छ ।

महानगरपालिकाको नगर प्रहरीले कुनैपनि स्थानका अनधिकृत संरचना भत्काउन अहिले वडाका जनप्रतिनिधिहरुलाई अगाडी सार्ने गरेका छन् । ‘वडा कार्यालयले अनुगमन गर्ने र अनधिकृत संरचना हो, होइन भन्ने विषयमा वडा मै नक्सा झिकाएर मात्रै कारबाही गर्ने गरेका छौं,’ नगर प्रहरी प्रमुख पाण्डे बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?