+
+

रोल्पामा ५ दिनभित्र ३ वटा गाडी दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १८:३३

१४ कात्तिक, रोल्पा । रोल्पामा ५ दिनको बीचमा तीन वटा ठूला सवारी दुर्घटना भएका छन् । तिहारको समयमा भएका यी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।

तिहारको भाइटीकाको पूर्वसन्ध्यामा कात्तिक ९ गते सुनीलस्मृति गाउँपालिका–४ सुलीचौरमा सेवा केन्द्रबाट गजुलतर्फ जाँदै गरेको जिप दुर्घटना भएको थियो । भाइटीका लगाउन हिँडेका यात्रु बोकेको उक्त गाडी सेवाकेन्द्रमा सडकबाट १०० मिटर तल खसेको थियो ।

दुर्घटनामा परी दाङ घोराही उपमहानगरपालिका– ६ वस्ने ५८ वर्षका विष्णु रिजाल र उनका दाजु ६० वर्षका नारायण रिजालको मृत्यु भएको थियो । रिजाल दाजुभाई रोल्पा सुनिलस्मृति गाउँपालिका–६ गजुलमा रहेकी आफ्नो दिदीसंग टीका लगाउन सुलीचौरबाट गजुल प्रस्थान गरेका थिए ।

१५ यात्रु सवार उक्त दुर्घटनामा १२ यात्रु घाइते

भए । दुर्घटनाका घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा उपचार गरिएको थियो । गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज वाँकेमा रिफर गरिएको थियो ।

कात्तिक १२ गते रुन्टीगढी गाउँपालिका वडा नं. ८ मेलटाकुरादेखि दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको १५ यात्रु सवार बस दुर्घटनामा पर्‍यो । दुर्घटनामा परी ८ जना घाइते भएका थिए, जसमध्ये २ जनाको अवस्था गम्भीर थियो । उनीहरुको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।

कात्तिक १३ गते शहीदमार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका २ को दहवनमा वागमारादेखि काठमाडौं जाँदै गरेको रात्रीबस दुर्घटना भएको थियो । वागमती प्रदेश ०६–००१ ख ००९ नम्वरको उक्त बस अचानक ब्रेक फेल भई भित्तामा ठोकिन गई दुर्घटना भएको थियो ।

दुर्घटनामा ७ जना घाइते भएका थिए । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार गरिएको प्रहरीले जानकारी दिएको छ ।

पुराना र थोत्रा गाडी, यात्रुको अत्यधिक चाप र साँघुरा सडकले दुर्घटना निम्त्याएको स्थानीय वासिन्दाको भनाइ छ । रोल्पामा भएका यी दुर्घटनामा यान्त्रिक खरावी र मानवीय त्रुटी देखिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रकाश भुसालले बताए ।

रोल्पामा राज्य र निजी क्षेत्रको बोलवाला र नागरिक निरिह भएको नागरिक अगुवा घनश्याम आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?