+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘निःशुल्क शिक्षा कागजमा मात्रै सीमित’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १९:११

५ असोज, काठमाडौं । संविधानले विद्यालय तहको शिक्षा निःशुल्क हुने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन नभएको सरोकारवालाले बताएका छन् ।

बुधबार शिक्षा पत्रकार समूहको २३ औं साधारणसभाको अवसरमा आयोजित निशुल्क शिक्षा खोइ विषयक अन्र्तक्रियामा बोल्दै शिक्षाविद् डा. विष्णु कार्कीले निःशुल्कका नाममा झुटको खेती भइरहेको आरोप लगाए ।

शिक्षाविद् कार्कीका अनुसार सन् १९७५ मा प्रति विद्यार्थी ५० रुपैयाँ शुल्क थियो भने १९९५ मा ९७५ रुपैयाँ, २०१५ मा १५ हजार र हाल प्रतिविद्यार्थी २५ हजार रुपैयाँ सरकारको खर्च भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले स्थानीय सरकारले विद्यालय शिक्षाको पूर्ण स्वामित्व नलिँदासम्म निशुल्क शिक्षा सम्भव नभएको बताए । स्थानीय सरकारलाई क्षमताका आधारमा वर्गीकरण गरेर संघ र प्रदेशले थप लगानी गरेमात्रै निशुल्क शिक्षा सम्भव हुने बताए ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले संविधानले एकातिर निशुल्क शिक्षा भन्ने र अर्कोतर्फ बालबालिका शुल्क तिर्न नसकेकै कारण पढाइबाट वञ्चित हुनुपर्ने अवस्था रहेको बताइन् ।

शिक्षाविद् प्रा.डा. विनय कुसियत सरकारले शिक्षामा बजेट २.५ गुणाले बढाउनुपर्ने बताए । उनले सरकारले अन्य भौतिक गतिविधिहरुमा लगानी गरे पनि गणस्तरीय र समतामूलक शिक्षाका लागि लगानी नगरेको दाबी गरे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले संविधानले व्यवस्था गरेको बाहेक कुनै पनि बहानामा शुल्क लिन नपाइने बताए । ‘निःशुल्क शिक्षा नियमावली २०७७ को प्रावधानअनुसार निःशुल्क भन्नाले विद्यार्थीलाई भर्ना हुन आएवापत, शिक्षा दिएवापत, परीक्षा लिएवापत र पाठ्यपुस्तकको नाममा विद्यालयले शुल्क लिन पाइन्न’ उनले भने ।

स्थानीय सरकारले बनाएको कार्यविधिअनुसार समाजसेवी, चन्दा दाताहरुले तथा अभिभावकहरुले दिने सहयोगलाई मात्र लिन पाईने प्रवक्ता शर्माले बताए ।

नीलबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका पौडेल नेपालले विद्यालयका विभिन्न समस्या समाधानका लागि अभिभावकसंग छलफल गरेरै सहयोग लिने गरेको बताइन् । उनले भनिन् ‘शिक्षक व्यवस्थापन, आवश्यक कर्मचारी, प्रशासन, लेखापाल कम्प्युटर ल्याब तथा विद्यालय विकासका लागि अभिभावकको सहयोग विना असम्भव छ ।’

त्यस्तै, तिलिङ्गाटार माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले पनि विद्यालय चलाउन पहिले शुल्क लिएको तर हाल विस्तारै निःशुल्क शिक्षा दिन थालेको बताए । अहिले विद्यालयले कक्षा ११/१२ मा मात्रै शुल्क लिने गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?