+
+
ग्रिन हाइड्रोजन समिट :

‘हरित हाइड्रोजन उत्पादनमा नेपालसँग विश्वलाई नै अगुवाइ गर्ने क्षमता छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १७:३९

२४ असोज, काठमाडौं । सोमबार र मंगलबार काठमाडौँमा नेपाल हरित हाइड्रोजन सम्मेलन हुँदै छ । आयोजकहरूका अनुसार नेपालमा यस विषयमा यस प्रकृतिको कार्यक्रम पहिलो पटक हुन लागेको हो ।

कार्यक्रममा नेपाल र अन्यत्रका विभिन्न सरकारी निकाय, विकासे संस्था, उद्योगधन्दा तथा अन्य सरोकारवालाको उपस्थिति रहनेछ । विशेषतः नेपालमा हरित हाइड्रोजन उर्जा विकासको सम्भाव्यता र सान्दर्भिकताबारे यस कार्यक्रममा चर्चा हुनेछ ।

सहभागीजस्तै कार्यक्रमका आयोजकमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एवं सरकारी तथा निजी क्षेत्रको प्रतिनिधित्व छ । नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको समन्वयमा एमआइटी ग्रुप फाउन्डेसन र ग्लोबल एनआरएन फाउन्डेसन कार्यक्रमका मुख्य आयोजक हुन् । ग्लोबल ग्रिन ग्रोथ इन्स्टिट्युट, विन्ड पावर नेपाल, काठमाडौँ विश्वविद्यालय तथा मेलबर्न इन्स्ट्ट्यिुट अफ टेक्नोलोजी पनि कार्यक्रमका आयोजक हुन् ।

गैरआवासीय नेपाली आन्दोलनका एक परिचित अगुवा शेष घले पनि एमआइटी ग्रुप फाउन्डेसनको अध्यक्षका रूपमा कार्यक्रमको अवधारणा तय गर्ने चरणदेखि नै यस कार्यक्रमका लागि सक्रिय छन् । यस सन्दर्भमा कार्यक्रम किन र केका लागि आयोजना गरिएको हो भनेर अनलाइनखबरले घलेसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

तपाईं त व्यापार/व्यवसाय अनि गैरआवासीय नेपालीको अभियानमा लागेको मान्छे । यो हाइड्रोजन सम्मेलनमा कसरी जोडिनुभयो ?

इमान्दारीका साथ भन्नुपर्दा, हामी गैरआवासीय नेपालीहरू सधैँ नै नेपाल र नेपालीको सामाजिक एवं आर्थिक विकासबारे सोचिरहेका हुन्छौँ । करिब सात वर्षअघि हामीले एमआइटी ग्रुप फाउन्डेसन स्थापना गर्दा पनि यही उद्देश्य राखेका थियौँ । त्यसपछि हामीले २०७२ सालको भूकम्प, नाकाबन्दी र हालसालैको कोभिड महामारीमा करिब १२ करोड रुपैयाँबराबरको सहयोग प्रदान ग¥यौँ । हामीले केही विद्यालयहरू पनि बनायौँ ।

तर महामारीले हामीलाई हामीले अपनाइरहेको तरिकाबारे पुनर्विचार गर्न बाध्य बनायो । हामीले बुझ्यौँ कि नेपालको आर्थिक तथा औद्योगिक सफलताका लागि क्षमता र आत्मनिर्भरता बढाउन जरुरी छ । हालसालै संसारभरि नै चरम उर्जा संकट भएका सन्दर्भमा हामीले नेपालमा पनि यसको प्रभावबारे सोच्यौँ ।

विभिन्न सामग्रीको अध्ययनबाट हामीले थाहा पायौँ कि कमजोर वायुस्तरसम्बन्धी रोग एवं स्वास्थ्य समस्याका कारण हरेक वर्ष नेपालमा करिब ४० हजार मानिसले ज्यान गुमाउँछन् । आज जन्मने हरेक बच्चाको आयु दुई वर्षका दरले छोट्टिएको छ । हाम्रा हिमालहरू पग्लँदै छन् । सन् २०२०मा भएको एक अध्ययनले बताएअनुसार नेपाल र भुटानतर्फको हिमालयको पूर्वी खण्डको हिउँको करिब ६० प्रतिशत सन् २१००सम्ममा पग्लिएर जानेछ ।

अर्थात्, आजको सबैभन्दा ठूलो सवाल विश्वव्यापी उष्णीकरण (ग्लोबल वार्मिङ) हो । जलवायु परिवर्तन एक वास्तविक समस्या हो र कतिपय अध्येताहरूका अनुसार मानव स्वास्थ्यमा यसको असर कोभिड महामारीको भन्दा बढी हुनेछ । यसलाई तत्कालै महत्त्व दिएर सामना गर्नु आवश्यक छ ।

अन्य अध्ययनहरूका अनुसार यी समस्याको समाधानका लागि विश्वले पत्ता लगाएको सबैभन्दा उपयुक्त समाधान हरित हाइड्रोजन हो । यसैकारण हामी यस नेपाल हरित हाइड्रोजन सम्मेलनप्रति उत्साही छौँ ।

यो कार्यक्रम किन आयोजना गर्नुभएको हो ? यसले नेपाललाई कसरी फाइदा गर्छ ?

प्रकृतिमा पर्याप्त हाइड्रोजन छ । हरित हाइड्रोजन प्रयोग हुँदा कार्बनडाइअक्साइडको सट्टा पानी उत्सर्जन हुन्छ । यसलाई स्टिल, सिमेन्ट र यातायातजस्ता ठूला उद्योगहरूमा पनि प्रयोग गर्न सकिन्छ । हरित हाइड्रोजनले हरित मल निर्माण गर्न सकिन्छ, जसले खाद्य सुरक्षा तथा उर्जा भण्डारणमा पनि सहयोग गर्छ ।

यसबाट के पुष्टि हुन्छ भने नवीकरणीय उर्जा स्रोतबाट प्राप्त विद्युत्को प्रयोग गरी पानीको इलेक्ट्रोलिसिसमार्फत उत्पादित हरित हाइड्रोजनले यातायातदेखि कृषिसम्मका साना र ठूला सबै खालका उद्योगले लाभ लिन सक्छन् ।

हरित हाइड्रोजनको सम्भाव्यता र लाभबारे थाहा पाउँदा हामी एकदमै उत्साहित भयौँ । यसले विश्वव्यापी उष्णीकरणसँग सम्बन्धित चुनौती र जोखिम सामना गर्न मात्र नभई नेपाललाई सन् २०३०सम्म समृद्ध मुलुक बनाउन पनि सहयोग गर्न सक्छ । तर त्यसका लागि नीति निर्माता र सर्वसाधारणसम्मका सबै सरोकारवालाको योगदान चाहिन्छ ।

यसै भावनाका साथ यी विषयमा विशेषज्ञहरूसँग छलफल गर्ने उद्देश्यले हामीले यस सम्मेलनको आयोजना गरेका हौँ । हामीलाई आशा छ यसमार्फत हामी बृहत्तर हितको सङ्कल्प निर्माण गर्न सक्नेछौँ ।

तर, कतिपय सरोकारवालाको भनाइमा हरित हाइड्रोजन अझै पनि नेपालका लागि आकाशको फल हो । तपाईंलाई चाहिं यो तत्कालै सम्भव छ भन्ने लागिरहेको छ ?

अँ, तत्कालै सम्भव छ । धेरै हिसाबले नेपालका सम्भावनाहरूको पहिचान हुन बाँकी छ । हामीकहाँ विकसित देशमा जस्तो धेरै उद्योगधन्दा छैनन् । धेरै उद्योगधन्दा हुनु भनेको धेरै समस्या हुनु पनि हो किनकि तिनले धेरै जैविक उर्जा उपभोग गर्छन् र उनीहरूलाई तत्कालै नवीकरणीय उर्जामा रूपान्तरण हुन सम्भव हुँदैन । तर हामी त शून्यबाट सुरु गर्दैँ छौँ, अर्थात् हामीमा वर्तमानको भार छैन । प्रविधि पनि हामीसँग पहिल्यै उपलब्ध छ, खालि तिनलाई अवलम्बन गर्नका लागि हाम्रो नेतृत्वमा सपना र इच्छाशक्ति चाहिएको छ ।

नेपालका सन्दर्भमा सबैभन्दा राम्रो कुरा के हो भने हामीकहाँ पर्याप्त पानी छ । एक प्रतिवेदनका अनुसार यदि हामीले हरित अर्थतन्त्रतर्फको यात्रा आज सुरु गर्यौं भने नेपालसँग सन् २०३२भित्र सबैभन्दा प्रतिस्पर्धी हरित हाइड्रोजन उर्जा उत्पादन गर्ने क्षमता छ। हामीमा प्रतिस्पर्धी मूल्यका आधारमा हरित हाइड्रोजन उत्पादनमा विश्वलाई नै अगुवाइ गर्ने क्षमता छ ।

चुनौती त अवश्य छन् । तर अनावश्यक राजनीतिक मुद्दामा नअल्झिई मानव जगत्को भविष्यलाई सोचेर नीति निर्माताले सामूहिक भावनाले काम गरे भने ती सबै चुनौती सामना गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु ।

अर्थात्, तपाईंलाई लाग्छ कि हरित हाइड्रोजन नै नेपालको भविष्य हो ?

हो । हामीले आवश्यकताभन्दा बढी विद्युत् उत्पादन गर्न थालिसक्यौँ र यो हरेक वर्ष बढ्दो छ । जलविद्युत् खेर जाने डर छ । यो भनेको हरित तथा नवीकरणीय उर्जा हो, जसलाई हरित हाइड्रोजनमा रूपान्तरण गर्न पनि सकिन्छ । त्यसका लागि हामी एक स्पष्ट मार्गचित्र, नीति तथा पुँजी चाहिन्छ ।

अहिलेका लागि हामीले कुनै व्यापारिक तथा नाफामुखी परियोजनाको अपेक्षा गरेका छैनौँ । तर हामीलाई के पनि थाहा छ भने सानै परियोजनाको पनि सामाजिक लाभ ठूलो हुनेवाला छ । बरु सरकार तथा अन्तर्राष्ट्रिय निकायको सहयोगमा कुनै स्टार्टअपले यसलाई अगाडि बढाउन सक्छन् । त्यसका लागि सबै सरोकारवालाको साझेदारी जरुरी छ ।

भनेपछि अब नेपालले के गर्नुपर्छ त ?

मेरो सिफारिस मान्ने हो भने त सरकारले नेपाल विद्युत् प्राधिकरणजस्तै पर्याप्त अधिकार र जिम्मेवारीसहितको एक हरित हाइड्रोजन प्राधिकरण स्थापना गर्नुपर्छ ।

तर लगानी पनि चाहियो, के नेपाली डायस्पोरा यसमा लगानी गर्न तयार छ त ?

हामीले यसमा लगानी गर्न सुरु गरिसक्यौँ । राम्रो काम भएकाले हाम्रो उल्लेख्य पैसा र अन्य स्रोतसाधन लगानी गर्न हामी तयार छौँ । हामीले यसलाई नाफामुखी व्यवसायभन्दा पनि नागरिक दायित्वका रूपमा लिएका छौँ । हामी लगानीको वातावरणीय तथा सामाजिक दायित्वमा विश्वास गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?