+
+
स्थलगत :

भ्यूटावरको आडमा भूमाफियाको खेलो, ओलीका सुकुम्बासी मतदाता कता जाउन् !

एमाले अध्यक्ष ओलीको महत्वाकांक्षी योजनाअन्तर्गत झापाको दमकमा भ्यूटावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तर भ्यूटावर छेवैको सुकुम्बासी बस्तीमा भने यसले हलचल ल्याएको छ, सुकुम्बासीको चैन खल्बलिएको छ ।

बिनु सुवेदी बिनु सुवेदी
२०७९ असोज ३ गते २०:५१

३ असोज, दमक (झापा) । झापाको दमक नगरपालिका-३ टुकुरेका गणेश भुजेल ६० वर्षदेखि बस्दै आएको ऐलानी जग्गाको लालपुर्जाको लागि फारम भर्न १०औं पटकभन्दा धेरै त सदरमुकाम चन्द्रगढी मात्रै पुगे । गएको स्थानीय तह निर्वाचन अघि नेताहरूले लालपुर्जाको फारम भराउन उनलाई नगरपालिका र वडा कार्यालयमा पनि पुर्‍याए । तर फारम भर्नु मात्रै भयो, भुजेलको नाममा जग्गा आएन । बरु उनको घरै छेउमा अजंगको अर्काे घर आयो, भ्यूटावरको नाममा ।

त्यही भ्यूटावरले भुजेलको दुई कट्ठा जग्गामध्ये एक कट्ठा अधिग्रहण गरिसक्यो । अहिले उनले सुनिरहेका छन्, भ्यूटावर बनिसकेपछि बस्ती पनि उठाउँछ । त्यसो भए कहाँ जाने होला भन्ने पिरलोले सताउँछ गणेशलाई । भन्छन्, ‘डर लाग्छ, यसअघि पनि उठाए, भ्यूटावरको छेउमा सुकुम्बासीलाई राखेको राम्रो देखिएन भनेर भत्काउलान् कि भन्ने पीर लाग्छ, आफ्नै जग्गा भए त लडेर पनि लिन्थ्यौं नि, ऐलानीमा बसेका छौं ।’

छिमेकमै भ्यूटावर बनाउँदा चल्ने ठूला-ठूला मेसिनको आवाजले पुस्तौंदेखि बस्दै आएका सुकुम्बासीको घर थरर्र हल्लिन्छ । विकास र विकासले निम्त्याउने चहलपहलले छरछिमेकीलाई खुसी नै बनाउनुपर्ने हो तर सुकुम्बासी झन् झन् पिरोलिन थालेका छन् । छेउमै यस्तो ठूलो संरचना बन्दा मजदुरी गर्ने मौका त नदिनेहरूले पछि सुविधा देलान् भन्नेमा स्थानीय सुकुम्बासीलाई पटक्कै विश्वास छैन । बरु बन्दै गरेको विकासले आफूहरूलाई धकेल्ला र ऐलानी जमिनको बसोबास समेत गुम्ला भन्ने चिन्ताले नागरिक ग्रस्त छन् ।

घरको आँगनबाट पूर्वपट्टिको भ्यूटावर हेरिरहेकी भीमकुमारी बिकको पीर पनि भ्यूटावरले विस्थापित गरिहाल्छ कि भन्ने भन्दा पर छैन । ‘हामीलाई त के फाइदा हुन्छ होला र ? यहीं बसेको ठाउँबाट पनि उठाएर लैजान्छ कि, राख्छ टुंगो नै छैन । कहिले होमस्टे बनाउँछु भन्छन्, कहिले के भन्छन्’ बिकले भनिन्, ‘यस्तो राम्रो टावर बनेपछि हामीलाई बस्न देलान् त ?’ दिनदिनै नयाँ-नयाँ मान्छे आउँदा पनि ती मान्छेहरू आफूहरूलाई नै केही भन्न आएका हुन् कि भन्ने लाग्दोरहेछ उनीहरूलाई । तर सधैंभरि यस्तै हुने चाहिं होइन फेरि ।

भीमकुमारी बिक र गणेश भुजेल ।

चुनावका बेला चाहिं अन्यत्र जस्तै सुकुम्बासी बस्तीमा पनि आश्वासन दिन आउनेहरूको खुब चहलपहल हुन्छ । नेताहरू आएर ऐलानी जग्गालाई तुरुन्तातुरुन्तै नम्बरी बनाइदिन्छु भन्छन् । अहिले त झन् भ्यूटावरको छेउमै बस्नुभएको छ तपाईंहरूको भाउ बढ्छ भनेर पनि फकाउँछन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचन र गत वैशाखको स्थानीय निर्वाचनमा पनि नेताहरू यो बस्तीमा पुगे र नागरिकलाई आश्वासन बाँड्न हानथाप गरे । यी दुवै बेला एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए । उनले भ्यूटावर बनेपछि टुकुरेका सबै नागरिकको जीवनस्तर फेरिने, ऐलानी जग्गा नम्बरीमा परिवर्तन हुने, लालपुर्जाविहीनले लालपुर्जा पाउने भाषण गरे । देशैले चिनेको, पटक-पटक प्रधानमन्त्री भइसकेका त्यति ठूला नेताले भनेको उनीहरूले पत्याए ।

ओलीकै भाषण सुनेर सुकुम्बासी बस्तीका यी नागरिकले सूर्य चिहृनमै भोट हालेका हुन् । तर चुनावी माहोलबाट आउने नेताहरूका आश्वासन सोचेझैं हुने रहेनछ, अन्यत्र जस्तै यहाँ पनि भएन । जितेर गएका नेताहरू फर्किएन, वरिपरि सलबलाउने जग्गा दलालले सुकुम्बासीलाई त्रासमा मात्रै राखे ।

निर्माणाधीन भ्यूटावरले च्यापेका कारण जग्गाको क्षेत्रफल घट्दै गएपछि २०२५ सालदेखि यही क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको त्रासको आयतनचाहिं बढिरहेको हो । त्यसैले ६३ वर्षकी कृष्णमाया भुजेललाई चुनावका बेला नेताहरूले देखाउने आशासँग भरोसा लाग्न छोडेको छ । बरु भ्यूटावर बनेपछि आफूहरू नै विस्थापित भइन्छ कि भन्ने डरले घर गरेको छ । ‘डेढ कट्ठा माटो थियो अहिले त एक कट्ठा पनि छैन । भ्यूटावरमा पर्खाल लगाउँदा, छेउको खोला यही हाम्रो आँगननिर ढल्काइदिएको छ’ भुजेलले भनिन्, ‘खोइ के विकास भन्नु ! आफ्नो जग्गा लगिदिएर कस्तो भइरहेको छ, हामीलाई त नर्क छ नि !’

विकासको बहानामा सुकुम्बासी उठिबासको त्रास

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनले दमकमा भ्यूटावर बनाउने योजना ल्याएका थिए । तर तत्काल कहाँ बनाउने भनेर ठाउँको टुंगो लागिसकेको थिएन । त्यही सुईंको पाएपछि स्थानीय जग्गा कारोबारीहरू सलबलाए । उनीहरूले दमक बजारबाट टाढा पर्ने टुकुरेमा १२ बिघा जग्गा कट्ठाको ३ देखि ५ लाखको दरमा किने ।

जग्गा कारोबारीहरू केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, रुद्रप्रसाद दाहाल, कृष्णराज खतिवडा र दीपक प्रसाईंले आफूहरूले किनेको जग्गामध्येको चार बिघा, १८ कट्ठा सात धुर जग्गा भ्यूटावर निर्माणका लागि दमक नगरपालिकालाई दिए । त्यसबेला दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली थिए । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका भतिज समेत हुन् ।

भ्यू टावर बन्न थालेपछि यही समूहले बाँकी ८ बिघा जग्गा प्लटिङ गरेर बिक्रीमा राखे । भ्यूटावरको छेउमै यी चार जनाले जग्गा कारोबारका लागि माँ पञ्चकन्या हाउजिङ खोलेका छन् । अहिले त्यहाँको जग्गा प्रतिधुर नै ५ लाखमा कारोबार भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

भ्यूटावरलाई देखाएर जग्गाको कारोबार बढाइरहेको थाहा पाएपछि एमाले बाहेक अरू दलका स्थानीय नेताहरू भ्यूटावरको विरोधमा उत्रिएका छन् । उनीहरूले दमकमा राम्रो अस्पताल समेत नबनिरहेका बेला सहरको छेउमा लगेर भ्यूटावर बनाउनुको मकसद बुझ्न कठिन नहुने टिप्पणी गर्छन् । एमाले अध्यक्ष ओलीसँग चुनाव लड्न सिफारिसमा परेका कांग्रेस नेता खगेन्द्र अधिकारीले एमालेले छेउछाउका सुकुम्बासीको बेवास्ता गरेर भ्यूटावर बनाउने योजना ल्याएको टिप्पणी गरे ।

एमाले भन्छ : ओलीलाई असफल पार्न विकासको विरोध

एमालेको तर्क भने फरक छ । भ्यूटावरको खास कुरा के हो भनेर नबुझ्नेहरूले नै यसको विरोध गर्ने बताउँछन् । ‘उनीहरूले माथि चढेर वरिपरि हेर्ने भनेर मात्रै भ्यूटावरलाई बुझे’ एमाले प्रदेश-१ का सचिवालय सदस्य होम थापाले भने, ‘वास्तवमा त्यो भ्यूटावर मात्रै हैन, व्यापारिक केन्द्र पनि हो ।’

एमालेका अनुसार भ्यूटावरभित्र व्यापारिक केन्द्र, अस्पताल, खेलकुद केन्द्र, रेस्टुरेन्टलगायत हुनेछन् । स्वास्थ्य, शिक्षा, खेलकुद सबै क्षेत्रलाई समेटेर भ्यूटावर एण्ड बिजनेस सेन्टर निर्माण गर्न लागिएकाले विरोधको कुनै अर्थ नहुने स्थानीय एमाले नेताहरूको भनाइ छ । दमक नगरपालिकाका तत्कालीन मेयर एवम् एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीको भनाइमा भ्यूटावर दूरगामी महत्वको छ ।

‘अहिले मान्छेहरूले काम छैन भन्छन् तर दूरगामी महत्वको छ । रोजगार वृद्धि गर्न सबैलाई जागिर दिएर काम छैन नि’ ओलीले भने, ‘भ्यूटावर हुँदा त्यहाँ अर्काे छुट्टै सहर बन्छ । साथीहरूले केपी ओलीका पालामा विकास नहोस् ओलीले जस नपाओस् भनेर राजनीतिक थलो बनाएका छन् ।’

उनले भ्यूटावरको विरोध गर्नेहरूलाई भ्यूटावर छेउमै गएर विरोध गर्न चुनौती दिए । ‘भ्यूटावरकै छेउमा गएर भ्यूटावरकै कुरा गरिदिउन् न ! हामीले चाहेको पनि त्यही हो’ ओलीले भने, ‘विपक्षीहरूको यति ठूलो काम गर्ने हिम्मतै छैन, अनि त विरोध गर्छन् । आफूहरू सांसद हुँदा एउटा खोला थुन्ने बजेट त ल्याउन् उनीहरू ।’ तर उनले भ्यूटावरका कारण अप्ठ्यारोमा परेका सुकुम्बासीका बारेमा पार्टीको योजनाबारे चाहिं केही पनि बताएनन् ।

तस्वीर र भिडियो  : चन्द्रबहादुर आले 

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?