+
+

यी पहुँचवाला, जो समानुपातिकमा हाबी भए

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ असोज २३ गते १२:५७

२३ असोज काठमाडौं । तीन साताअघि दलहरुले पेश गरेको समानुपातिक उम्मेद्वारहरुको बन्दसूची निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको छ ।

विवरण अनुसार समानुपातिकतर्फ कांग्रेसमा सबैभन्दा बढी पुराना अनुहार दोहोरिएका छन् । राष्ट्रिय राजनीतिमा लामो समय सक्रिय रहेका र मन्त्री भइसकेका समेत कांग्रेसको समानुपातिक सूचीमा छन् ।

परराष्ट्र र उर्जामन्त्री भइसकेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत समानुपातिकको सूचीमा छन् । अघिल्लोपटक प्रत्यक्ष निर्वाचन लडेर एमाले नेता ईश्वर पोखरेलसँग पराजित उनी यसपटक समानुपातिक कोटामा सुरक्षित ओत लाग्न खोजेका हुन् । प्रजातन्त्र पुनस्र्थापनापछि महत प्रत्यक्ष निर्वाचन लडेर सांसद बनेका छैनन् ।

कांग्रेसको समानुपातिक सूचीमा रहेका आनन्दप्रसाद ढुंगाना संसदीय कालखण्डमा प्रत्यक्ष निर्वाचित सांसद थिए । उनी यसअघि नै कांग्रेस सचेतक भइसकेका व्यक्ति हुन् । हाल पार्टीको अनुशासन समितिमा संयोजक समेत रहेका उनी यसअघि धनुषा–१ मा पराजित भएका व्यक्ति हुन् । समानुपातिकमा रहेका अर्का नेता फरमूल्ला मन्सुर यसअघि नै मन्त्री भइसकेका व्यक्ति हुन् ।

एकनाथ खसआर्य समूहकै पुरुषतर्फ दोस्रो नम्बरमा राखिनुले पनि दलहरुले यी प्रभावशाली र पहुँचवालालाई समानुपातिकमा दिएको प्राथमिकता पुष्टि हुन्छ ।

यसअघि कैलाली–५ मा निर्वाचित हुन नसकेकी आरजु देउवा समानुपातिकको सूचीमा छन् । गृहमन्त्री बालकृष्ण खाणकी पत्नीसमेत रहेकी केन्द्रीय सदस्य मञ्जु खाण प्रत्यक्षको साटो समानुपातिकमा बसिन् । यसअघि गुल्मीबाट प्रत्यक्ष निर्वाचित भइसकेका त्रैलोक्यप्रताप सेन पनि समानुपातिक सूचीमा छन् ।

पूर्व गृहमन्त्री समेत रहेका बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ समानुपातिक उम्मेद्वार बनेका छन् । दुवै अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नो क्षेत्रमा पराजित अनुहार हुन् । लामो समय राप्रपा राजनीतिमा सक्रिय रहेर कांग्रेस प्रवेश गरेका सुनिलकुमार थापा हाल कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी  प्रत्यक्षमा रहेर आफूसँग आएका नेता किरण गिरीलाई समानुपातिकको सूचीमा पार्न सफल भए । कांग्रेसले योपटक पर्साका व्यवसायी अनिल कुमार रुंगटालाई समानुपातिकको सूचीमा राखेको छ ।

एमाले र माओवादीमा अधिकांश नयाँ

औलामा गन्न सकिने केही नेता बाहेक एमालेले समानुपातिक सूचीमा नयाँ अनुहार छानेको छ । मन्त्री भइसकेका रघुजी पन्त ललितपुर–३ मा पटकपटक पराजित भएपछि अहिले समानुपातिकको सूचीमा खस आर्य पुरुषतर्फ पहिलो नम्बरमै छन् । उनी यसपल्ट काठमाडौंबाट उम्मेदवार बन्न चाहेका थिए । हालै एमालेमा पार्टी विलय गरेका परिवार दलका पूर्वमन्त्री एकनाथ ढकाल र समाजवादीका पूर्वमन्त्री प्रेमबहादुर सिंह समानुपातिक सूचीमा छन् । एकनाथ खसआर्य समूहकै पुरुषतर्फ दोस्रो नम्बरमा राखिनुले पनि दलहरुले यी प्रभावशाली र पहुँचवालालाई समानुपातिकमा दिएको प्राथमिकता पुष्टि हुन्छ ।

महिला आयोगकी अध्यक्ष समेत भइसकेकी नैनकला थापा मगर समानुपातिक सूचीमा छन् । उनी माओवादी केन्द्रबाट एमालेमा गएका नेता रामबहादुर थापाकी पत्नी समेत हुन् । एमालेले व्यावसायिक प्रतिष्ठान प्रभु समूहका अध्यक्ष समेत रहेका देवी प्रकाश भट्टचनलाई समानुपातिकको सूचीमा राखेको छ । पूर्वराजदुत अञ्जान शाक्य पनि यो सूचीमा छन् ।

यसैगरी, नेकपा माओवादी केन्द्रले एकाध अपवाद बाहेक समानुपातिक सूचीमा पुराना अनुहार दोहो¥याएको छैन । पूर्वमन्त्री हितमान पाण्डे अपवाद हुन् ।

उनी पटकपटक समानुपातिक प्रणालीबाट सांसद बनेका थिए । योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ माओवादीको सूचीमा छन् ।

अन्य पार्टीमा पनि मिसमास

गतवर्ष गठन भएको एकिकृत समाजवादीमा डा. गंगालाल तुलाधर र जनजाति नेता पासाङ शेर्पा बाहेक सबैजसो नयाँ अनुहार छन् । शेर्पा भने संविधानसभामा सदस्य भइसकेका व्यक्ति हुन् । शिक्षामन्त्री भइसकेका तुलाधर अहिले एकीकृत समाजवादीको समानुपातिक सूचीमा बसेका छन् । प्रत्यक्षतर्फ १७ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराउने तयारीमा रहेको एकिकृत समाजवादीले डा. तुलाधरको नाम १७ औं क्रममा राखेको छ ।

यसैगरी, पञ्चायतकालमा लामो समय मूलधारको राजनीति गरेका मन्त्री भएका र प्रजातन्त्रकालमा समेत सत्ताको स्वाद चाखेका नेताहरुलाई राप्रपाले समानुपातिक सूचीमा समेटेको छ । राप्रपाको नेतृत्वको अनुभव लिइसकेका डा. प्रकाशचन्द्र लोहनी, पशुपतिशम्सेर राणा समानुपातिक सूचीमा छन् । पूर्वमन्त्री समेत रहेका दुवैजना को अघिल्लो वरियताक्रममा रहने भन्ने विवाद भएपछि पार्टीभित्र आन्तरिक निर्वाचन समेत गर्नुपरेको थियो । पूर्वमन्त्री तथा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ समेत समानुपातिकको सूचीमा छन् ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल कलेज सञ्चालक एवं स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्कीलाई समानुपातिकको सूचीमा राखेको छ । उनी यसअघि काठमाडौं मेडिकल कलेजकी प्रमुख थिइन् । अर्को दल, विवेकशील साझाले आफ्ना चर्चित नेताहरुलाई समानुपातिक सूचीमा राखेको छैन ।

 

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?