+
+

कांग्रेसको आरोप : कोभिड–१९ को मानवीय क्षतिमा ओली मुख्य जिम्मेवार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १४:२१

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाएको छ ।

शनिबार प्रकाशित चुनावी घोषणापत्रमा कांग्रेसले कोभिड–१९ बाट लाखौं संक्रमित र हजारौं नागरिकको मृत्यु भएको मानवीय संकटको घडीमा समेत ओली नेतृत्वको सरकार नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा डुबेको उल्लेख गरेको छ ।

‘जनताको स्वास्थ्य प्रति यो हदसम्म गैरजिम्मेवार र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन’, घोषणापत्रमा भनिएको छ । २०७६ चैतमा पहिलो पटक नेपालमा देखिएको कोरोना महामारीका कारण हालसम्म नेपालमा १० लाख भन्दा धेरै संक्रमित भएका छन् भने १२ हजार १९ जनाको मृत्यु भएको छ ।

‘कुशासन र भ्रष्टाचारको सबैभन्दा ज्वलन्त उदाहरण कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारी उदासिनता तथा मेडिकल सामग्री खरिदमा भ्रष्टाचार र कमिसन प्रकरण हो’, घोषणापत्रमा कांग्रेसले भनेको छ, ‘महामारी सुरु भएपछि कोभिड नियन्त्रण गरी जनताको जीवन रक्षा गर्ने सरकारको अनिवार्य प्राथमिक दायित्व थियो । तर महामारी नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा तत्कालिन सरकारले प्रारम्भदेखि नै गम्भीर त्रुटी गर्दै आयो ।’

ओली सरकारले महामारी नियन्त्रणका लागि उपयुक्त नीति र कार्ययोजना तय नगरेको र परीक्षण, उपचार, औषधी, क्वारेन्टिन र अस्पतालको व्यवस्थापन गर्न संवेदनशील नभएको कांग्रेसले आरोप लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?