+
+

विराटनगरको एउटा टोलमा उम्मेदवारलाई प्रवेश निषेध

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १९:१०

१ कात्तिक, विराटनगर । विराटनगर महानगरपालिकाको मुख्य चोक बरगाछीबाट सुनसरीसँगको सीमा छुट्याउन केसलिया खोलासम्मको ४ किलोमिटरमा तीन किलोमिटर सडक ग्राभेल छ । ग्राभेल सडक कालोपत्रे नभएपछि स्थानीयबासिन्दाले चुनावको मुखमा नेता बहिस्कार अभियान सञ्चालन गरेका छन् । एक वर्षअघि सुरु भएको नेता बहिस्कार अभियान उनीहरुले फेरि सञ्चालन गरेका हुन् ।

‘तीन किलोमिटर सडक वर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ,’ सुदीप लम्साल भन्छन्, ‘सडक कालोपत्रे गर्न पटक पटक माग गरियो, नभएपछि नेता बहिस्कार अभियान सुरु गर्यौं ।’

विराटनगर महानगरपालिका– ४ र ५ मा पर्ने जमुनगाछीका बासिन्दाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता बहिस्कार अभियान सुरु गरेको उनले बताए ।

कोसी राजमार्ग पश्चिमको क्षेत्रलाई विकासबाट वञ्चित गराएको भन्दै स्थानीयबासिन्दाले नेताको फोटो सहितको ब्यानर टाँसेका छन् ।

‘२०४६ सालदेखि बारम्बार सत्तामा बसेर पनि हाइवे पश्चिम केही विकास नगरी हाइवे पश्चिमलाई विकासबाट बञ्चित गराएर भेदभाव गरेर सामाजिक, कानुनी र नैतिक अपराध गर्ने जनताका अपराधी नेताहरूलाई चिनिराखौं,’ स्थानीयबासिन्दाले राखेको ब्यानरमा लेखिएको छ, ‘विराटनगर र समग्र मोरङ जिल्लाकै विकासका बाधक यी नेताहरू र तीनका पार्टीलाई अबको निर्वाचनमा बहिस्कार गरौं ।’

ब्यानरमा काङ्ग्रेस नेता डा. शेखर कोइराला, भीम पराजुली, केदार कार्की, मिनेन्द्र रिजाल, महेश आचार्य, यस्तै एमालेका गुरु बराल, लालबाबु पण्डित र जीवन घिमिरेको फोटो राखिएको छ ।

सडक निर्माणको ठेक्का लिएको कम्पनीले पनि काम नगरेको भन्दै उनीहरुले ठेकेदारको फोटो पनि टासेका छन् । भूमि इन्फास्ट्रक्चर प्रालीका अध्यक्ष शुभम बोहोरा र खुस्बु कन्ट्रक्सनका ठेकेदार दिपक पौडेल र दुश्यान्त पौडेलको पनि फोटो पनि टासेका छन् ।

काङ्ग्रेस नेता डा. शेखर कोइराला र एमालेका लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनीहरुकै क्षेत्रमा रहेको टोलमा निषेध अभियान चलेको हो ।

काङ्ग्रेस नेता केदार कार्की प्रदेशसभा सदस्य अन्र्तगत मोरङ क्षेत्र नं. ६ (ख) बाट उम्मेदवार बनेका छन् । मोरङ क्षेत्र नं. ४ (ख) मा काङ्ग्रेस नेता भीम पराजुली र एमालेबाट जीवन घिमिरे उम्मेदवार बनेका छन् ।

नेताहरुले कोसी राजमार्ग पश्चिमलाई विकासबाट पछाडी पारेका कारण बहिस्कार गरिएको संयोजक सविन दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?