+
+

धादिङ १ मा तीन मित्रहरूको भीडन्त  

कँडेलले स्वतन्त्र उम्मेदवारी दिएसँगै पुराना दुई मित्रहरूको चुनावी भीडन्त थप रोचक बनेको छ । यो प्रतिस्पर्धामा पाण्डे र त्रिपाठीले राजनीतिक एजेन्डा उठाइरहँदा कँडेलले वातावरण संरक्षणको मुद्दालाई उठाउनेछन् । 

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते २०:१९

२३ असोज, धादिङ । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठी चुनावी अभियानमा सँगै थिए । उनीहरू मतदाताबीच सँगसँगै हात जोड्दै भोट मागिरहेका थिए ।

गत निर्वाचनमा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार । दुवै नेता वाम गठबन्धनबाट उम्मेदवार बनेका थिए र दुवै विजयी पनि बने ।

त्यसो त, चुनावमा सँगसँगै भोट माग्ने यो क्रम झण्डै चार दशकदेखि जारी थियो । तर, यसपटक भने उनीहरूबीचको सहकार्य टुटेको छ । पाण्डे २०३० देखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । पाण्डेलगायतका नेताहरूले संगठित गरेका त्रिपाठी भने २०३७ बाट विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् ।

२०३९ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि त्रिपाठी कानुन अध्ययनमा लागे । उनले अध्ययनसँगै कानुनसम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरूमा सक्रिय भए । पेशाले अधिवक्ता रहेका उनी पूर्णकालीन राजनीतिमा २०६४ पछि बढी सक्रिय भए ।

गत निर्वाचनमा संसदीय राजनीतिमा आएका उनी पहिलो प्रयासमा अत्यधिक मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

राजनीतिशास्त्रमा स्नातकोत्तर राजेन्द्र पाण्डे भने तीसको दशकदेखि लगातार राजनीतिमा सक्रिय छन् । उनी अहिलेसम्म चार पटकसम्म संसद् सदस्यमा निर्वाचित भइसकेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री रहेका पाण्डे यसपटक प्रदेशसभा छाडेर प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका हुन् ।

झण्डै चार दशकसम्म एउटै पार्टी र चिन्हसहित सहकार्य गरेका नेताद्वय पाण्डे र त्रिपाठी यसपटक फरक पार्टी र गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन् । उता एमाले नेता त्रिपाठी भने विपक्षी गठबन्धनबाट उम्मेदवार बन्दैछ । उनलाई राप्रपा र जसपाको समर्थन रहनेछ ।

अर्का मित्र पनि थपिए

यो रोचक प्रतिस्पर्धामा झण्डै चार दशक वामपन्थी राजनीति गरेका वातावरण संरक्षण अभियन्ता उत्तम कँडेल पनि थपिएका छन् । कँडेल, पाण्डे र त्रिपाठी तीनैजना धादिङको मलेखुका स्थायी बासिन्दा हुन् र उनीहरूले सँगसँगै एउटै पार्टीसँग आवद्ध रहेर लामो समय राजनीति गरे ।

नेकपा एमालेबाट जिल्ला विकास समितिको उपसभापति रहेका कँडेलले २०५७ तिर पार्टी परित्याग गर्दै तत्कालीन नेकपा माओवादी प्रवेश गरे । आधा दशकभन्दा बढी भूमिगत राजनीति गरेपछि शान्ति प्रक्रियामा आएपछि उनलाई डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्ष बनायो ।

कृषि सामग्री कम्पनीबाट बाहिरिएपछि कँडेल दलीय राजनीतिबाट बाहिर रहे ।  स्वतन्त्र रहेर वातावरण संरक्षण अभियानमा सक्रिय कँडेलले पनि पाण्डे र त्रिपाठीसँग प्रतिस्पर्धा गर्नेगरी धादिङको क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कँडेलले स्वतन्त्र उम्मेदवारी दिएसँगै पुराना दुई मित्रहरूको चुनावी भीडन्त थप रोचक बनेको छ । यो प्रतिस्पर्धामा पाण्डे र त्रिपाठीले राजनीतिक एजेन्डा उठाइरहँदा कँडेलले वातावरण संरक्षणको मुद्दालाई उठाउनेछन् ।

गत स्थानीय चुनावको मतभार

२०७९ वैशाख ३० गते सम्मन्न स्थानीय चुनावको मतभार हेर्दा यो क्षेत्रमा सत्तारूढ गठबन्धन बलियो देखिन्छ । उक्त निर्वाचनमा सबै वडामा पाएको दलगत मतभारमा एमाले एक्लै सबैभन्दा बलियो देखिन्छ, तर गठबन्धनतिर जाँदा भने सत्तारूढ गठबन्धन अगाडि देखिन्छ ।

उक्त चुनावमा नेकपा एमालेले धादिङ क्षेत्र नं. १ मा सबै वडाहरूमा ३१ हजार ३४० मत प्राप्त गर्‍यो । नेकपा माओवादी केन्द्रले २१ हजार ३०३ मत प्राप्त गर्दा नेपाली कांग्रेसले १६ हजार १३१ मत पाएको थियो । नेकपा एकीकृत समाजवादीले ६ हजार ९०९ मत प्राप्त गर्दा राप्रपाको ८१५ र स्वतन्त्र उम्मेदवारको ३१० मत देखिन्छ ।

अहिले एमाले र राप्रपाले चुनावी तालमेल गरेको छ । यी दुई पार्टीको मत जोड्दा ३२ हजार १५५ मत पुग्छ । उता सत्तारूढ गठबन्धनको मत भने ४४ हजार ३४३ पुग्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट यो क्षेत्रमा कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तले पनि उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?