+
+

चेल्सी, पीएसजी, डर्टमण्ड र बेनफिका नकआउट चरणमा, युभेन्ट्स बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते ७:५५

९ कात्तिक, काठमाडौं । इंग्लिस क्लब चेल्सी, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), जर्मन क्लब बोरुसिया डर्टमण्ड र पोर्चुगिज क्लब बेनफिका युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खराब लयमा रहेको इटालियन क्लब युभेन्टस भने समूह चरणबाटै बाहिरिएको छ ।

चेल्सी समूह विजेता

समूह जी अन्तर्गत सोमबार राती भएको खेलमा साल्जवर्गलाई २-१ ले पराजित गर्दै चेल्लसी समूह्य विजेता बनेर अन्तिम १६ मा पुगेको हो । चेल्सीका लागि माटेयो कोभासिच र काई हाभार्ट्जले गोल गरे । साल्जरव्गका एडामुले एक गोल गरे ।

जितपछि ५ खेलबाट १० अंक जोडेर चेल्सी एक खेल अघि नै समूह विजेता बनेको छ । साल्जवर्ग ६ अंकसहित तेस्रो स्थानमा छ । यस्तै डिनामो जाग्रेवलाई ४-० ले हराएको एसी मिलानको ७ अंक छ । अब एसी मिलान र साल्जवर्गबीच हुने खेलको विजेता समूह उपविजेता बनेर अन्तिम १६ मा पुग्नेछ ।

सिटीसँग बराबरीपछि डर्टमण्ड पनि अन्तिम १६ मा

समूह जी को खेलमा म्यानचेष्टर सिटीसँग गोलरहित बराबरी खेलेको डर्टमण्ड सिटीसँगै अन्तिम १६ मा प्रवेश गरेको छ । सिटी यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो । यस्तोमा घरेलु मैदानमा सिटीलाई रोक्दै डर्टमण्डले पनि समूह चरण पार गर्‍यो । बराबरीको नतिजाले दुवै टोलीलाई फाइदा भयो । सिटी समूह विजेता र डर्टमण्ड समूह उपविजेता बन्ने पक्का भयो ।

सिटीको ११ र डर्टमण्डको ८ अंक छ । कोपनहेगनलाई ३-० ले हराएको सेभियाल भने युरोपा लिगका लागि छनोट भएको छ । सेभियाको ५ अंक छ । २ अंक मात्र रहेको कोपनहेगन भने समूह्य चरणबाटै बाहिरिएको छ ।

पीएसजीको शानदार जित, युभेन्टस बाहिरियो

लियोनल मेस्सी र किलियन एमबाप्पेले दुई दुई गोल गरेपछि मकाई हाइफालाई ७-२ ले पराजित गर्दै पीएसजी समूह एचबाट नकआउट चरणमा प्रवेश गरेको छ ।

मेस्सी र एमबाप्पेले दुई दुई गोल का लागि असिस्ट पनि गरे । नेमार र कार्लोस सोलरले एक एक गोल थपे भने सोन गोल्डबर्गले आत्मघाती गोल गरे । मकाईका लागि दुवै गोल अबदोउलाय सेकले गोल गरे ।

यसै समूहको अर्को खेलमा युभेन्टसमाथि ४-३ को शानदार जित हात पार्दै बेनफिका पनि अन्तिम १६मा प्रवेश गरेको छ ।

पीएसजी र बेनफिकाको समान ११ अंक छ । अन्तिम चरणको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

बेनफिकालाई जित दिलाउन राफा शिल्भाले दुई तथा जाआओ मारियो र एन्टोनियो सिल्भाले एक एक गोल गरे ।

युभेन्ट्सका लागि मोइस केन, अर्काडिउस मिल्लिक र वेस्टन मेकन्नीले गोल गरे ।

युभेन्ट्स र मकाई हाइफाको समान ३ अंक छ ।

रियल मड्रिडलाई हराएपछि लाइपजिगको सम्भावना

समूह एफमा जर्मन क्लब आरबी लाइपिजगले स्पानिस क्लब रियल मड्रिडमाथि ३-२ को शानदार जित निकाल्यो । यस जितपछि लाइपजिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ ।

रियल यसअघि नै नकआउट चरणमा पुगिसकेको छ ।

लाइपजिगको जितमा जोस्को गाभार्डियल, क्रिस्टोफर एनकुन्कु र टिमो वेर्नरले गोल गरे । रियलका लागि भिनिसियस जुनियर र रोड्रिगोले गोल गरे ।

जितपछि लाइपजिग ५ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ । सेल्टिकसँग बराबरी खेलेपछि साख्तर डोनेस्क ६ अंकसहित तेस्रोमा छ ।

अब लाइपजिगलाई नकआउट चरणमा पुग्न साख्तरसँग बराबरी खेल पनि पर्याप्त हुनेछ । सेल्टिक भने समूह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?