+
+

कैलालीमा नक्कली लालपुर्जा बाँडेर १६ लाख ठगेको आरोपमा १ जना पक्राउ

जनक विष्ट जनक विष्ट
२०७९ असोज ३१ गते १७:४०

३१ असोज, धनगढी । कैलालीमा १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दार्चुलाको मार्मा स्थायी घर भएर गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्नालाई ठगी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा आइतबार राति ठगुन्नालाई खुटियास्थित डेराबाट पक्राउ गरिएको जानकारी दिए ।

उनकाअनुसार ठगुन्नाले चुरे गाउँपालिका–५ को सिस्नेरी, गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाका समेत गरेर ३५ जनालाई ठगी गरेको उजुरी छ ।

ठगुन्नाले उनीहरुबाट ४५ हजार रुपैयाँका दरले रकम लिएर कैलालीको गौरीगंगा नगरपालिकामा एक कठ्ठा ऐलानी जग्गा खरिद गरिदिएको भन्दै नक्कली लालपुर्जा थमाएको पाइएको छ । भूमी आयोगमा आफ्नो पहुँच भएको बताउँदै रकम लिएर नक्कली लालपुर्जा बाँडेपछि १५ लाख ७५ हजार रुपैयाँ लिएर फरार भएका ठगुन्नालाई पीडित पक्षले समातेपछि प्रहरीलाई बोलाएका थिए ।

ठगुन्नाविरुद्ध पीडित मध्येका चुरे गाउँपालिका–५ बस्ने खड्कबहादुर पुन मगर, सुकलाल राना, हर्कबहादुर खत्री, गोपालबहादुर रोका, सुरेशबहादुर मगर, नेत्रबहादुर साउँद, नरबहादुर बोहरा, हरजित बोहरा,मान्ने बोहरा र चक्र बहादुर साउँद गरेर १० जनाले किटानी जाहेरी दिएका छन् ।

ठगुन्नाबाट कसरी ठगिए ३५ जना ?

दार्चुलाको मार्मा गाउँपालिकाको सिप्टी स्थायी घर भएका डम्बरबहादुर ठगुन्नाको चुरे गाउँपालिका–५ को मैतेटाडमा ससुराली छ । ससुराली गएका बेला उनीसँग पीडित मध्येका खडकबहादुर पुन मगरको चिनजान भएको थियो ।

कामको खोजीमा रहेका पुन मगरलाई ठगुन्नाका जेठान नाता पर्ने एक जनाले ट्राभल एजेन्सीमा मासिक ३० हजार रुपैयाँ तलब पाउनेगरी जागिर लगाइदिने बताएपछि उनी गोदावरी नगरपालिका–२ को अत्तरिया आए । भारत जाने यात्रुहरु खोजेर आफूलाई दिएपछि मात्र तलब दिने भनेपछि पुन मगर काम गर्न थाले र यात्रुहरु ठगुन्नाको सम्पर्कमा लैजान थालेका थिए ।

‘३० हजार रुपैयाँ तलब दिने भनेपछि म उहाँलाई भारत जाने यात्रु खोजेर जिम्मा लगाइदिने काम गर्थे तर दिनु भएन,’ पुन मगरले भने, ‘एक दिन उहाँले तिमी बाढी पीडित मान्छे तराइमा तिम्रो घर छैन । मलाई ४५ हजार रुपैयाँ दिएपछि एक कठ्ठा ऐलानी जग्गा खरिद गरिदिन्छु भन्नुभयो ।’

उनलाई ठगुन्नाले भनेको कुरामा विश्वास लागेको थिएन तर एक दिन एउटा लालपुर्जा देखाएर भूमी आयोगबाट यस्तै खालको लालपुर्जा पाइन्छ भनेपछि उनी पैँसा दिन राजी भए । ठगुन्नाले गौरीगंगा नगरपालिकाको झिलमा लगेर एक कठ्ठा ऐलानी जग्गा देखाएपछि पुन मगरले पैसा दिएका थिए ।

पीडितहरू ।

पैसा बुझाएको केही समयपछि गत वर्षको फागुन २४ गते लालपुर्जा पाइएपछि उनी तराइमा घरेडी किनेको भन्दै खुसी भए । त्यो कुरा गाउँका अरुलाई पनि शेयर गरेका थिए । त्यपछि गाउँका मानिसहरु उनको सम्पर्कमा आउन थाले र उनैले पैसा लिएर ठगुन्नाबाट एक कठ्ठा जग्गाको लालपुर्जा लिएर गाउँलेलाई बाँडेका थिए ।

३५ जना स्थानीयबाट ४५ हजारको दरले पैसा असुलेर लालपुर्जा पनि वितरण गरेपछि एकाएक ठगुन्ना सम्पर्क विहीन भए । त्यसपछि बुझ्दै जाँदा उनले दिएको लालपुर्जा नक्कली भएको खुलेको थियो ।

‘ठगुन्ना भागेर इन्डिया गएपछि शंका लागेको थियो । त्यसपछि मात्र ४५ हजार रुपैयाँ लिएर हामीलाई नक्कली पुर्जा दिएको कुरा थाहा भयो,’ पुन मगरले भने । पुन मगरले जग्गा खरिद गरेको देखेर नै आफूहरुले पनि तराइ जग्गा भएकाले सस्तोमा एक कठ्ठा पाउने भनेपछि पैसा दिएको पीडित बताउँछन् ।

चुरे गाउँपालिका–५ का ललबहादुर थापाले छिमेकी भाइले सस्तो मूल्यमा जग्गा पाइरहेको बताएपछि सहोदर भाइ दीपक थापा र तिलक थापासहितका गाउँले ४५ हजार रुपैयाँ बुझाएर लालपुर्जा बुझेको बताए । ‘गाउँकै भाइले ४५ हजारमा जमिन मिल्दैछ भनेपछि जसोतसो भएर पनि खरिद गरौँ भनेर उहाँलाई पैसा दिएका थियौं तर अहिले आएर ठगिएको कुरा थाहा भयो,’ थापाले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बस्ने सीता मगरले जग्गा नभएको व्यक्तिलाई एक कठ्ठा पाइने कुरा थाहा पाएपछि पैसा बुझाएको बताइन् । तर उनले भने लालपुर्जा पाएकी छैनन् । ‘जग्गा जमिन नाम नभएकोहरुलाई एक कठ्ठा पाइँदैछ भन्ने सुने । सुरुमा त विश्वास लागेको थिएन तर सबैले पैसा हालेपछि मैले पनि दिएकी हुँ,’ मगरले भनिन् । पीडितहरुले नक्कली लालपुर्जा वितरण गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै आफूहरुले तिरेको पैसा फिर्ता मागेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीले आरोपीत ठगुन्नाविरुद्ध अदालतबाट म्याद थप गरे घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?