+
+

सत्ता गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा होमिएको छ । तर भावी प्रधानमन्त्री घोषणा गर्न नचाहेका सत्तारुढ गठबन्धनका नेताहरु आफूलाई नै प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिरहेका छन् ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ कात्तिक ४ गते १९:४६
फाइल तस्वीर । चुनावी सभामा सत्तारुढ गठबन्धनका नेताहरु माधवकुमार नेपाल, शेरबहादुर देउवा र पुषपकमल दाहाल प्रचण्ड ।

४ कात्तिक, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेपछि नेकपा एमालेका नेताहरूले सत्ता गठबन्धनलाई बारम्बार प्रश्न गर्ने गरेका छन्, तपाईंहरूको प्रधानमन्त्रीको उम्मेदवार हो ?

सत्ता गठबन्धनलाई बारम्बार प्रश्न गर्ने एमाले नेताहरूमा अग्रपङ्तिमा पर्छन्, महासचिव शंकर पोखरेल ।

११ भदौमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावमा जाने निर्णय गरेको थियो । यो निर्णयका लागि अगुवाइ गरेका पोखरेलले सत्ता गठबन्धनका नेताहरूलाई सार्वजनिक मञ्चबाट सोध्ने गरेका छन्, ‘पाँचदलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ?’

सत्ता गठबन्धनका नेताहरूले भने जवाफ दिन रुचि नदेखाएपछि एमाले अध्यक्ष ओली आफैं अघि बढे र, प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा बस्न चुनौती दिए ।

गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सार्वजनिक अपील गरेको सत्ता गठबन्धनले न भावी प्रधानमन्त्री घोषणा गरेको छ, न चुनावी बहसमा रुची देखाएको छ ।

धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको तथा आफू र कांग्रेस सभापति देउवाबीच एजेण्डा आधारित बहस गर्न सुझाएको भन्दै उनले १ कात्तिकमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘म त यसका लागि तयार छु, देउवाजी नि ?’

गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सार्वजनिक अपील गरेको सत्ता गठबन्धनले न भावी प्रधानमन्त्री घोषणा गरेको छ, न चुनावी बहसमा रुची देखाएको छ ।

घोषणा गर्न चाहँदैन सत्ता गठबन्धन

सत्ता गठबन्धनकै तर्फबाट भावी प्रधानमन्त्री घोषणा गर्न नचाहेका नेताहरूले आफूलाई भने प्रधानमन्त्रीको दाबेदारका रूपमा भने प्रस्तुत गर्न थालेका छन् ।

कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीका लागि संसदीय दलको चुनाव लड्ने घोषणा गरेका छन् । उनले भन्ने गरेका छन्, ‘यसपालि प्रधानमन्त्रीका लागि प्रयास गर्ने हो । सकिन्छ सकिंदैन थाहा छैन ।’ थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ । उनले आफू सांसद चुनिएर आए गगनको प्रधानमन्त्रीको प्रस्तावक बन्न तयार रहेको बताउँछन् ।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्ला दिनहरूमा प्रधानमन्त्री बन्ने आफ्नो इच्छा लुकाएका छैनन् । पछिल्लो समय उनले सार्वजनिक मञ्चहरूमै कार्यकारी पदमा बसेर काम गर्ने इच्छा र साहस दुवै छ भन्ने गरेका छन् ।

कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्ला दिनहरूमा प्रधानमन्त्री बन्ने आफ्नो इच्छा लुकाएका छैनन् । पछिल्लो समय उनले सार्वजनिक मञ्चहरूमै कार्यकारी पदमा बसेर काम गर्ने इच्छा र साहस दुवै छ भन्ने गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूलाई दाबेदारका रूपमा प्रस्तुत गर्ने गरेका छन् । हिमालय टिभीलाई दिएको पछिल्लो अन्तर्वार्तामा पनि भनेका छन्, ‘अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटि आर्थिक विकासबारे प्रचण्डको के रहेछ भन्ने स्थापित गर्नुपर्छ भन्ने आकांक्षा छ ।’

नेताहरूका अनुसार एकातिर गठबन्धनमा प्रधानमन्त्रीका दावेदार धेरै छन् भने पावर शेयरिङ चुनावी परिणाममा पनि भर पर्छ । त्यसैले गठबन्धनले भावी प्रधानमन्त्री घोषणा गर्नेछन् । ‘हामी सबै एकजुट भएर संसदमा बहुमत ल्याउने गरी चुनावमा केन्द्रित छौं’ कांग्रेस वरिष्ठ नेता पौडेलले अनलाइनखबरसँग भने, ‘संसदमा अत्यधिक बहुमत ल्याउने उद्देश्य राखेका छौं । यो बेलामा अरू कुरा गर्नुभन्दा वर्तमान लक्ष्य बहुमत ल्याउने हो, त्यसमै केन्द्रित छौं ।’

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि आफूहरू अहिले चुनावमा केन्द्रित रहेको बताउँछन् । ‘प्रधानमन्त्री वा सरकार गठनको संरचनाका बारेमा गठबन्धनमा अहिलेसम्म कुनै छलफल भएको छैन’ उनले अनलाइनखबरसँग भने, ‘खालि गठबन्धनको सरकार बनाउनेमै हामी केन्द्रित छौं ।’

फेरि आलोपालो !

सत्ता गठबन्धनका नेताहरूले ‘पावर शेयरिङ’को समग्र सहमति चुनावपछि मात्रै हुने बताएका छन् ।

प्रधानमन्त्रीमा भने आलोपालो लगभग सहमति जुटेको देखिन्छ । कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्, ‘नेताहरूबीच एउटा समझदारीको आशय मैले पाएको छु ।’

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्मा पनि आलोपालो प्रधानमन्त्री हुनसक्ने बताउँछन् । चुनावपछि पहिलो सरकार कांग्रेसकै नेतृत्वमा बन्ने भन्दै उनले भने, आलोपालो गर्ने क्रममा दोस्रो पटक माओवादीबाट प्रधानमन्त्री हुनसक्छ ।’

आलोपालो प्रधानमन्त्री हुँदा कांग्रेसबाट देउवा आफैं अघि सर्न सक्छन् । तर संसदीय दलमा उनलाई चुनौती आउने पक्का छ । त्यसलाई बुझेका देउवा निकट नेता विश्वकर्मा भन्छन्, ‘आकांक्षीहरू प्रशस्त छन् तर संसदीय दलमा बहुमत ल्याउनुपर्छ । जसले धेरै सांसदलाई भरोसा दिलाउनसक्छ, उही प्रधानमन्त्री बन्छन् ।’

माओवादीमा भने प्रचण्ड निर्विकल्प हुन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठ भन्छन्, अध्यक्ष प्रचण्ड अबको सरकारको प्रधानमन्त्री सक्नुहुन्छ भन्नेमा हामी आशावादी छौं ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?