+
+

गण्डकीमा राष्ट्रिय खेलकुदको ट्रफी, मुख्यमन्त्री पोखरेलले गरे सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १४:०३

२४ असोज, पोखरा । विभिन्न ६ प्रदेश र विभन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश आइपुगेको छ ।

गण्डकीमा ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि नयाँ ट्रफी ल्याएको हो । सुन र चाँदीजडित ट्रफीको मूल्य १० लाख रुपैयाँ रहेको आयोजक राखेपले जनाएको छ ।

सातै प्रदेशमा ‘ट्रफी टुर’ गराउने लक्ष्यसहित ६ वटा प्रदेशमा ट्रफी प्रदर्शन गरिएको थियो । गण्डकीमा भने प्रतियोगिता अवधिभर ट्रफी प्रदर्शनका लागि राखिनेछ । ट्रफी सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकीले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको विषय रहेको सुनाए ।

मुख्यमन्त्री पोखरेलले ट्रफी प्रदर्शनमात्रै नभएर गण्डकी त्यसको हकदारसमेत रहेको दाबी गरे । ‘यसमा गण्डकीको पनि स्वार्थ रहेकोले ट्रफी गण्डकीमा नै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न म खेलाडीहरुलाई आग्रह गर्दछु,’ उनले भने, ‘उहाँहरुले उत्कृष्ट प्रदर्शन गरेर गण्डकीमा राखिदिनु भयो भने यो हामी सबैका लागि सम्मान हुनेछ ।’

मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेसँगै पोखरा नगर परिक्रमा गरिएको थियो । पोखरा लेकसाइडस्थित तालबाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले समापन गरेका थिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा ‘ट्रफी टुर’ कार्यक्रम संयोजक एवं ओलम्पियन दीपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई सहभागी थिए ।

गण्डकीमा हुन लागेको करिब ४ दशकपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको हो । यसअघि २०४० सालमा पहिलोपटक दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।

औपचारिक रुपमा असोज २८ गतेदेखि प्रतियोगिता सुरु हुने भए पनि पुरुष प्रतियोगिता एक महिना अगाडि नै काठमाडौंमा भइसकेको छ । आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । सोमबारबाट ह्यान्डबल र फेन्सिङ सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?