+
+

एमाले गण्डकीको घोषणापत्र : अधुरा काम पूरा गर्न एमालेकै सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १९:१७

१३ भदौ, पोखरा । २०७४ सालको निर्वाचनमा नेकपा एमाले गण्डकीको घोषणापत्रअनुसार पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले २ वर्षभित्र सबैको पहुँचमा खानेपानी र बिजुली पुर्‍याउने पहिलो निर्णय गर्‍यो । पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्ने निर्णय पनि पहिलो बैठकले गरेको थियो ।

५ वर्षभित्र सबै गाउँपालिकाबाट प्रदेश केन्द्र आउने स्तरीय सडक निर्माण गर्ने, ५ वर्षभित्र क्यान्सर, मुटुरोग र मिर्गौला उपचारका लागि अत्याधुनिक सुविधासम्पन्न उपचार केन्द्रको स्थापना गर्ने, जाति जनजातिको पहिचान झल्किने गरी बहुसांस्कृतिक गाउँ निर्माण गर्ने, सरकारको कार्यसम्पादनलाई छिटो छरितो र जनताप्रति उत्तरदायी बनाउन विद्युतीय सुशासन प्रणाली सुरु गर्ने र ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमैदान निर्माण गर्ने निर्णय पनि पृथ्वीसुब्बा नेतृत्वको पहिलो बैठकले निर्णय गरेको थियो ।

तर केही सुरु नै हुन सकेनन् भने केही योजना अधुरै रहे । पृथ्वीसुब्बाको सरकार ढलेपछि पनि कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले पनि ती योजना पूरा गर्न सकेन ।

नेकपा एमाले गण्डकी प्रदेशले तिनै असफल योजनाहरु समेटेर आइतबार नयाँ घोषणपत्र जारी गरेको छ ।

पृथ्वीसुब्बा नेतृत्वको सरकारले पूरा गर्न नसकेका अधुरा योजनाहरुलाई समेत समेटेर जारी गरिएको घोषणापत्रले गठबन्धन सरकारको भने चर्को आलोचना गरिएको छ । गठबन्धन सरकारप्रति जनस्तरमा बढेको वितृष्णाले सिंगो प्रदेश संरचनामाथि नै प्रश्न खडा गर्ने अवस्था आएको एमालेको आरोप छ ।

५००० जना गरिव तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदान गरी आय तथा रोजगारसँग जोड्ने एमालेले घोषणा गरेको छ । गण्डकीमा एमालेकै सरकार हुँदा प्राथमिकतामा राखेको पर्यटनलाई पहिलो समृद्धिको आधार मानिएको छ ।

केन्द्र सरकारसँगको आर्थिक निर्भरता घटाउँदै संघीयतालाई बलियो बनाउने योजनासहित नेकपा एमाले गण्डकीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘सुशासन, समृद्ध र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार भन्ने मूल नाराका साथ एमालेले २४ पेजको प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

पोखरामा पत्रकार सम्मेलन गरी एमालेले घोषणपत्रमा सुशासन, जनताको आधारभूत आवश्यकतालाई पूरा गर्दै प्रदेशलाई समृद्ध बनाउने, विगतका अपूरा योजनालाई पूरा गर्ने विषयलाई समेठेको दावी गरेको छ ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री जगत विश्वकर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा करको दर नभई दायरा बढाएर राजश्व वृद्धि गरी प्रदेशलाई बलियो बनाउने योजना एमाले अघि सारेको छ ।

प्रदेशलाई बलियो बनाएर जनतालाई त्यसको प्रत्याभूति गराउने नीति र योजनाहरु प्रतिबद्धतापत्रमा समेटिएको प्रतिबद्धतापत्र निर्माण कमिटीका संयोजक एवं एमाले गण्डकी सचिव धनञ्जय दवाडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?