+
+

‘भष्मे डनको छविलाई शंखे दादाले मेटाइदिन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १६:५८

काठमाडौं । फिल्म ‘के घर के डेरा’को प्रदर्शन मिति नजिकिंदैछ । निर्माताले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । ट्रेलरमार्फत फिल्मले कथावस्तुलाई केही हदसम्म दर्शकमाझ पनि ल्याएको छ ।

महत्वपूर्ण कुरा ‘पशुपति प्रसाद’का निर्देशक र अभिनेताको सहकार्य यो फिल्ममा भएको छ । सहकार्य भन्ने बित्तिकै यी दुईले दिने नतिजा महत्वपूर्ण हो ।

निर्देशक दीपेन्द्र के खनाल र विपिन कार्कीबीच एउटा समानता छ, त्यो हो दुवैले प्रयोगमा रुचि राख्छन् र विविधता खोज्छन् । ‘पशुपति प्रसाद’पछि ‘के घर के डेरा’मा यी दुईबीच सहकार्य भएको छ ।

कात्तिक ४ गते प्रदर्शनको तयारीमा रहेको फिल्म के घर के डेरामा विपिनले शंखे दादा नामक डनको भूमिका निर्वाह गरेका छन् । यो डन परिपक्व देखिन्छ र ऊसँग परिवार पनि छ । यो डन योगा गर्छ, साधुजस्तो पनि छ र गुण्डागर्दी पनि ।

के घर के डेराबारे विपिनले अनलाइनखबरसँग एक महत्वपूर्ण ‘स्टेटमेन्ट’ दिएका छन् । उनले भनेका छन्, ‘यो फिल्मको क्यारेक्टरले पशुपति प्रसादको भष्मे डन र जात्राको ह्याङओभरलाई मेटाइदिन्छ ।’

विपिन भन्छन्, ‘मेरो आजसम्मको अनुभवले भष्मेको छविलाई मेटाइदिन्छ कि भन्ने आश छ । दर्शकलाई मनपर्ने ढंगले क्यारेक्टर डिजाइन गरेको छु यसमा । कोभिडपछिको समयमा विशेष काम भन्दा पनि, फिल्मलाई सुचारु र चलायमान बनाउन मैले यस्ता खालका क्यारेक्टर गरेको छु ।’

फूलबारीदेखि बलिउडको आगामी फिल्म एनिमलसम्म आफूले यस्तै चरित्रमा अभिनय गर्ने उनले बताए । ‘फूलबारीको क्यारेक्टर पनि कन्ट्रास्ट भएकाले त्यसलाई रोजेको हुँ । बलिउड फिल्म एनिमलमा पनि मेरो क्यारेक्टर योङ्ग्री योङ म्यान टाइपको छ,’ भन्छन् ।

के घर के डेरा र पशुपति प्रसादको पात्रलाई बुझाउने उनको सरल तरिका छ । ‘पशुपतिप्रसादमा केटा थिएँ । के घर के डेरामा श्रीमती भएको पुरुष छु,’ उनी भन्छन्, ‘पशुपति प्रसादको पात्र गर्दा म जति मच्योर्ड थिएँ, अहिले त्यो भन्दा धेरै कुरा देखें, सुनें र पढें । यसमा म्यानको क्यारेक्टर गरेको छु ।’

‘कबड्डी’देखि ‘छक्कापञ्जा’सम्म ह्युमर बिक्री भएकाले पनि आफू उद्योगलाई चलायमान बनाउन यसतर्फ लागेको उनले बताए । ‘तर फिल्म गर्छु भन्दैमा आफ्नो छविलाई पनि त बिगार्नुभएन नि त,’ विपिनले भने, ‘दर्शकको विश्वास र शैलीलाई टुटाउनुभएन । झनै बढाउँदै लैजानुपर्‍यो नि ।’

के घर के डेराको चरित्रले पशुपतिप्रसादको भष्मे डनको चरित्रलाई मेटाइदिन्छ भन्ने आधार के ? उनको जवाफ छ, ‘छड्के गर्ने समयमा ममा जति अनुभव र परिपक्वता थियो, त्यसबीचमा मैले धेरै फिल्म गरें र अनुभव बटुलें । केही हदसम्म नेपाली दर्शकको चाहना पनि बुझें । दर्शकलाई के कुराले छुन्छ, के कुरामा हाँस्नुहुन्छ भन्ने कुरा बुझ्ने कोसिस गरें ।’

मल्टिस्टारर फिल्म के घर के डेरामा विपिनले दयाहाङ राई, वर्षा राउत र सुरक्षा पन्तसँग स्क्रिन सेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?