+
+
सन्दर्भ ४२औं विश्व खाद्य दिवस :

कृषिजन्य वस्तु आयातमा प्रतिबन्ध लगाउन विज्ञको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १७:१०

३० असोज, काठमाडौं । नेपालको खाद्य प्रणालीमा सुधार गर्न र खाद्य सम्प्रभुताका लागि विदेशबाट कृषिजन्य खाद्य वस्तु आयातमा प्रतिबन्ध लगाउनु पर्ने सुझाव विज्ञहरुले दिएका छन् ।

पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरुले वातावरणीय प्रभावका कारण खाद्य पदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेको बताए । कृषि विज्ञहरुले वातावरणीय प्रभावलाई सन्तुलनमा राखेर खाद्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको पनि बताए ।

नेपालमा खाद्य प्रणालीमा सुधार ल्याउन कृषि क्षेत्रमा लगानीवृद्धि र सरकारले कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी प्रोत्साहन नीति बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । उनीहरुले कृषि उत्पादनमा ठूलो सम्भवना हुँदासमेत कृषिजन्य सामग्री विदेशबाट आयात भइरहेकोप्रति दुःख प्रकट गरे । अब नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिवन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुता हुने उनीहरु बताउँछन् ।

४२औं विश्व खाद्य दिवसको अवसरमा अखिल नेपाल किसान महासंघको आयोजनामा आयोजित नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता विषयक अन्तरक्रियामा बोल्दै कृषि विभागका उपहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा सरकार र निजी क्षेत्रको कृषि अनुसन्धान,जनशक्ति र लगानीको कमी रहेको बताए ।

डा. केसीले पछिल्लो समय कृषि क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरुले नेपाली रैथाने प्रविधिलाई विस्थापित बनाएको पनि बताए । नेपाली रैथाने प्रविधिलाई नयाँ प्रविधिमा विकास गर्न सकेमा कृषि क्षेत्रमा वैदेशीक रुपमा प्रतिस्पर्धा बढाउन सकिने अवस्था आउने उनको भनाइ थियो । उनले नेपाली किसानले उत्पादन गरेको वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट कृषिजन्य वस्तुलाई प्रतिबन्ध गर्न आवश्यक रहेको बताए । डा. केसीले नेपालीहरुले नै नेपाली उत्पादनलाई प्राथमिकता दिन नसके नेपाली उत्पादनले बजार पाउन नसक्ने बताए ।

नेपाली खाद्य सामग्रीलाई उपभोगयोग्य बनाउनुपर्ने आवश्यकता रहेको डा. केसीको भनाइ थियो । नेपालले पछिल्लो केही वर्षमा कृषि उत्पादन बढेको भएपनि कृषिजन्य वस्तुमा आयात बढ्दै गएको उनले बताए ।

उनले पछिल्लो १० वर्षमा किसानले पाउने बजार मूल्यमा परिर्वतन हुन नसक्दा कृषिजन्य वस्तुमा उत्पादक किसान र क्रेता–विक्रेताबीचको मूल्यमा धेरै अन्तर रहेको दाबी गरे । उनले नेपालमा भोकमरीको समस्यामा सुधार भएकाले आयात बढ्न गएको पनि बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य संप्रभुता परिषद् बनाउनुपर्ने माग गरे । उनले राष्ट्रिय खाद्य सम्प्रभुता परिषद् बनाउँदा स्थायी प्रकृतिको अधिकार सम्पन्न भएमात्रै नागरिकहरु खाद्य अधिकारको पहुँचमा पुग्ने बताए ।

मानव अधिकार एलान्सका महासचिव विदुर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताए । उनले कृषि सम्बन्धी शिक्षा कमजोर हुँदै गएको अवस्थामा पनि कृषकहरु समेत विदेश जाने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे । सुवेदीले विकासित मुलुकहरुले हरित ग्यास उत्पादन गरेको कारण खाद्य संकट आउन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?