+
+

पश्चिम तराईमा डेंगुको महामारी

टोपराज/आभास टोपराज/आभास
२०७९ असोज १६ गते १७:५७

१६ असोज, बुटवल । घोराही–१७ दाङका लक्ष्मण चौधरीलाई असोजको दोस्रो साता उच्च ज्वरो आयो । तीन दिन टाउको र हाडजोर्नी सहनै नसक्ने गरी दुख्यो । ज्वरो नरोकिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा डेंगु संक्रमण पुष्टि भयो । त्यसयता उनी अस्पतालमा उपचार गरिरहेका छन् ।

अस्पताल डेंगुका बिरामीले भरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक डा. रमेश कँडेलले बताए । उनका अनुसार डेंगु संक्रमण समुदायमा फैलिएकाले घरघरमा बिरामी छन् । दैनिक ३०/४०  विरामी अस्पतालसम्म आउने गरेका छन् । ‘अधिकांश विरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने जस्ता डेंगु लक्ष्णका विरामी छन्’ उनले अनलाइनखबरसँग भने ।

दाङ मात्र होइन, पश्चिम तराईका सबै जिल्लाका अस्पतालमा डेंगु संक्रमण भएका विरामीको चाप छ । खासगरी दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा साउनयता सुरु भएको डेंगु संक्रमणको ग्राफ अझै उकालो लाग्ने क्रममा छ ।

अघिल्ला वर्षहरुमा फाटफुटमात्र देखिने डेंगु यस वर्ष महामारीकै स्वरुप लिएको छ । ‘विगतमा पनि डेंगुको देखिन्थ्यो’ स्वास्थ्य कार्यालय, दाङका प्रमुख अंगदबहादुर शाहीले अनलाइनखबरसँग भने, ‘यो वर्ष महामारीकै रुप लियो ।’

दाङमामात्रै असार यता १ हजार ४ सय बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । चार जनाको मृत्यु भएको छ । संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा ७१ जना, ०७७/७८ मा १५ र ०७८/७९ मा संख्या ६ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो ।

रुपन्देहीमा पनि डेंगु संक्रमणको दर उच्च छ । लुम्बिनी प्रादेशिक अस्पताल डेंगु संक्रमणका विरामीले भरीभराउ छ । रुपन्देहीमा डेंगु संक्रमितको संख्या करिब ८ सय पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका प्रदेशभर यो वर्ष असोज १३ सम्म ३ हजार ५० बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीहरु भने डेंगु संक्रमण हुनेहरुको संख्या ५ हजार नाघेको अनुमान गर्छन् । ‘यो तथ्यांक सरकारी अस्पताल आएर चेकजांच गर्दा पुष्टि भएको मात्र हो, निजी अस्पतालहरुमा चेकजांच गर्ने र विरामी भएपनि डेंगु परीक्षण नगर्ने यो भन्दा धेरै छन्’ मन्त्रालयका एक अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेल पनि पछिल्लो तीन महिनामा डेंगु संक्रमणको दर सबैभन्दा उच्च भएको बताउँछन् । उनका अनुसार प्रदेशमा दाङमा १ हजार ४१० र रुपन्देही ७३६, गुल्मी २९९, पाल्पामा ११५, अर्घखाचीमा १३८, बर्दियामा ९१, कपिलबस्तुमा ८२, नवलपरासी पश्चिममा ६७, बाँकेमा ४९, प्युठानमा ३६, रुकुम पूर्वमा १५ र रोल्पामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

पहाडी जिल्लामा पनि डेंगु

सामान्यतया तराईका जिल्लामा देखिने डेंगु यसपटक भने पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । यो वर्ष लुम्बिनी प्रदेशकै पहाडी जिल्लामा पनि डेंगु संक्रमणका विरामी भेटिएका छन् । यसपटक भने प्रदेशकै १२ वटै जिल्लामा डेंगुका विरामी भेटिएको निर्देशनालयले बताउँछ । लुम्बिनी प्रदेशका प्युठान, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची, र रोल्पा डेंगुका बिरामी बढिरहेका छन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालमा पनि पहाडी जिल्लाका विरामीहरु भर्ना भइरहेका छन् । राप्ती स्वास्थ्य प्रतिष्ठानमा रुकुम, रोल्पा र प्युठानका जस्ता पहाडी जिल्लाका विरामी पनि डेंगु लक्षण भएका विरामी आएका छन् ।

बाँकेको भेरी अस्पतालमा पनि कर्णाली र सुदूपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा डेंगु संक्रमितहरू आउने गरेका छन् । ‘पहाडबाट पनि डेंगु लक्षणका विरामी आइरहेका छन् । यसले तराई मात्र होइन, पहाड पनि डेंगु छ भन्ने पुष्टि हुन्छ’ प्रतिष्ठानका फिजिसियन डा. रमेश कडेल भन्छन् ।

डा. कडेलले मनसुन अन्त्य नभएसम्म डेंगु संक्रमणको जोखिम रहने बताए । ‘पानी पर्ने र जम्मा हुने क्रम मनसुन रहेसम्म चलिरन्छ’ उनले भने, ‘यसले डेंगु जोखिम रहन्छ ।’

जनस्वास्थ्य कार्यालय, रुपन्देही प्रमुख डा. गौरव ढकालले कात्तिकसम्म डेंगु संक्रमणको जोखिम रहेकाले सजगता अपनाउनुपर्ने सुझाउँछन् । ‘डेंगुबाट जोगिने सबैभन्दा सजिलो उपाय दिउंसोको समयमा लामखुट्टेको टोकाइबाट बच्नु हो’, उनले अनलाइनखबरसँग भने, ‘सबैले कम्तीमा हात खुट्टा पुरै ढाकिने गरी कपडा लगाउने र रातिमा पनि झुलभित्र सुत्ने हो भने डेंगुको संक्रमण ९० प्रतिशत रोकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?