+
+

स्वदेशी बिजुलीबाटै तिहारको उज्यालो

तिहारमै पनि भारत निर्यात हुनेछ बिजुली

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ कात्तिक ६ गते १८:५८

६ कात्तिक, काठमाडौं । भोलि सोमबार (७ कात्तिक)मा लक्ष्मीपूजा । सो दिन साँझमा देशभर नै घर-घरमा झिलिमिली बत्ती बालेर दीपावली हुनेछ । त्यसदिन नेपाल विद्युत् प्राधिकरणलाई विगतको जस्तो बिजुलीको माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने होला भन्ने चिन्ता छैन । किनकि नेपालमै उत्पादन हुने बिजुलीको परिमाण दीपावलीका लागि पर्याप्त छ ।

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ दीपावली स्वदेशी बिजुलीकै खपत गरेर मनाइने बताउँछन् । ‘तिहारमा हामी नियमित ढंगले भारतमा भइरहेको बिजुली निर्यात पनि गर्छौं,’ उनी भन्छन्,’नेपालकै बिजुलीले तिहारमा माग धानिन्छ ।’ अहिले प्राधिकरणले विभिन्न आयोजनाबाट ३७४ मेगावाट बिजुली नियमित रुपमा भारतमा बेचिरहेको छ ।

लक्ष्मीपूजाकै दिनमा पनि बिजुलीको माग धान्न कुनै समस्या नपर्ने र आन्तरिक खपत भएर बिजुली बढी हुने भएकाले भारततर्फ निर्यात पनि भइरहने घिसिङको भनाइ छ । घिसिङअनुसार नेपालका सबै आयोजनाहरुले अहिले कुल २ हजार २ सय ५ मेगावाट बिजुली उत्पादन गर्न सक्छन् । अहिले नदीनालामा पानीको सतह पनि नघटेको र बाढी समेत नआएकोले विद्युतको उत्पादन अरु बेलाभन्दा राम्रो छ ।

तर, देशभित्र हुने अपत उत्पादन क्षमताअनुसार छैन । अहिले विद्युतको उच्चतम माग करिब १ हजार ८ सय मेगावाट मात्रै छ । अझ तिहारमा उद्योगधन्दा बन्द हुँदा यस्तो माग अधिकतम १४ सय मेगावाटमा सीमित हुनसक्ने प्राधिकरणको प्रक्षेपण छ ।

गत वर्ष लक्ष्मीपूजाकै दिनमा साँझमा १ हजार २७० मेगावाट बिजुली खपत भएको थियो । यसले गर्दा यसपाली पनि लक्ष्मीपूजा र तिहारका कुनै पनि दिन प्राधिकरणलाई मागअनुसार बिजुली दिन समस्या नपर्ने घिसिङको तर्क छ ।

केही वर्षअघिसम्म भने अवस्था यस्तो थिएन । लक्ष्मीपूजाकै दिनलाई नेपालमा सबैभन्दा धेरै बिजुली खपत हुने दिनको रुपमा अर्थ्याइन्थ्यो  ।

प्राधिकरणका कार्यकारी निर्देश्क घिसिङ तिहारमै दिनमा उद्योग बन्द हुने र साँझपछि अन्य व्यवसायहरु पनि बन्द हुने भएकाले बिजुलीको माग अरु दिनभन्दा कम हुने तर्क गर्छन् । ‘तिहारमा घरायसी ग्राहकको हुने खपत केही बढ्छ, तर औद्योगिक खपत ठप्पप्रायः हुने भएकाले त्यो दिनको माग धान्न कुनै समस्या हुँदैन,’ घिसिङ भन्छन् ।
गत वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सकिएर सञ्चालनमा रहेकाले प्राधिकरण मागमा पर्ने दबाबबाट मुक्त छ । निजी क्षेत्रका प्रवर्द्धकहरुका आयोजनाको निर्माण सक्ने क्रम बढ्दै गएकाले प्रणालीमा बिजुलीको पर्याप्तता बढेको घिसिङ बताउँछन् ।

‘खपत हुन नसकेको बिजुली विद्युत् निर्यात पनि गर्नुपर्छ,’ घिसिङले भने, ‘योजनाअनुसार उत्पादन र खपत बढाउँदै लैजाँदा देशमा कहिल्यै कुनै किसिमबाट लोडसेडिङ गर्ने अवस्था आउँदैन, त्यसका लागि हामी प्रणालीलाई प्रविधिमैत्री, विश्वसनीय र सुदृढ पनि बनाउँदैछौं ।’

लक्ष्मीपूजा नै उज्यालोको मोड

०७३ को लक्ष्मीपूजाको दिनपछि नेपालको विद्युत् सेवाले उज्यालोतर्फको मोड लिएको थियो । सो समयसम्म नेपालमा तिहारको उज्यालो ‘दियो’ र ‘मैनबत्ती’सँग बढी जोडिएको थियो ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ पुगेका बेला तिहारमा बिजुली बत्तीको उज्यालो दुर्लभ भइसकेको थियो । नियमित दिनहरु बिजुली नहुँदा सकसपूर्ण थिए नै, तिहारकै दिनहरुमा बिजुली बाल्न पाउनु सौभाग्य थियो । लक्ष्मीपूजाकै दिनमा नेपाल विद्युत् प्राधिकरणबाट ‘झिलिमिली बत्ती नबाल्नू’ भन्ने सूचना आउने अवस्था कम्ता काहालीलाग्दो थिएन । लक्ष्मीपूजाकै दिनमा नियमित तालिका लोडसेडिङ त हुन्थ्यो नै, बाँकी क्षेत्रमा पनि लोड धान्न नसकेर लाइन जाने समस्या व्याप्त हुन्थ्यो ।

२०७३ वर्षको लक्ष्मीपूजाको दिनमा सो दिनमा स्युचाटारस्थित विद्युत् भारप्रेषण केन्द्रको मास्टर कन्ट्रोल रुमबाट कार्यकारी उपत्यकामा लोडसेडिङ हटाउने योजनाको परीक्षण गरिएको थियो । त्यहीँ नै बिजुलीको माग र आपूर्ति पक्षको उचित व्यवस्थापन गर्न सके लोडसेडिङ अन्त्य गर्न सकिने निष्कर्ष निकालिएको थियो ।

त्यसपछिको छैठौं लक्ष्मीपूजासम्ममा नेपाल आफ्नै उत्पादनबाट देश उज्यालो बनाउने र निर्यात समेत गर्नसक्ने अवस्थामा आइसकेको छ । ९३ प्रतिशत जनता विद्युतको पहुँचममा रहेकाले धेरै नेपालीका लागि यो अर्थपूर्ण पनि छ ।

६ वर्षअघिसम्म नेपाल चरम ऊर्जा संकटमा रुमल्लिएको तथ्य नेपालीको मानसपटलबाट हटिसकेको छैन । अहिले पनि विद्युत् प्रणालीका प्रशारणलाइन, सबस्स्टेसन ट्रान्सर्फमर, पोल, बिजुलीका तार बढ्दो खपतदर अनुसार स्तरोन्नति नगरिँदा नहुँदा झ्याप्प-झ्याप्प बिजुली जाने समस्या नहटेकाले सर्वसधारणमा ‘लोडसेडिङ’को डर र आंशका हटिसकेको छैन ।अहिले खपत हुन नसकेको बिजुली निर्यात गरिरहेको प्राधिकरणलाई २ महिनापछि भारतबाटै बिजुली ल्याउनुपर्ने बाध्यता छ । नदीमा पानीको सतह घटेर उत्पादन पनि कम हुने भएकाले हिउँदयाममा नपुग बिजुली भारतथबाट आयात गर्नुपर्ने अवस्था छ ।

आगामी हिउँदयामका लागि प्रतिस्पर्धामार्फत ३६५ मेगावाटसम्म विद्युत् किन्न विद्युत् प्राधिकरणले प्रस्ताव लिएर मूल्यांकन गरिरहेको छ । १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत् आयात गर्ने प्राधिकरणको तयारी छ ।

प्राधिकरणले जेठयता १ अर्ब युनिट बिजुली भारत निर्यात गरेको छ । तर, यो वर्ष हिउँदमा भारतबाट पनि यस्तै परिमाणमा बिजुली निर्यात गर्नुपर्ने हुनसक्ने अनुमान छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?