+
+

पृथ्वीसुब्बालाई पाखा लगाएर खगराजलाई प्रदेशको टिकट

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असोज २२ गते १९:१६

२२ असोज, पोखरा । असोज १४ गते एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पोखरामा केही पत्रकारसँगको कुराकानीमा आफू प्रदेशसभामा नझर्ने र प्रतिनिधिसभामै चुनाव लड्ने दावी गरेका थिए ।

यदि प्रदेशसभामै आफू र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ दुबैले टिकट पाए मुख्यमन्त्रीको दाबी नगर्ने ठोकुवासमेत गरेका थिए । गुरुङ र अधिकारीबीचको शक्ति संघर्षको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा अधिकारीले आफूहरुबीच बाहिर हल्ला भएजस्तो सम्बन्ध नबिग्रेको र मित्रवत सम्बन्ध रहेको दावी गरेका थिए ।

अधिकारीले गुरुङबारे सकारात्मक प्रतिक्रिया दिनु उनको रणनीति रहेको जिल्ला तहका एमाले नेताहरु बताउँछन् । अधिकारीले जिल्ला फर्केर आफू संघकै चुनाव लड्ने र प्रदेशमा पृथ्वीसुब्बालाई छोड्ने बताउनुभन्दा अगाडि नै अध्यक्ष केपी शर्मा ओलीबाट प्रदेशसभाको टिकट दिने वचन पाइसकेको एमाले निकट स्रोत बताउँछ ।

उनी निकटकै नेताहरुका अनुसार ओलीबाट वचन पाएपछि पनि खगराजले आफ्नो रोजाईंमा संघ नै रहेको बताउने र पृथ्वीसुब्बालाई समेत सम्मान गरेको देखाउने रणनीति अपनाएका हुन् ।

नभन्दै ओलीले गण्डकीको मुख्यमन्त्री बनाउने योजनासहित कास्की क्षेत्र नम्बर १ को ‘क’ बाट अधिकारीलाई टिकट दिए । पहिलेदेखि आफू फेरि मुख्यमन्त्री बनेर संघीयतालाई बलियो बनाउने भन्दै प्रदेशमै उठ्ने घोषणा गरेका पृथ्वीसुब्बाले लमजुङबाट प्रतिनिधिसभाको टिकट पाएका छन् ।

२०४८ सालयताका हरेक चुनाव लड्दै आएका पृथ्वीसुब्बाले २०७४ को प्रदेशसभासहित २ वटामात्रै चुनाव जितेका छन् । नत्र उनले लमजुङमा हार ब्यहोर्दै आएका छन् । लमजुङ प्रदेश सभा ‘ख’मा उनले दाबी गरेका थिए भने जित निकाल्न पनि उनलाई सहज हुने अनुमान थियो ।

‘पृथ्वीसुब्बाले केपी ओलीलाई भेटेर मलाई संघ होइन, फेरि मुख्यमन्त्री बनेर संघीयतालाई बलियो बनाउने र जनताको सेवा गर्ने अवसर दिन भनेका थिए’, एमालेका एक केन्द्रीय नेताले भने, ‘तर, पछिल्लो समय ओली पीएस (पृथ्वीसुब्बा) सँग अनुदार थिए भने खगराज ओलीमार्फत नै उनलाई पाखा पार्न चाहन्थे ।’

उनी निकट नेताहरुका अनुसार पृथ्वीसुब्बा प्रतिनिधिसभाको उम्मेदवार बन्न अनिच्छुक थिए । ‘उहाँले अहिले पनि कुनै हालतमा म संघमा लड्दिन, म प्रदेशमै लड्ने हो भनिरहनुभएको छ । आज फेरि ओलीलाई भेटेर यो कुरा राख्दै हुनुहुन्छ’, उनीनिकट एक नेताले शनिबार अनलाइनखबरसँग भने, ‘बरु मलाई टिकट नै चाहिँदैन, पार्टीकै काम गर्छु भनिरहनुभएको छ ।’

ओलीले निर्णय गरिसकेकाले अब यो निर्णय उल्टिन असम्भवजस्तै छ । ‘पदाधिकारी हुने र प्रदेशमै लड्छु, संघमा लड्दिन भन्न मिल्छ ? नेतृत्वले जहाँ भन्छ, त्यहीँ लड्नुपर्छ भन्ने नै ओलीको भनाइ रहन्छ’, एमालेका एक केन्द्रीय नेताले भने, ‘प्रदेशमै दिए पनि ओलीले पृथ्वीसुब्बालाई मुख्यमन्त्री बनाउन चाहदैनन् ।’

पृथ्वीसुब्बा गण्डकीको मुख्यमन्त्री हुँदा प्रदेशलाई अधिकार दिन माग गर्दै मुख्यमन्त्रीहरुको भेला गरेकामा ओली असन्तुष्ट थिए । यसपटक स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकामा एमाले उम्मेदवार पराजित भएपछि ओली गुरुङसँग थप असन्तुष्ट भएको एमाले स्रोत बताउँछ ।

पृथ्वी सुब्बा प्रतिनिधिसभामा उम्मेदवार हुन नचाहनु र प्रदेशमै दोहोर्‍याउन चाहनुको पनि कारण छ । लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी महासचिव देव गुरुङको नाम पक्का भइसकेको छ । गुरुङसँग चुनाव लड्दा उनी जोखिममा छन् ।

२०४८ सालयताका हरेक चुनाव लड्दै आएका पृथ्वीसुब्बाले २०७४ को प्रदेशसभासहित २ वटामात्रै चुनाव जितेका छन् । नत्र उनले लमजुङमा हार ब्यहोर्दै आएका छन् । लमजुङ प्रदेश सभा ‘ख’मा उनले दाबी गरेका थिए भने जित निकाल्न पनि उनलाई सहज हुने अनुमान थियो ।

लमजुङको प्रदेशसभा (ख) मा पर्ने स्थानीय तहका वडाध्यक्षहरुले प्राप्त गरेको मत हेर्दा सत्तारुढ गठबन्धनभन्दा एमाले ३२१ मतले अगाडि छ । एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङ जिल्लाभर सत्तारुढ गठबन्धन एमाले भन्दा एक हजार ५०० मतले अगाडि छ ।

माओवादी महासचिव देव गुरुङ अहिलेसम्म विवादित नबनेको र पार्टीको शक्तिशाली पदमा पुगेका कारण पनि पृथ्वीसुब्बा संघमा एमालेका जमिन्द्रमान घलेलाई उठाएर आफू प्रदेशमा उठ्न चाहन्थे । तर उनले संघकै टिकट पाए भने प्रदेशमा जमिन्द्रमान र कृष्ण अधिकारीले टिकट पाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमालेका खगराज कास्की–१ बाट १३ हजार ४१६ भन्दा बढी मतान्तरले विजयी भएका थिए । तर, त्यतिबेला एकता गरेको पार्टी नेकपा माओवादी केन्द्र अहिले नेपाली कांग्रेससहितका दलको गठबन्धनमा छ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतअनुसार कास्की–१ को ‘ख’मा उनलाई जित निकाल्न त्यति सहज छैन ।

वडाध्यक्षले पाएको धेरैजसो मत व्यक्तिगत हुने र गुटगत राजनीतिले पनि प्रभाव पार्ने खगराजको टिमको विश्लेषण छ । स्थानीय तहको चुनावमा वडागत रुपमा प्रमुख, उपप्रमुखलाई प्राप्त गरेको मतलाई आधार मान्दा करिब ५ सय मतले मात्र सत्तारुढ गठबन्धन अगाडि रहेको दाबी एमाले नेताहरुको छ ।

कास्की–१ मा अधिकारीको राम्रो छ । सत्तारुढ गठबन्धनको भागवण्डामा कास्की–१ नेपाली कांग्रेसले पाएको छ भने प्रदेशसभा (क) नेकपा माओवादी केन्द्रले पाएको छ । माओवादीको राम्रो जनमत नभएकाले कांग्रेस र सत्तारुढ गठबन्धनका दलको मत पनि तान्ने खगराजको विश्लेषण छ ।

एमालेबाट कास्की–१ मा प्रतिनिधि सभामा मनबहादुर गुरुङ, प्रदेश सभा ‘क’ मा खगराज र ‘ख’मा वेदबहादुर गुरुङले टिकट पाएका छन् । मनबहादुर एमालेका कास्की जिल्ला अध्यक्ष हुन् भने यसअघि प्रदेश सभा ‘ख’बाट चुनाव जितेका हुन् । वेदबहादुर यसअघि मादी गाउँपालिका अध्यक्ष थिए ।

पृथ्वीसुब्बा–खगराज कटुता

पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीचको शक्ति संघर्ष २०७४ सालको स्थानीय तहको निर्वाचनमै देखिएको थियो । पोखरा महानगरपालिकाको मेयरको टिकट मानबहादुर जिसीलाई दिने कि कृष्णबहादुर थापालाई भन्ने विषयमा दुई नेताबीच विवाद थियो । खगराजले थापालाई टिकट दिलाउन चाहन्थे तर मानबहादुरले टिकट हात पारे र जिते पनि ।

२०७४ सालकै प्रदेशसभा निर्वाचनपछि गण्डकीमा एमाले संसदीय दलको निर्वाचन हुँदा खगराजले एमालेका अर्का नेता किरण गुरुङलाई मुख्यमन्त्री बनाउन चाहेका थिए । तर संसदीय दलमा पृथ्वीसुब्बाकै बहुमत देखिएपछि खगराज पछि हटेका थिए ।

पृथ्वीसुब्बा मुख्यमन्त्री भएपछि कास्की एमालेमा एकछत्र राज गरिरहेका खगराजले असहज महसुस गर्न थालेका थिए । जिल्लाका प्रशासनिक पदहरुमा सरुवा, बढुवादेखि नियुक्तिसम्म उनको शक्ति कम हुँदै गएको थियो भने उनले भाग खोज्दा पनि पाउन नसक्दा ‘इगो’ बढेको एमालेका एक नेताले बताए ।

एमालेको कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीको निर्वाचनमा त पृथ्वीसुब्बा र खगराज गुट सतहमै देखिएको थियो । अहिलको स्थानीय तहको निर्वाचनमा झनै गुटगत राजनीति भुसको आगोझैं सल्किएको थियो र त्यही निर्वाचनमा देखिएका गुटगत राजनीतिले फेरि मुख्यमन्त्री बन्ने पृथ्वीसुब्बाको सपनामा धक्का लागेको छ ।

पृथ्वीसुब्बा गुटका दीपक पौडेलले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने निर्णय भइसकेपछि सुन चोरेको आरोप लागेर टिकट खोसिएको थियो । त्यसपछि खगराज गुटका कृष्ण थापाले टिकट पाएका थिए । थापालाई हराउन पृथ्वीसुब्बा समूह लागिपरेको केही अडियो रेकर्डहरुसमेत सार्वजनिक भएपछि आलोचना भइरहेको थियो ।

पोखराको मेयरमा कृष्ण थापाले हार ब्यहोरेसँगै पृथ्वीसुब्बाकै कारण हार बेहोर्नुपरेको रिपोर्टिङ गरेका थिए । खगराज समूहले ओलीलाई भेटेर विभिन्न व्यक्तिहरुको नामसहित कारबाही गर्न ओलीलाई आग्रह गरेको एमालेका नेताहरु बताउँछन् ।

पृथ्वी सुब्बालाई ओलीको विश्वासपात्रका रुपमा लिइन्छ । तर, मुख्यमन्त्री हुँदा ओलीको कडा आलोचना गर्ने, संसद विघटनको बेला पनि ओलीको भन्दा फरक विचार राख्ने र गत स्थानीय तहको निर्वाचनमासमेत एमालेका उम्मेदवारलाई हराउन लागेको रिपोर्टिङ भएपछि ओली पृथ्वीसुब्बाप्रति अनुदार बन्न थालेको उनी निकटका नेताहरु बताउँछन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?