+
+

गाईलाई मान्छेले वास्तवमै माया गर्छ ? 

वेदप्रसाद सापकोटा ‘विनोद’ वेदप्रसाद सापकोटा ‘विनोद’
२०७९ कात्तिक ८ गते १५:४७

गाई, धर्तीकै गुणी प्राणी । गाईप्रति मान्छेको हेराइ र बुझाइ बडो प्रेमिल छ । मान्छेले अरु प्राणीलाई जसरी घृणा र डाहा गर्छ, गाईलाई भने निकै स्नेह गर्छ । नेपाली समाजमा त गाईलाई श्रद्धा गर्ने परम्परा नै छ ।

गाईलाई ‘लक्ष्मी’, ‘माता’ जस्ता संज्ञा दिएर पुज्ने गरिन्छ । कसैलाई नबिझाउने, दुःख नदिने मान्छेलाई चित्रण गर्दा ‘गौप्राणी’ भन्ने गरिन्छ । गाईबाट प्राप्त हुने दूध मात्र होइन, गोबर र गौमूत्र पनि मान्छेले उपयोगी मान्छ । चाहे पूजाआजामा होस् वा मृत्यु संस्कारमा, ‘चोख्याउन’का लागि गौमूत्र प्रयोग गरिन्छ । गौमूत्रलाई ओखती मानेर खाने समेत गरिन्छ ।

तर गाईसँग मान्छेको जति हार्दिक सम्बन्ध छ, त्यति नै यो प्राणीलाई स्नेहपूर्वक स्याहारसुसार गर्छन् त ? किनभने जन्मिंदै दाम्लोले बाँधिएका गाई जीवनभर त्यसरी नै बाँधिन्छन् । एउटै थलोमा । त्यही उनको जीवन समाप्त हुन्छ ।

वास्तवमा गाईले आजीवन मान्छेकै खातिर बाँच्नुपर्छ । न उसले बाँधिएको छु भनेर विद्रोह गर्न सक्छ, न आफ्ना बच्चाको दूध अरुले खाएकोमा गुनासो गर्न सक्छ । न गोबर र स्याउँस्याउँ कीरा भएको थलामा बस्नुपरेकोमा दुःखेसो पोख्न सक्छ । न आफ्नो स्वाद अनुसार भरपेट खानेकुरा नपाएकैमा रोइकराइ गर्न सक्छ ?

यदि गाई राम्ररी गाई पाल्ने हो भने सबैभन्दा पहिले उसको खानाको बारेमा थाहा पाउनुपर्छ उसलाई कस्तो खाना मनपर्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । गाईलाई हरियो घाँस असाध्यै मनपर्छ, त्यसैले उसलाई केही समय चराउन लैजानु उपयुक्त हुन्छ ।

गुगल हेरौं वा युट्युब, गाईको सुख र सुविधाको बारेमा मान्छेले चिन्ता व्यक्त गरेर कुनै कुरा खोजेको पाइँदैन । गाईलाई कसरी स्याहारसुसार गर्ने, गाईको मनोविज्ञान कस्तो हुन्छ, गाईले कस्तो खानेकुरा स्वाद मान्छ, गाईको स्वास्थ्य कसरी राम्रो हुन्छ ? त्यति धेरै खोजिंदैन । खोजिन्छ त केवल कुन नश्लको गाईले दूध बढी दिन्छ ?

केही समयअघि एउटा मनोचिकित्सकले प्राणी र मान्छेको व्यवहारबारे एउटा लेख लेखेका थिए । उक्त लेखको सारमा भनिएको थियो, मान्छेले आफूलाई फाइदा हुने वा लाभ पुग्ने प्राणीलाई मात्र माया गर्छ । अर्थात् कुनै प्राणीलाई मान्छेले माया गर्छ भने त्यसमा उसको स्वार्थ पनि लुकेको हुन्छ । कुनै पनि प्राणीलाई मान्छेले निस्वार्थ माया दिन सक्दैन ।

वेदप्रसाद सापकोटा ‘विनोद’

गाईको सन्दर्भमा पनि यो कुरा मेल खान्छ । गाईलाई जस्तै कुकुरलाई पनि मान्छेले घरपालुवा बनाएको छ । यहाँ गाई र कुकुरको तुलना गरिएको होइन । किनभने सृष्टिको हरेक प्राणी उत्तिकै मायालु र महत्वपूर्ण हुन्छ । कुकुरले पनि यो धर्तीमा अथाह योगदान दिंदै आएको छ र दिइरहेको छ ।

तर यी दुई प्राणी पाल्ने मान्छेले दुवै प्राणीलाई एकसमान व्यवहार गर्दैनन् । तपाईं युट्युबमा खोज्नुहोस्, कुकुरलाई कसरी पाल्ने, कस्तो खाना खुवाउने, कसरी खेल्ने, कस्तो उपचार गर्ने भनेर कैयौं सामग्री फेला पार्नुहुनेछ । सहरमा कुकुरलाई उपचार गर्ने क्लिनिकदेखि आवश्यक सरसामान पाइने पसलहरु प्रशस्तै छन् । जबकि गाईलाई कसरी स्याहारसुसार गर्ने भन्ने त टाढाको कुरा, गाईलाई कस्तो रोग लागेमा के उपचार गर्ने भन्नेमा पनि चासो र सरोकार राखिंदैन ।

गाईलाई मान्छेले यसरी पाल्छन्, मानौं त्यो कुनै निर्जीव वा चेतनहीन प्राणी हो । गाईलाई कस्तो घाँसपात रुचि लाग्छ, कस्तो कुँडो वा खोले स्वाद लाग्छ, कस्तो थला एवं गोठ मन पर्छ ? खासै सोधीखोजी भएको पाइँदैन ।

गाईलाई घरभित्र वा ओछ्यानसम्मै ल्याउनुपर्छ भन्ने होइन । गाईलाई डुलाउनु, खेलाउनुपर्छ भन्ने पनि होइन । तर जसरी हामीले उनलाई गोठमा बन्धक बनाएर राखेका छौं, त्यो व्यवस्थित र गाईमैत्री हुनुपर्छ भन्ने हो ।

गाईको गोठ बनाउँदा खुला, सहज, सुकिलो, घमाइलो बनाउन सकिन्छ । मलमूत्र र त्यसको गन्ध नआउने बनाउन सकिन्छ । उन्नत र स्वाद लाग्ने घाँसपात दिन सकिन्छ । भरपेट खुवाउन सकिन्छ । निश्चित समयमा खाना र पानीको व्यवस्था गर्न सकिन्छ । झिंगा, भुसुना वा अन्य कीरा आदिबाट जोगाउन सकिन्छ ।

गोठमा गएर सुम्सुम्याउने, स्पर्श गर्ने, कन्याइदिने गर्न सकिन्छ । गोबर लागेको भागमा मनतातो पानीले पखाल्न सकिन्छ । गर्मी वा जाडो मौसममा उचित ख्याल राख्न सकिन्छ । यति गर्नलाई अतिरिक्त पैसा खर्च हुने होइन ।

एकपटक सोच्नुहोस् त, तपाईं गाई बनेर जीवनभर अरुकै लागि बाँच्नुपर्ने हुँदो हो त कस्तो हुन्थ्यो होला ? कति पट्यारलाग्दो, कति दुःखलाग्दो, कति टिठलाग्दो जीवन हुन्थ्यो होला ? आज अधिकांश गाई यस्तै अवस्थामा छन् ।

कस्तो स्याहारसुसार ?

यदि गाई राम्ररी गाई पाल्ने हो भने सबैभन्दा पहिले उसको खानाको बारेमा थाहा पाउनुपर्छ उसलाई कस्तो खाना मनपर्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ । गाईलाई हरियो घाँस असाध्यै मनपर्छ, त्यसैले उसलाई केही समय चराउन लैजानु उपयुक्त हुन्छ ।

गाईले हरियो घाँस असाध्यै मन पराउँछ । साथै कुँडो पनि गाईले रुचाउने खानामा पर्छ ।  चामलको पिठो, पिना र दाल मिसाएर घरमा बनाएको कुँडो पनि गाईले रुचाउँछ । जाडो महिनामा तोरीको पिना र गर्मीमा आलसको पिना खुवाउनु उचित हुन्छ । आलस शीतल भएको हुनाले आलसले गर्मीमा उसलाई शीतलता प्रदान गर्छ । तोरीको पिनाले गर्मी हुने भएकाले जोडेमा तातो हुन्छ ।

उसलाई राख्ने गोठ कस्तो हुनुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । गाईको गोठ सफा र सुख्खा बनाउनुपर्छ । गोठको तापक्रम गाईलाई मिल्ने खालको हुनुपर्छ । गाईलाई २८ देखि ३३ डिग्रीको तापक्रम एकदमै उपयुक्त हुन्छ । त्यसैले त्यसै अनुरूपको गोठ तयार गर्नुपर्छ । यसरी उनीहरूको स्याहारसुसार गर्दा उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र उत्पादन क्षमता पनि बढ्छ ।

कस्तो गोठ ?

गाईलाई पाल्नको लागि घाम भित्र पस्ने गोठ चाहिन्छ । गोठ चिसो भयो भने संक्रमणको जोखिम हुन्छ । सफा र सुख्खा खालको गोठ हुनुपर्छ, किनकि गाई ओभानोमा बस्न रुचाउँछ ।

दिनभरि गोठमा बाँधेको गाईलाई मन पर्दैन, त्यसैले गोठ वरपर खुल्ला चौर हुनुपर्छ कम्तीमा पनि ६ घण्टा खुल्ला छाडिदिनुपर्छ । गाईलाई स्वतन्त्रता मनपर्छ त्यसैले दाम्लोमा बाँधिरहने भन्दा पनि  खुल्ला छोड्न मिल्ने ठूलो गोठ बनाउनु उचित हुन्छ । सधैंभरि गोठमा बाँधी राख्यो भने गाईमा बाझोपनको समस्या पनि हुन सक्छ । त्यसैले कम्तीमा पनि ६ घण्टा गाईलाई खुल्ला छाडिदिनुपर्छ ।

के गर्दा गाई खुसी हुन्छ ?

गाई शान्त र अनुशासित भएकाले उसलाई मान्छेको अनुशासित व्यवहार मन पर्छ । उसको खाना खाने र दूध दिने समय निश्चित हुन्छ । त्यसैले समयमा खाना दिने र समयमा दूध दुहुने गर्नुपर्छ ।

गाईलाई मुसारेको, स्पर्श गरेको असाध्यै मन पर्छ । गाईलाई सुमधुर संगीत पनि मन पर्छ । दैनिक बिहान सुमधुर संगीत बजाउने ग¥यो भने उसलाई त्यसको बानी पर्छ र त्यो सुनेर ऊ खुसी हुन्छ र उसको उत्पादन क्षमता पनि बढ्छ ।

गाईलाई मुसार्ने, कन्याइदिने चलन त्यति हुँदैन । तर त्यस्तो स्पर्श गाईलाई एकदमै जरुरी हुन्छ । गाईलाई स्पर्श गरेको मुसारेको असाध्यै मन पर्छ ।

बिहान ४ बजे दूध दुहेको छ । त्यो दूध ८ बजे नै सकियो । एक्कासी घरमा पाहुना आए, तर चिया पकाएर दिने दूध छैन भने गएर एकछिन गाईलाई मुसा¥यो भने उसले दूध दिइहाल्छ ।  त्यसैले उसलाई स्पर्श ग¥यो भने उसले पनि माया गर्छ ।

जीवनभर दाम्लोमा

गाईलाई जन्मिएदेखि नै मान्छेले बाँधेर राख्छन् र जीवनभर बाँध्छन् । कतिपय गाई त दाम्लोमा बाँधिएकै अवस्थामा मर्छ । यो प्रवृत्ति एकदमै गलत हो । गाई एउटा स्वतन्त्र प्राणी हो, उसलाई सधैं बाँधेर राखेको भन्दा पनि खुल्ला छाडेको मन पर्छ । त्यसैले पछिल्लो समय केही गाईफर्महरूले गाईलाई सधैं दाम्लोमा बाँध्ने भन्दा केही समय भए पनि खुल्ला छोड्ने प्रवृत्ति अपनाउन थालेका छन् ।

दैनिक कम्तीमा पनि ६ देखि ७ घण्टा खुल्ला चौरमा छाडिदिनु उचित हुन्छ । यो कुरालाई किसानहरुले अवलम्बन गर्नु जरुरी छ । यसो गर्दा गाईको उत्पादन क्षमता बढ्नुका साथै ऊ खुसी हुन्छ र निरोगी पनि हुन्छ ।

मान्छेको सोचाइ र व्यवहारमा विरोधाभास

मान्छेलाई एक घण्टा एउटा कोठामा थुनेर राखिदियो भने उ कति आत्तिन्छ होला ? तर गाईलाई भने जीवनभर नै दाम्लोमा बाँधेर राख्छन् । त्यसले उनीहरू कति आत्तिन्छन् होला भनेर मान्छेले महसुस गर्न सक्दैनन् ।

गाईलाई गौमाता भनेर उसको गोबर, गहुँत र दूध सबै प्रयोग गरिन्छ । गाईप्रति धार्मिक आस्था पनि छ । गाई तिहारमा गाईलाई पूजा गरेर उसलाई मन पर्ने खाना पनि दिइन्छ । तर अरू दिन भने वास्तै नगर्ने उनीहरूलाई कस्तो खाना मन पर्छ कस्तो वातावरण मन पर्छ भनेर वास्ता नगर्ने ।

गाईलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर मान्छेलाई थाहा त छ, तर व्यवहारमा भने अपनाएका छैनन् । गाईको महत्त्व थाहा भएर पनि उसलाई गर्ने व्यवहारमा भने परिवर्तन गरेका छैनन्  हेलचेक्राइँ गरिरहेका छन् ।

(युवा कृषक सापकोटासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?