+
+

माओवादीले टुंग्यायो समानुपातिक उम्मेदवार, प्रचण्डको हस्ताक्षर पर्खिँदै

पदाधिकारीबाट कोही पनि समानुपातिक सूचीमा परेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १४:४४

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक प्रणालीतर्फका उम्मेदवार टुंगो लगाएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार उम्मेदवारको बन्दसूची तयार भइसकेको छ । त्यसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।

प्रचण्ड सोमबार नै सोलुखुम्बुमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका छन् । उनले त्यस क्रममा आफूले हस्ताक्षर नगरेसम्म बन्दसूचीले वैधानिकता नपाउने भन्दै फर्किन हतार भएको बताएका थिए। ‘आज अन्तिम दिन हो, यो समानुपातिक उम्मेदवारहरुको सूची बुझाउने,’ उनले भनेका थिए, ‘मैले हस्ताक्षर नगरिकन हाम्रो पार्टीको तर्फबाट वैधानिकता पाउँदैन ।’

समानुपातिक उम्मेदवारको सूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक २ बजेसम्मलाई स्थगित गरेर प्रचण्ड सोलुखुम्बुको दुधकोसी गाउँपालिकाको भवन उद्घाटन गर्न गएका थिए ।

अब प्रचण्ड फर्केपछि साढे तीनबजेतिर मात्रै पदाधिकारी बैठक बस्ने छ । समानुपातिक सूची मिलाउन माओवादीले महासचिव देव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदलले  तल्ला कमिटीबाट आएका नाम आइतबार घटाएर ४ सयमा झारेको थियो ।

कार्यालय सचिव उपाध्यायका अनुसार सोमबार बिहान बसेको कार्यदलको बैठकले ४ सयबाट पनि नाम घटाएर ३३० मा झारेको छ । दलहरुले प्रतिनिधिसभाका लागि ११० र प्रदेशसभाका लागि २२० गरी ३३० जनाको बन्दसूची निर्वाचन आयोगमा सोमबार नै पठाउनुपर्नेछ ।

माओवादीले समानुपातिकमा यसअघिका सांसदलाई नदोहोर्‍याउने मापदण्ड बनाएको छ । उपाध्यायले पदाधिकारीबाट कोही पनि समानुपातिक सूचीमा नपरेको बताए । माओवादीको पदाधिकारी २१ सदस्यीय छ, जसमध्ये अधिकांश प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् ।

पदाधिकारी बैठकले सूची टुंग्याएपछि माओवादी त्यसलाई बुझाउन आयोग जाने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?