+
+
ब्लग :

हाम्रो विकासले किन बाटो बिरायो ?

दुर्योधन बस्नेत दुर्योधन बस्नेत
२०७९ असोज २६ गते १६:३५

युएन मिसनमा भाग लिन जाने क्रममा स्विट्जरल्याण्डको जेनेभामा सात दिन बस्ने अवसर प्राप्त भएको थियो । सात दिन बसाइको अवधिमा स्विट्जरल्याण्डका १३ वटा प्रान्त घुम्ने मौका मिलेको थियो । भू-बनोटको दृष्टिले नेपाल र स्वीट्जरल्याण्डमा खासै अन्तर देखिंदैन । तर विडम्बना विकासका दृष्टिले भने नेपाल र स्विट्जरल्याण्डबीच आकाश–पातालको भिन्नता रहेको पाइन्छ ।

त्यहाँ पनि नेपालमा जस्तै अग्ला अग्ला विकट पहाडी भू-भाग, ओराली-उकाली, वन, जङ्गल, खोला, नाला रहेका छन् । समान भू-बनोट भएकाले हावापानी पनि उस्तै रहेको छ । त्यहाँ पहाडको टुप्पा टुप्पामा सडक पुगेको छ । एक डाँडा र अर्को डाँडाको बीच जादुमय तरिकाले सडक निर्माण गरिएको छ ।

कहीं सुरुङ खनेर सडक निर्माण गरिएको छ । त्यहाँ प्रविधिको अत्यधिक विकास गरिएको छ । जेनेभा र फ्रान्सको एउटा पहाडी शहरका बीच समुद्र रहेको छ । तर ती दुई स्थानबीच रोप वेबाट गाडी ओहोरदोहोर हुने गर्दछ । अचम्म त यो छ कि समुद्रमा क्यासल निर्माण गरिएको छ त्यो पनि दुई/तीन सय वर्ष अगाडि ।

सडकमा कहींकतै फोहोरको त कुरै छाडौं, धुलोमैलो समेत देख्न पाइँदैन । शहरी वातावरणलाई स्वच्छ, सफा राखेर जनजीवन स्वस्थ बनाउनका खातिर शहरमा ठाउँ–ठाउँमा रूख रोपेर हरियाली बनाइएको छ । बसोबासका हिसाबले निर्माण गरिएका नागरिकका घरहरूमा नेपालका पहाडी इलाकाका घरहरूमा जस्तै बार्दली निकालिएको पाइन्छ ।

प्रायः घरहरू दुईतले रहेका छन् । टाउन प्लानिङका हिसाबले घरहरू निर्माण गरिएकाले हरेक घरलाई चारैतर्फबाट बाटोले छोएको छ । हरेक घर वरिपरि खाली जग्गा राखेर कम्पाउण्ड वाल लगाइएको हुन्छ ।

त्यहाँ हरेक काम कम्प्युटर प्रणालीबाट हुने गर्दछ । पसलमा सामान बिक्री गर्ने काम कम्प्युटर प्रणालीले गर्दछ । होटलमा कम्प्युटर प्रणाली, ट्राफिक व्यवस्थापनमा कम्प्युटर प्रणाली । त्यसैले त न पसलमा साहु चाहिन्छ न सडकमा ट्राफिक । सडकमा गाडीवालले केही गरी ट्राफिक नियम उल्लंघन गर्‍यो भने उल्लंघनकर्ता घरमा पुग्नुभन्दा अगावै फाइन बिल पुगिसकेको हुन्छ ।

हुन त त्यहाँ अनुशासनको नियम अत्यन्तै कडा भएकोले कसैले पनि उल्लंघन गर्दैनन् । मान्छे हो, कहिलेकाहीं गल्ती नहोला भन्न सकिंदैन । त्यसैले त भनिन्छ नि– गल्ती नगर्ने पनि मान्छे होइन, गल्ती दोहोर्‍याउने पनि मान्छे होइन । त्यहाँ बर्दीवाला सेना र प्रहरीको व्यवस्था गरिएको छैन तर त्यहाँको नियम अनुसार प्रत्येक नागरिकले अनिवार्य सैनिक तालिम लिनुपर्नेछ ।

राज्यले चाहेको अवस्थामा वा संकटकालीन अवस्थामा सबै नागरिक उपस्थित हुनुपर्नेछ । यसले के पुष्टि गर्दछ भने यदि शासकहरूमा इच्छाशक्ति, इमानदारी, जिम्मेवारीपन छ भने देश विकासको काममा कुनै कुराले पनि बाधा पुर्‍याउन सक्दैन ।

हामी भ्रष्टाचारयुक्त देश बनाउन लाग्यौं तर उनीहरू भ्रष्टाचारमुक्त देश बनाउन लागे । हामी पद, पैसा र कुर्सीका लागि मरिमेट्यौं, उनीहरू देश, जनता र समाजका लागि मरिमेटेर लागे । हामीले भोटमुखी राजनीति गर्‍यौं, उनीहरूले विकासमुखी राजनीति गरे ।

जर्मन, इटाली र फ्रान्स स्विट्जरल्याण्डसँग सीमा जोडिएका देशहरू हुन् । भू-बनोट र हावापानीका हिसाबले यसलाई युरोपको स्वर्गको रूपमा लिइन्छ । त्यसैले यहाँ यूरोपभरिकै मानिस देख्न पाइन्छ । यहाँ अंग्रेजी भाषा बोल्ने मानिस कमै पाइन्छ ।

विशेषगरी जर्मनी, इटाली र फ्रेन्च भाषा बोल्ने मानिस बढी भेटिन्छन् । यहाँ रहने कुल मानिसमध्ये ४० प्रतिशत मात्र स्वीस नागरिक छन् भने ६० प्रतिशत विदेशी नागरिक रहेका छन् ।

युरोपभरिकै अझ भन्ने हो भने संसारकै मानिस आउने हुनाले यहाँ पाइने हरेक सामान अत्यन्तै महँगा हुन्छन् । होटलहरू त्यस्तै महँगा हुन्छन् । यसरी पर्यटकीय हिसाबले स्विट्जरल्याण्डले ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरेको छ ।

यो पनि हाम्रोजस्तै शान्ति क्षेत्र घोषित देश हो । तर त्यहाँ नेपालमा जस्तो अशान्ति, अराजकता, अस्थिरता, अस्तव्यस्तता, अव्यवस्था, अनुशासनहीनता पाइँदैन र त हाम्रो देशभन्दा आकाश–पाताल फरक रहेको छ ।

तर विडम्बना आकारमा स्विट्जरल्याण्डभन्दा ठूलो, प्राकृतिक स्रोत र साधनमा ऊभन्दा धनी हाम्रो देश सधैंभरि विकासोन्मुख देशको सूचीमा परिरहेको अवस्था छ । उस्तै प्रकृतिको स्विट्जरल्याण्ड आज विकासको चरमचुलीमा पुग्दा हामी भने सधैंभरि ‘गरिब देश’को रूपमा परिचित भइरहेका छौं ।

यसका पछाडि विविध कारण रहेका छन् । ऊ देश बनाउनतिर लाग्यो, हामी आफू बन्नतिर लाग्यौं । त्यहाँका नेता, शासकहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका लागि लागिपरे तर हाम्रा देशका शासक, नेताहरू राष्ट्रिय स्वार्थलाई लत्याएर व्यक्तिगत स्वार्थका लागि लागिपरे ।

हामी भ्रष्टाचारयुक्त देश बनाउन लाग्यौं तर उनीहरू भ्रष्टाचारमुक्त देश बनाउन लागे । हामी पद, पैसा र कुर्सीका लागि मरिमेट्यौं, उनीहरू देश, जनता र समाजका लागि मरिमेटेर लागे । हामीले भोटमुखी राजनीति गर्‍यौं, उनीहरूले विकासमुखी राजनीति गरे ।

उनीहरूका कर्मचारीले सेवामुखी काम गरे, हाम्रा कर्मचारीले ढेवामुखी काम गरे । हामी काममा भन्दा भाषणमा केन्द्रित भयौं, उनीहरू भाषणमा भन्दा काममा केन्द्रित भए । हामीले कमिसनको खेलमा दलाल, तस्कर र भ्रष्टहरूलाई जन्मायौं, उनीहरू सुशासनउन्मुख भएकाले दलाल, तस्कर र भ्रष्टहरूले जन्म लिनै पाएनन् ।

उनीहरू सुशासनउन्मुख भए, हामीहरू कुशासनउन्मुख भयौं । उनीहरू इमानदार, अनुशासित, जिम्मेवार, कर्तव्यनिष्ठ, विवेकशील, सुसंस्कृत बने हामी बेइमान, अनुशासनहीन, गैरजिम्मेवार, कर्तव्यविमुख, विवेकहीन र संस्कारहीन बन्यौं ।

हामीले श्रमलाई अपहेलना गर्‍यौं, उनीहरूले श्रमलाई सम्मान गरे । त्यसैले हामीहरू सबै नाइके, ठेकेदार भयौं, उनीहरू सबै श्रमिक भए । हामी श्रमचोर भयौं, उनीहरू श्रमशील भए । जसले गर्दा उनीहरू विकसित भए, हामी सधैंभरि विकासोन्मुखको सूचीमै परेर बस्यौं । उक्त देश स्वर्ग बन्यो । हामी खै के खै के भयौं ।

त्यसैले अब राज्य संचालक, नेता, राज्यका उपल्ला पद धारण गरेका र समस्त नेपालीले आफूले आफूलाई समीक्षा गर्ने बेला आएको छ । स्विट्जरल्याण्ड बन्ने देश आज किन सबैभन्दा पछाडि परिरहेको छ । देश बनाउनु त कता हो कता, हामी त भागबण्डामै अलमलिएर बसिरहेका छौं । शरम लाग्नुपर्ने हो– जनताको सम्पत्ति तोडफोड गरिरहेका छौं । हामी कहिले सुध्रिने हो ?

हामीले पछिल्लो पुस्तालाई कस्तो खालको शिक्षा दिइरहेका छौं ? कहिलेसम्म रेमिटेन्समा देश चलाइरहने हो ? जबसम्म रेमिटेन्समा देश चलाइरहने मानसिकताले घर गरिरहन्छ तबसम्म यो देश विकासोन्मुख होइन, त्योभन्दा पनि तल झर्दै जानेछ । स्विट्जरल्याण्ड बन्ने कुरा त कता हो कता ।

सायद हामी कोही पनि अनभिज्ञ छैनौं होला, स्वीस सरकारले दोलखाको जिरीमा प्राविधिक शिक्षालयका लागि सहयोग गर्न आउँदा जिरीलाई स्विट्जरल्याण्डको संज्ञा दिएको थियो । यो संकेतले के पुष्टि गर्दछ भने उनीहरूको बुझाइमा नेपाल पनि स्विट्जरल्याण्ड जस्तो बन्न सक्छ । तर हामीले बनाउन सकेनौं, चिन्ता त्यहाँनेर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?