+
+

डग होस्टल, जहाँ आफ्नो कुकुरलाई राख्न सकिन्छ

मनिषा थापा मनिषा थापा
२०७९ असोज २६ गते १४:०४

काठमाडौं । सदियौंदेखि मान्छेले कुकुरलाई आफ्नो साथी बनाउँदै आए । अहिले पनि यो क्रम यथावतै छ । थुप्रै घरपरिवार छन्, जसले कुकुर पाल्ने गरेका छन् ।

एक्लोपनबाट मुक्त हुन, मनोरञ्जन लिन वा घरायसी सुरक्षाका लागि कुकुर पाल्ने जमात ठूलो छ । यद्यपि जब घरका सबै सदस्य कतै बाहिर जानुपर्ने हुन्छ, त्यस्तो बेला कुकुरलाई कहाँ छाड्ने ?

कतिपय अवस्थामा कुकुरसँगै यात्रा गर्न कठिन हुन्छ । त्यसमाथि अहिले जहाजमा कुकुरलाई यात्रा गराउन नपाइने व्यवस्था छ । यस्तो बेला कुकुरलाई कहाँ छाड्ने ? आफन्त, छिमेक वा अरु कतै ?

यसको विकल्प हो, डग होस्टेल । सहरी क्षेत्रमा डग होस्टलको प्रचलन बढ्दो छ । यस्ता होस्टेलमा केही अवधिका लागि कुकुरलाई छाड्न सकिन्छ, सःशुल्क ।

डग होस्टल सञ्चालकहरुका अनुसार त्यहाँ कुकुरलाई स्याहारसुसार गर्ने, खुवाउने, खेलाउने गरिन्छ । साथै औषधि उपचार पनि गराइन्छ । सानेपास्थित के नाइन डग ट्रेनिङ सेन्टरका सञ्चालक प्रविन बज्राचार्यका अनुसार काठमाडौंमा मात्र दर्जन बढी डग होस्टेल छन् । उनी स्वयंले पनि डग होस्टेल सञ्चालन गरिरहेको बताउँछन् । बज्राचार्य भन्छन्, ‘मेरोमा एकसाथ ५० वटा जति कुकुर राख्न सकिन्छ । यहाँ उनीहरुलाई आवश्यक सबै सुविधा दिइन्छ ।’

सबै कुकुरलाई एकै स्थानमा राख्दा झगडा गर्ने, घाउ बनाउने, रोग सर्ने जोखिम हुन्छ । त्यसैले अलग-अलग स्थानमा सुरक्षित तरिकाले राखिने उनी बताउँछन् ।

कुकुरको रोजाइ अनुसार खानपान

कुकुरलाई होस्टलमा राखेपछि उनलाई मालिकले जस्तो खानपान दिइरहेको हो, त्यही अनुसार खानाको व्यवस्था गरिने सञ्चालक बताउँछन् । कुनै कुकुर बजारमा पाइने तयारी डग फुड मात्र खान्छन् भने कोही मासु मात्र खाने हुन्छन् । कोही फलफूल र सागसब्जी पनि रुचाउने हुन्छन् ।

‘यसपालि त लौका र स्याउ मात्र खाने कुकुर पनि ल्याइएको थियो,’ बज्राचार्य भन्छन्, ‘उनीहरुलाई के मनपर्छ वा के खाने बानी छ, त्यही अनुसारको खानपानको बन्दोबस्ती मिलाउने गरिएको छ ।’ उनको डग होस्टेलमा दैनिक ५०० देखि १ हजार ५०० रुपैयाँसम्म शुल्क लाग्ने गर्छ ।

उनी भन्छन्, ‘ठूलो जातको कुकुरलाई धेरै खुवाउनु र स्याहार्नुपर्ने भएकाले उनीहरुको खर्च बढी आउँछ । कुकुरको आकारप्रकारले पनि यसमा भूमिका खेल्छ ।’ सानो जीउडालको कुकुरलाई ५०० देखि ६०० रुपैयाँ लाग्ने बज्राचार्य बताउँछन् ।

कुकुरलाई होस्टेलमा राख्नुअघि के गर्नुपर्छ ?

कुनै पनि कुकुरलाई होस्टेलमा त्यसै छाड्न पाइँदैन । कतिपय मानिस हुन्छन्, जो रहरले कुकुर पाल्छन् र पछि अन्यत्र लगेर छाडिदिन्छन् । यसैगरी कतिपयले रोग लागेपछि वा बुढो भएपछि पनि कुकुरलाई घरबाट निकालेर बाहिर छाड्ने प्रवृत्ति छ । यसरी अनेक नियतले कुकुरलाई छाड्ने भएकाले पनि डग होस्टेलमा राख्नुअघि केही सम्झौता गर्नुपर्ने बज्राचार्य बताउँछन् ।

होस्टेलले कुुकुरलाई उचित स्याहारसुसार नगर्न सक्ने वा घाउचोट लाग्नसक्ने भएकाले पनि दुईपक्षको सम्झौता जरुरी हुने बज्राचार्य बताउँछन् । ‘डग होस्टेलमा छाडेपछि कुकुरलाई कुनै समस्या हुनुहुँदैन । उसको स्वास्थ्यमा कुनै गडबडी हुनुहुँदैन । दुर्घटना वा अन्य कारणले चोटपटक लाग्नु हुँदैन,’ उनी भन्छन्, ‘यी कुरामा होस्टेल सञ्चालकहरुले जिम्मेवारी लिने भएपछि मात्र कुकुर मालिकले कुकुर छाड्ने गर्छन् ।’

दशैं-तिहारमा भरिभराउ

काठमाडौं उपत्यका लगायत सहरी क्षेत्रमा बसोबास गर्ने धेरैजसो दशैं-तिहारमा आफ्नो मूलघर जाने गर्छन् । यस्तो अवस्थामा उनीहरुले आफ्नो कुकुरलाई होस्टेलमा राखिदिने गरेका छन् । डग होस्टेल सञ्चालक जगनाथ ढकालका अनुसार दशैं-तिहारमा यस्ता डग होस्टेल भरिभराउ हुने गरेका छन् ।

‘प्रायजसो ठूला जातका कुकुरहरु जस्तो एल्सेसियन, जर्मन सेफर्ड, हस्की, डोरम्यान, ल्याब्रोडर, बक्सर, बुलडग जस्ता कुकुर होस्टेलमा छाड्ने गरेका छन्,’ उनी भन्छन् । यतिबेला डग होस्टेल खचाखच हुने भएकाले धेरैजसो केनल क्लबले पनि होस्टेलकै रुपमा कुकुर राख्ने गरेको उनी बताउँछन् ।

के नाइनका प्रविन बज्राचार्य चाहिं डग होस्टेल छ्यापछ्याप्ती भए पनि राम्रो खालको डग होस्टेल एकदमै थोरै भएको बताउँछन् । कुकुरलाई उचित स्याहारसुसार गरेर पाल्न निकै कठिन भएकाले सही र व्यवस्थित होस्टेल छनोट गरेर मात्र कुकुर राख्नुपर्ने प्रविन बज्राचार्यको सुभाव छ ।

उनी भन्छन्, ‘होस्टेल भनेर बुझ्दै नबुझी कुकुर छाड्दा भोलि समस्या आउन सक्छ । त्यसैले कुनै पनि होस्टेल कति व्यवस्थित छ, कति राम्ररी स्याहारसुसार गरिन्छ भन्ने हेरेर मात्र कुकुर राख्नुपर्छ ।’

सामान्यतः यस्ता होस्टलमा कुकुर राख्दा दैनिक ५०० देखि एक हजार रुपैयाँसम्म लाग्ने बताइन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?