+
+
ब्लग :

महानगर क्षेत्रमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ निषेधित किन ?

वसन्त आचार्य वसन्त आचार्य
२०७९ असोज ९ गते १४:४५

काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेबाट सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । गत असारमा सम्पन्न नगर सभाको ११औं अधिवेशनबाट यस विषयमा नीतिगत व्यवस्था गरेको थियो ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको तथ्य निर्विवादित छ । धूम्रपान भन्नाले चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य हो । यस्ता पदार्थको सेवनले मानव जीवनको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय क्रियाकलापमा समेत गम्भीर रूपमा नकारात्मक असर पार्ने गर्दछ । धूम्रपानले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सेवन नगर्ने व्यक्तिको हकमा समेत स्वास्थ्य, सुविधा र आर्थिक अहित गर्न मद्दत गर्दछ ।

धूम्रपान र सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्नु अनिवार्य छ । यसको खुला प्रयोगले हरेक मानिसलाई त्यसतर्फ उत्पे्ररित मात्र गराएको छैन, साहसी वा बहादुरीको रूपमा समेत पहिचान दिन थालेको छ ।

गलत पदार्थले वा सर्वत्र हानिकारक कुराले आफूलाई अझ बलियो स्थानमा राख्न सकेको छ । समाजको विकृतिले हाम्रो इज्जतको संस्कृति बन्ने गरेको छ । अर्थात्, सबैले छिःछिः र दुरदुर गर्नुपर्ने तत्वलाई सम्मान र स्वागत गरेका छौं ।

कुनै पनि अर्थमा लायक वा आत्मसात् गर्नै नहुने तत्व हो धूम्रपान । लाज, घृणा, पश्चात्ताप र बदनामको वस्तु हुनुपर्नेमा धूम्रपान गर्व र शानको माध्यम पो बनेको छ । नयाँ पुस्तामा समेत धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले देखासिकी बन्ने होडबाजी चल्दैछ ।

काठमाडौं महानगरपालिकाले धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्ने उद्देश्यले सार्वजनिक रूपमा सूचनामार्फत सर्वसाधारण सबैलाई आह्वान गरेको छ । सूचनाले सार्वजनिक स्थलमा धूम्रपानलाई निषेध गरेको छ ।

सार्वजनिक स्थललाई धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउने कार्यमा सम्बद्ध सबैसँग सहयोग समेत माग गरेको छ । प्रचलित कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका लागि एक जिम्मेवार स्थानीय सरकारको हैसियतले यस्तो सूचना प्रकाशित गरेको स्पष्ट छ ।

सार्वजनिक स्थल भनेको के हो र कुन कुन स्थललाई जनाउँछ भन्ने कुराले धेरैलाई उत्सुकता जगाएको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को दफा ३ ले सार्वजनिक स्थलको परिभाषा गरेको छ । सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम प्रदायक संस्था वा सबै प्रकृतिका स्वास्थ्य संस्थाको भवन, कार्यस्थल र परिसर समेत सार्वजनिक स्थल अन्तर्गत पर्दछन् ।

सार्वजनिक स्थल भन्नाले विमानस्थल, बसपार्क, वायुसेवा, सार्वजनिक बस तथा अन्य सवारी साधन समेतलाई बुझाउनेछ । बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, उद्यान तथा क्लबहरू समेत सार्वजनिक स्थल नै हुन् ।

सार्वजनिक शौचालय, उद्योग, कलकारखाना, चलचित्र घर, सांस्कृतिक केन्द्र, नाट्यशाला वा यस्तै प्रकृतिका स्थलहरू जहाँ मानिस भेला हुन्छन् वा सामूहिक रूपमा रहन्छन् । ती सबै स्थान र आसपासको क्षेत्रलाई सार्वजनिक स्थलका रूपमा कानुनले समेटेको छ ।

होटल, मोटल, रिसोर्ट, रेस्टुुरेन्ट, बार, भोजनालय, चमेना गृह, लज, छात्र वा छात्रावास, अतिथि गृह, रङ्गशाला, कभर्डहल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी, पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर समेत सार्वजनिक स्थल हुन् ।

सार्वजनिक स्थललाई बृहत् अर्थमा बुझ्न सकिन्छ । जहाँ सर्वसाधारणको उपस्थिति हुनसक्छ, त्यो ठाउँ नै सार्वजनिक स्थल हो । त्यति मात्र होइन सार्वजनिक स्थल भन्नाले आफूले आफ्नो निजी सवारी साधन, घर वा सम्पत्तिको प्रयोग गरी धूम्रपान गर्दा अरूलाई असर पर्छ भने सो समेत गर्न नहुने कुरा कानुनमा उल्लेखित छ । सार्वजनिक स्थललाई अरूलाई असर गर्न सक्ने स्थान भनेर बुझ्नु बढी उपयुक्त हुने देखिन्छ ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गरी सडक वा अन्य सार्वजनिक स्थलमा त्यसको प्लाष्टिक, खोल, ठुटा, बोक्रा वा सो सम्बद्ध फोहोर फालेमा महानगरपालिकाले जरिवाना गर्ने भएको छ ।

सार्वजनिक स्थलमा धूम्रपान नगर्न महानगरले सार्वजनिक रूपमा सूचना निकालेको छ । असोज १ गतेबाट कसैले सो सूचनाको उल्लंघन गरी धूम्रपान गरेमा सो गर्न रोक लगाउने, सचेत गराउने, उप्रान्त धूम्रपान नगर्ने शर्तको लिखित कागज गराई सार्वजनिक गर्ने, सार्वजनिक स्थलबाट बाहिर पठाउने वा रु.१०० जरिवाना गर्ने वा दुवै सजाय हुन्छ ।

सरकारी वा सार्वजनिक जवाफदेहीको पदमा आसीन व्यक्ति, कर्मचारी भएमा निजको हकमा सचेत गराउने वा विभागीय सजाय समेत हुनसक्ने कानुनी व्यवस्था रहेको छ । सार्वजनिक स्थलमा धूम्रपान गरेमा महानगरपालिकाले त्यस्ता व्यक्तिहरूलाई सार्वजनिक गर्ने र कानुनी कारबाही समेत हुने भएकोले यसतर्फ सचेत हुनु सबैको पहिलो दायित्व हुने गर्दछ ।

काठमाडौं महानगरपालिकाको उक्त निर्णय स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) को खण्ड (क) बमोजिम नगर प्रहरीले कार्यान्वयन गर्ने/गराउनेछ । त्यसैगरी सोही दफाको खण्ड (ञ) को क्रमसंख्या (१४) ले स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेचबिखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ ।

त्यसैगरी सोही ऐनको दफा ११ को उपदफा (४) को खण्ड (ख) को प्रकरण ९, ११ र १३ ले स्थानीयस्तरमा जनस्वास्थ्यको निगरानी गर्ने, स्वस्थ जीवनशैली तथा जनस्वास्थ्य सेवाको प्रवद्र्धन गर्ने, सुर्ती, मदिरा र लागूपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने कर्तव्य स्थानीय सरकारको हुने कानुनी प्रबन्ध गरेको छ ।

उल्लेखित काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रचलन गर्नु÷गराउनु, कानुनबमोजिमको अधिकार तथा दायित्वको परिपालना गर्नु÷गराउनु काठमाडौं महानगरपालिकाको नभई सबै स्थानीय सरकारको समेत समान रूपमा कर्तव्य हुन आउँछ ।

फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ ले स्थानीय तहले तोकेको ठाउँमा बाहेक जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी सडक वा अन्य सार्वजनिक स्थानमा कुनै पनि किसिमको हानिकारक फोहोरमैला राख्ने, फाल्ने, थुपार्ने वा निष्कासन गर्ने वा गराउने कार्य गर्न नहुने र यस्तो कार्य गरे, गराएमा ३० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने कानुनी व्यवस्था रहेको छ ।

धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गरी सडक वा अन्य सार्वजनिक स्थलमा त्यसको प्लाष्टिक, खोल, ठुटा, बोक्रा वा सो सम्बद्ध फोहोर फालेमा उक्त दफा बमोजिम समेत महानगरपालिकाले जरिवाना गर्न सक्नेछ ।

काठमाडौं महानगरपालिकाले आम महानगरवासी तथा महानगर क्षेत्रमा दैनिक रूपमा आवतजावत गर्ने सर्वसाधारण मानिसको स्वास्थ्य, सुविधा र भलाइका लागि यो सूचना प्रकाशित गरेको हो । यस सूचना कार्यान्वयनले सबै मानिसको स्वास्थ्य प्रबद्र्धनमा मात्र सहयोग गर्दैन, यसले त वातावरणमा स्वस्थता, गाउँ तथा शहरको सुन्दरता र हरेक बस्तीलाई बसोबासयोग्य बनाउने गर्दछ ।

यिनै उद्देश्यले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने कार्यलाई निषेध गर्ने÷गराउने निर्णय गरी कार्यान्वयन गर्न÷गराउन काठमाडौं महानगरपालिकाले उक्त सूचना प्रकाशित गरिएको हो । यस कुरालाई सकारात्मक रूपमा लिई यथार्थ परिपालना गर्न महानगरपालिकाले विशेष रूपमा आह्वान गरेको छ ।

कसैले सूचित नगरे पनि वा निषेध नगरे पनि सार्वजनिक स्थल वा अन्य जुनसुकै स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नुमा नै सबैको हित हुने तथ्य आफैंमा अकाट्य र निर्विवादित भने छँदैछ । यस कुरालाई सबैले मनन गरौं ।

(लेखक काठमाडौं महानगरपालिकाका सूचना अधिकारी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?