+
+
नवौं राष्ट्रिय खेलकुद :

डेढ वर्षीया छोरी बोकेर मैदानमा शान्ति

विकास रोकामगर विकास रोकामगर
२०७९ असोज २७ गते १९:५६

२७ साउन, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सहभागी हुन अरु खेलाडी आफूलाई आवश्यक पर्ने सरसामान मिलाउँदै गर्दा शान्ति चौधरीलाई भने अर्कै टन्टो थियो । डेढ वर्षीया छोरीलाई काखी च्यापेर मैदानमा पुगेकी मधेश प्रदेशकी चौधरीले खेलकै बीचमा छोरीको पनि ख्याल गर्नुपर्ने ।

दूध नछुटेकी छोरीलाई एक्लै घरमा छोड्न सक्दिन थिइन् उनी । त्यसैले छोरी बोकेरै नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण सपना बोकेर पोखरा आइन् ।

बिहीबार सुदूरपश्चिमलाई हराउँदै टिमलाई जिताउन शान्तिले २ विकेट लिइन् । मैदानबाहिर छोरीको सूर्ता भए पनि मैदान प्रवेश गरेपछि भने खेलले आफूलाई फोकस गरेको उनी सुनाउँछिन् ।

‘साथी, दाइहरुले तिमी भित्र गएर ढुक्कले खेल छोरी हामी हेरिदिन्छौं भन्नुहुन्छ । त्यसपछि त म पनि ढुक्क भएर खेल्न पाउँछु’ उनको प्रतिक्रिया छ ।

०००

सिरहाकी शान्तिलाई सानोमा क्रिकेट भन्ने नै थाहा थिएन । तर, साथीहरुको लहलहैमा मैदान पुगेर पहिलो पटक क्रिकेट खेलिन् । खेल्दा रमाइलो त भयो तर, उनलाई आफू के खेलिरहेको छु भन्ने थाहै थिएन । ‘खेल्न जाँदासमेत क्रिकेट खेल्न जाँदैछु भन्ने थाहा थिएन । घर (माइत)बाट सुरुमा नजा भनेका थिए’ उनले सम्झिइन्, ‘तर, पहिलोपटक नै खेलेपछि मलाई त यसैमा क्रेजी भएँ अनि निरन्तरता दिएँ ।’

त्यसरी पहिलोपल्ट क्रिकेट ब्याट समाएको पनि शान्तिको अहिले दशक नाघेको छ । यो दशक अवधिमा थुप्रै आरोहअवरोह पार गरिन् । यसैबीचमा बिहेवारी पनि भयो । छोरी जन्मिइन्, शान्ति अब आमा बनिन् ।

खेलकुदमै लागेर आफ्नो भविष्य बनाउने खेलाडी औंलामा गन्न सकिन्छ । त्यसमाथि महिला खेलाडीको अवस्था झनै कमजोर । सन्तान पाइसकेपछि उनीहरु करिअर नै परिवर्तन गर्छन् । तर, शान्तिले आँट गरिन्, हिम्मत हारिनन् । एक छोरीको आमा हुँदासमेत बच्चा च्यापेरै उनी मैदानमा देखिन्छिन् ।

‘सासूससुरा, श्रीमान, घरपरिवार सबैको राम्रो साथ छ नत्र कहाँ खेल्न पाउँथे र ?’ उनी भन्छिन्, ‘त्यही भएर बिहेपछि झन्डै ५ वर्ष ग्याप राखेर फेरि क्रिकेटमै फर्किएँ । छाड्न सकिनँ ।’

छोरी बोकेर क्रिकेट खेल्न मैदानमा पुगेको यो पहिलो पल्ट भने होइन । छोरी पुगनपुग ६ महिना नहुँदैबाट उनी मैदानमा उत्रन थालिसकेकी थिइन् । बिहेपछि लगभग क्रिकेट छाडिसकेकी थिइन् । तर, मैदानमा फर्कन उनलाई छोरी जन्मिएपछि मात्रै मौका मिल्यो ।

‘बच्चा भइसकेपछि माइत गएकी थिएँ । त्यहाँ म २ महिनाभन्दा बढी बसें । त्यहीबेला हाम्रो टिमको साथी घाइते हुनुभएकाे थियो अनि मलाई भेटेर साथीहरुले राम्रो खेल्छौ, तिमी खेल्यौ भने हाम्रो टिम पनि बलियो हुन्छ भनेर भन्नुभयो’ शान्तिले सुनाइन्, ‘मलाई पनि खेल्न मन लागिराखेको थियो अनि मैदानमा फर्किएँ ।’

बच्चा भइसकेपछि खेल्न गाह्रो हुने शान्तिको अनुभव छ । ‘अलिकति त आफूलाई लाजै लाग्छ । त्यसमाथि मैले सिजरिन गरेर बच्चा पाएको भएर फिटनेस पनि राम्रोे छैन’ भन्छिन्, ‘फिटनेसका लागि जबर्जस्ती त म गर्न सक्दिनँ । तर, सकेसम्म राम्रो गर्छु भनेर खेल्छु ।’

शान्तिले आफूले खेललाई निरन्तरता दिइरहनुको कारण सबै महिलालाई प्रेरणा दिन रहेको पनि खुलाइन् । ‘खेल्दा म यसरी खेलूँ कि भोलिका दिनमा पनि यसको पर्फमेन्स राम्रो थियो भनेर भनुन्’ उनले भनिन् ।

छोरी हुर्किंदै जाँदा आफ्ना लागि पनि प्रशस्त समय मिल्ने र क्रिकेटमा अझै राम्रो प्रदर्शन गर्ने शान्तिको धोको छ । तर, हुटहुटीले छोरी काखमा बोकेरै मैदानमा उत्रिए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधा, सहयोग नभएको गुनासो उनको छ ।

‘सरकारलाई आवाज मात्रै दिएर के हुन्छ ? खासै उसैले गर्ने होइन र ? अहिले त आशै राख्दैनौं । बोलेर पनि काम लाग्न छोडिसक्यो’ शान्तिले सुनाइन्, ‘नानी बोकेरै भएर पनि खेलिराखेकी छु, अहिलेलाई भोलि पनि यही पाइराखुँ भन्ने छ ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?