+
+

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमती विजयी, सोनीको ५ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १६:५४

२३ असोज, पोखरा । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिता अन्तर्गत समूह ए को दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो । बागमतीको जितमा सोनी पाख्रिनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिइन् ।

सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य बागमतीले १३.२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । बागमतीका लागि ओपनर कञ्चन श्रेष्ठले सर्वाधिक २५ रन बनाइन् । अस्मिता खरेलले ९ रन जोडिन् । सुमन खतिवडाले अविजित ११ रन बनाइन् । सुदूरपश्चिमका लागि यशु पाण्डेले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर ७१ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका लागि अनु कडायतले सर्वाधिक २२ रन बनाइन् भने ओपनर रुवी पोदारले १२ रन जोडिन् । सुदूरपश्चिमले १५ रन अतिरिक्त पाएको थियो । तीन खेलाडीले खाता खोल्न सकेनन् ।

बागमतीका लागि सोनी पाख्रिनले ४ ओभरमा १३ रन खर्चेर ५ विकेट लिइन् ।

खुशी डंगोलले ३.२ ओभरमा ११ रन खर्चेर २ विकेट लिइन् । कृष्मा गुरुङ र अस्मिता खरेलले समान १ विकेट लिए ।

यसअघि उद्घाटन खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गरेको थियो । प्रतियोगितामा सोमबार समूह बी का दुई खेल हुनेछ ।

पहिलो खेलमा नेपाल पुलिस क्लब र कर्णाली प्रदेश तथा दोस्रो खेलमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन् ।

असोज २८ गते नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुने भए पनि महिला क्रिकेट भने आजदेखि नै सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?