+
+

उम्मेदवारी मनोनयन सर्दैन, दुई दिन समय दिने गल्ती गर्दैनौं : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १५:५६
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र आयुक्तहरु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर ।

२२ असोज, काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा दुई दिन समय दिन नसक्ने बताएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको मनोनयन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक पद्धतिको बन्द सूची बुझाउँदा जस्तै दुई दिन समय दिन नसक्ने बताए ।

आयोगले ३० वैशाखको स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयनको समय वैशाख ११ र १२ गते तोकेको थियो । त्यस्तै ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोजको २ र ३ गते समानुपातिकको बन्द सूची बुझाउने समय दिएको थियो । तर दुबै पटक दलहरुले पछिल्लो दिनको अन्तिम समयमा मात्र मनोनयन दर्ता र बन्द सूची बुझाउने काम गरेका थिए ।

‘हामीले स्थानीय तह निर्वाचनमा वैशाख ११ र १२ गते भनेर समय दियौं, राजनीतिक दलहरुले ११ गतेको १० बजे भनेको १२ गतेको ४ बजे भनेर बुझिदिनुभयो, समानुपातिकको सूची बुझाउँदा पनि ३ गते ४ बजेपछि मात्र आउनुभयो’ प्रमुख आयुक्त थपलियाले भने, ‘यो तथ्य बुझेको निर्वाचन आयोगले फेरि त्यही गर्ने धृष्टता गरेन ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय असोज २३ गते आइतबारलाई तोकिएको छ । तर देशभर वर्षा, बाढी, पहिरो र डुवानको समस्या देखिएपछि दलहरुले निर्वाचन कार्यक्रम सार्न वा मनोनयनको समय २ दिन राख्न आयोगलाई आग्रह गरेका छन् ।

तर आयोगले निर्वाचन कानुनले प्राकृतिक विपत्तिका कारण मनोनयन पछि सार्न छुट नदिएको जवाफ दिएको छ । प्राकृतिक विपत्ति आइपरे मतदानको काम स्थगित गर्न सकिने कानुनी व्यवस्था भएको तर निर्वाचन कार्यक्रम सार्ने व्यवस्था नभएको प्रमुख आयुक्त थपलियाले बताए ।

उम्मेदवार आफैं जान नसके प्रतिनिधि वा वारेसमार्फत पनि मनोनयन दर्ता गराउन सकिने थपलियाले बताए । ‘उम्मेदवारी दर्ताका लागि उम्मेदवारको भौतिक आवश्यकता कानुनले तोक्दैन’ उनले भने ।

आयोगले आइतबार १० देखि ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध भइसकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?