+
+

चितवन–१ को कांग्रेसका बागी भन्छन् : विश्व पौडेलले नाम फिर्ता लिनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १९:२५

२५ असोज, काठमाडौं । चितवन १ मा कांग्रेसबाट बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

यो क्षेत्रबाट कांग्रेसको आधिकारिक उम्मेदवार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल छन् । पौडेललाई पार्टीले टिकट दिएपछि बुर्लाकोटीले सभापति शेरबहादुर देउवाप्रति तीव्र असन्तुष्ट व्यक्त गरेका छन् । उम्मेदवारी फिर्ता नगर्दा पार्टीले कारबाही गरेपनि भोग्न तयार रहेको उनले अनलाइनखबरसँग बताए ।

‘बरु, विश्व पौडेलले उम्मेदवारी फिर्ता गर्नुपर्छ । मलाई समर्थन गर्नुपर्छ, मैले गर्दिन’, बुर्लाकोटीले भने, ‘पार्टी कारबाही गर्‍यो भने त्यही महासमिति सदस्य जाने हो, जाओस् ।’

पार्टीले उम्मेदवारी फिर्ता गर्न दबाव दिएपनि आफ्नो उम्मेदवारी कायम रहने उनले बताए । पौडेल कम्युनिस्ट पार्टीबाट आएको नवप्रवेशी भएको बुर्लाकोटीले आरोप लगाए ।

‘कम्युनिस्ट भित्र्याएर टिकट दिएर सभापतिले ठूलो गल्ती गरेका छन् । पचासौं वर्ष कांग्रेसका लागि दुखकष्ट सहेकालाई टिकट दिइएन’, बुर्लाकोटीले भने ।

नेकपा एमालेबाट उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई पराजित गर्ने हैसियत आफूसँग रहेको बुर्लाकोटीले दाबी गरे । बुर्लाकोटी गत निर्वाचनमा यसै क्षेत्रमा एमालेका अहिलेका उम्मेदवार पाण्डेसँग पराजित भएका थिए ।

उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन निर्वाचन आयोगले बुधबार (असोज २६) को लागि तोकेको छ । गठबन्धनका दलबाट बागी उम्मेदवार बनेकाहरुलाई नाम फिर्ता गराउनका लागि सत्तारुढ दलको बैठक बालुवाटारमा बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?