+
+

डडेलधुरामा एमालेका शाहीले उम्मेदवारी फिर्ता नलिने, कांग्रेस बीपीसँग तालमेल नहुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १२:०८
विक्रम शाही ।

२६ असोज, डडेलधुरा । नेकपा एमालेबाट डडेलधुरामा उम्मेदवारी दिएका विक्रम शाहीले नाम फिर्ता नलिने भएका छन् ।

कांग्रेस बीपीसँग तालमेल गर्ने गरी एमालेले प्रदेशतर्फ दुबै क्षेत्रमा उम्मेदवार बनाएको थियो । पठानसिंह बोहोरा र गजेन्द्र शाहीलाई एमालेले प्रदेश सभाको उम्मेदवार बनाएको छ ।

गत स्थानीय तह चुनावमा कांग्रेस बीपी र एमालेबीच तालमेल भएको थियो । र त्यो तालमेल अनुसार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेस बीपीका उम्मेदवार विजयी भएका थिए ।

तर मंसिर ४ मा हुने संघीय संसदको चुनावका लागि शाहीले उम्मेदवार दर्ता गरे । शाहीले उम्मेदवारी दिएपछि एमाले र कांग्रेस बीपीको तालमेल भाँडिएको छ ।

पार्टी केन्द्रकै निर्णय अनुसार आफूले उम्मेदवारी दिएको शाहीले दाबी गरे । ‘पार्टीले टिकट दिएपछि मैले उम्मेदवारी दर्ता गरेको हुँ । केन्द्रले नै गरेको निर्णय अनुसार उम्मेदवार भएको हुँ’, शाहीले भने । कांग्रेस बीपीसँग तालमेल गर्ने निर्णय नै नभएको उनले दाबी गरे । शाहीले उम्मेदवारी फिर्ता नलिने दोहोर्‍याए ।

कांग्रेस बीपीले प्रतिनिधि सभाका लागि कर्ण मल्ललाई उम्मेदवार बनाएको छ । उनी कांग्रेस बीपीका केन्द्रीय उपाध्यक्ष हुन् । एमालेका लागि तालमेलको प्रयास जारी रहेको कांग्रेस बीपीका केन्द्रीय सदस्य हरि भट्टले जानकारी दिए । ‘उम्मेदवारी फिर्ताका लागि केही समय बाँकी छ । छलफल भई सहमति हुनसक्ला’, भट्टले अनलाइनखबरसँग भने ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज विहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकेको छ । शाहीले उम्मेदवारी फिर्ता नलिए आ–आफ्नो तरिकाले प्रतिस्पर्धा हुने भट्टले बताए । कांग्रेसबाट प्रतिनिधि सभामा सभापति शेरबहादुर देउवा उम्मेदवार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?