+
+

‘महापुरुष’ : बुढो मान्छेको एकालाप र ढोंगमा बाँच्नेहरु 

शिव मुखिया शिव मुखिया
२०७९ कात्तिक १५ गते ९:३२

सबै ठीकठाक चल्दै थियो ।

ब्रम्हा मुहूर्त अर्थात् सुनौलो आभा पोतेर उदाउने बिहानीअघिको क्षण झैं सबै ‘शुभ’ हुने संकेत थियो । जेठो छोरो बिदुर आफ्नो पेसा–व्यवसाय उकास्ने तरखरमा थिए । कान्छो छोरो विज्ञान स्वप्न लोकमा सयर गर्न विवाहको तारतम्य मिलाउँदै थिए । अनि पिता बालकृष्ण ?

शाखा–सन्ततिको खुसीमा आफ्ना सारा दुःखहरु बिसाएर मन बहलाउँदै थिए ।

पौराणिक शास्त्रहरुले तोकिदिएको ‘सर्वोच्च सुख’ यथास्थितिमा प्राप्त थियो । तर अनायास यस्तो तुफानी चक्र आइदियो कि सबै उथलपुथल भइदियो । बुवा, छोरा, कुटुम्ब, समाज अनौठो गोलचक्करमा फसे । अनि कसोकसो ‘आदर्श परिवार’ भताभुंग हुन लागे ।

आखिर कसले के बिराए ?

पितालाई भगवान ठान्ने छोरो बिदुरले ? पिताका आज्ञाकारी छोरो विज्ञानले ? वा जीवनको उत्तरार्द्धमा सप्तरंगी उमंग खोजिरहेका पिताले ?

कथासार

यस गञ्जागोललाई चिर्न मूलकथामा प्रवेश गर्नुपर्ने हुन्छ । अतः कथाको प्रवेशद्वार हो, ‘आदर्श नगर’ । यो मझौला कोलोनीमा बसोबास गर्नेहरुको खास इमान-इज्जत छ । किनकि आदर्शनगरका बासिन्दाले केही त्यस्ता सर्त पालना गर्नुपर्ने हुन्छ, जसले कसैको नैतिकतामा कुनै खोट नलगाइदियोस् ।

यस्तै मानमर्यादाको जलपले लपेटिएका पात्र हुन्, बालकृष्ण । श्रीमती बितेको वर्षौं भइसक्दा पनि उनले आफ्नो इमान बचाइराखे । टुहुरा छोराहरुलाई आमाको नियास्रो हुन नदिई हुर्काए, बढाए, पढाए । आफ्नो खुट्टामा उभिने भएपछि जेठो छोरोले अलग्गै घरजम गरेर बस्न थाले । आफ्नो पखेंटा पलाएपछि कान्छो छोरो अष्ट्रेलियाको ‘डिपेन्डेट भिसा’ च्यापेर घर छाड्ने तयारीमा लागे ।

बुढ्यौलीले गाँज्दै गएको बालकृष्णलाई रातहरु चिसा लाग्छन् र दिनहरु एक्लो । त्यसैले उनले उड्ने पंक्षी सुँगालाई पिंजडामा कैद गरेका छन्, कमसे कम पट्यारलाग्दो पलमा बोल्ने एउटा साथी त चाहियो ।

बालकृष्ण पिता मात्र होइनन्, माता, भान्से, सुसारे, चौकीदार, कारिन्दा सबै हुन् । यसरी बहुआयामिक कर्ममा बाँचिरहेका पितालाई छोराहरु अत्यन्तै श्रद्धा गर्छन् । कतिसम्म भने जेठो छोरोले पितामा समर्पित पुस्तक नै तयार गर्दैछन् ‘मेरा पिता ।’

अब्रोड स्टडीका लागि छोरीलाई नक्कली बिहे गराइदिएर डिपेन्डेट भिसामा अष्ट्रेलिया पठाउन लागिपरेका एक व्यक्ति बालकृष्णलाई सक्कली सम्धी बनाउन आतुर छन् । किनभने यस्तो इमानी र सुभानी ससुराले छोरा बुहारीलाई मनग्य खुसी दिन सक्छन् ।

तर आफ्नो दुःख लुकाएर सन्तानका खुसी खोज्ने यी पिताको मन कति कठ्यांग्रिएको छ ? कसैलाई सेकताप गर्ने फुर्सद छैन । आफैंभित्र रित्तिंदै र आफैंसँग बिरक्तिंदै गएका उनीसँग पनि जीवनका आशा र उल्लास बाँकी होलान् । कक्रिंदै गएको हातगोडामा तातो रगतको अंश होलान् । निचोरिएको मनमा वैंशालु रंगका अवशेष होलान् ।

त्यसैले त संयोगले भेटिएकी एक अधवैंशे महिलासँग उनी सम्बन्धको न्यानोपन खोज्न थाल्छन् । हो यही बिन्दुमा पुगेपछि यस्तो हुन्छ, मानौं उल्लासको आकाशमा अपसकुनको आँधी मडारिंदैछ ।

किन यस्तो भयो ?

बाउको बिहे

छोराको शुभ विवाह हुनै लाग्दा ‘बाउको बिहे’ देख्नुपर्ने सम्भावित भयले यहाँ सबैको रक्तचाप बढाइदिएको छ । यस्तो विरुप दृश्य कसरी हेर्ने ? इमानको चस्मा पहिरिएका छोराहरु झस्किएका छन् ।

‘तेरो बाबुको बिहे देखाइदिन्छु’, ‘बाबुको बिहे देख्लास्’ जस्ता प्रतिशोधपूर्ण गालीको मनोसामाजिक असरले मान्छे ग्रस्त छन् । त्यसैले छोराहरु आफ्ना पूजनीय पितालाई नैतिकताको खोपीमा संरक्षित गर्न चाहन्छन् । उनीहरु ठान्छन्, पिता फगत पिता हुन् ।

नातासम्बन्धको यो तानाबानाले मान्छेलाई यसरी बाँधिदिएको छ कि कतिपय भावना, चाहना, आकांक्षालाई बन्धक बनाउनु परेको छ । यस्तो एकलासे जीवनबाट मान्छे दुःखी त जरुर छन्, काँतर पनि । मान–प्रतिष्ठाको खोल ओडेर बसेको मान्छे बिद्रोह गरेर आफ्नो प्राकृतिक स्वभाव प्रकट गर्न समर्थ छैनन् । उनीहरुलाई डर छ, इमानको । उनीहरुलाई डर छ, सन्तानको । उनीहरुलाई डर छ, समाजको ।

डरैडरभित्र गुम्सिएर मान्छे हाँसीखुसी बाँचे जस्तो स्वाङ पार्छ । चलचित्रले मान्छेको यही द्वैध र विरोधाभासपूर्ण अनुहारलाई उतार्ने यत्न गर्छ ।

चुपचाप विद्रोह

८७ वर्षीया हलिउड अभिनेत्री तथा लेखिका जुडी डेन्च एक अन्तर्वार्तामा भन्छिन्, ‘रोमान्स र अन्तरंग पल जिन्दगीको एक महत्वपूर्ण आवश्यकता हो । यसको चाहना कहिल्यै पनि कम हुँदैन ।’

एक अध्ययनअनुसार यस किसिमका अन्तरंग पलले शरीरमा अक्सिटोसिन र एनडोफिर्न जस्ता हर्मोनको वृद्धि हुन्छ । अक्सिटोसिनले तनाव कम गर्छ । एन्डोफिर्नलाई प्राकृतिक पेनकिलर मानिन्छ, जसले प्रौढावस्थासँग जोडिएका कतिपय समस्या हटाउँछ ।

शरीर विज्ञान र हर्मोनहरुको यो खेललाई बलजफ्ती अस्वीकृत गर्दै आदर्शको खोक्रो भक्तिभजन गाएर हामी आफ्ना प्रौढ आमाबुवालाई पिंजडामा कैद गरिरहेका छौं । चलचित्रले हाकाहाकी यसै भन्छ ।

जीवनको स्वच्छन्द स्वभावलाई निमोठेर असंख्य आमाबुवा चिसा रातहरु गुजार्दैछन् । उदासी र एक्लोपनले सताएर कलिला नातिनातिना वा पशुपंक्षीसँग आफूलाई भुलाउँदैछन् । जीवनसाथी गुमाएपछिको त्यो पट्यारलाग्दो जिन्दगीलाई स्लिपिङ ट्याबलेट अनि उच्च रक्तचाप र मधुमेहको चक्कीले भरथेग गर्दैछन् ।

के उनीहरुले जीवन यसरी नै रित्याउनुपर्ने हो ?

चलचित्रले यहाँ आत्मसर्मण एवं लाचारीको भाषा बोलेर आँसुको मोलतोल गर्दैन । बरु लड्दै–जुध्दै कथित आदर्शको पर्खाल भत्काउन भन्छ र शाश्वत जीवनको व्याकरण बदल्न भन्छ ।

समाजको आँखामा आफूलाई ‘नैतिकवान्’ देखाउन जसरी आदर्शको ढोंग ओढ्छ, त्यसले मान्छेलाई आफ्नै ‘मालिक’ बन्नबाट  निषेध गरिरहेको सत्य यहाँँ उद्घाटित भएको हुन्छ । ‘महापुरुष’ले मानवीय प्रवृत्ति र चरित्रको यो तहसम्म पुगेर विद्रोहको पार्श्वध्वनि गुञ्जाइदिन्छ ।

चलचित्र हेरिरहँदा धेरैको मन भक्कानिन्छ, एक्लै पिंढीमा टोलाइरहेका वा कुनै ओसिलो कोठामा बसिरहेका आफ्ना एक्ला बुवा-आमाको यादले ।

एकल पिता (माता)को यो कथा जति मर्मस्पर्शी छ उत्तिकै संवेदनशील पनि । निर्देशक प्रदीप भट्टराईले मिजासिलो अनि रसिक शैलीमा एउटा जटिल मुद्दालाई दृश्यभाषामा रुपान्तरण गरेका छन् । यसलाई थप बलियो बनाउन प्रकाश, ध्वनि र विम्बको प्रयोग गर्ने जमर्को गरेका छन् ।

कथाको अन्तर्य र अन्तर्द्वन्द्व

आवरणमा जे देखिन्छ त्यो भन्दा फरक धरातलमा यसको कथा निर्माण भएको छ । झट्ट हेर्दा यो कमेडी चलचित्र जस्तो लाग्छ, तर यहाँ हाँसोठट्टा भन्दा पनि मान्छेको जिजीविषा र भावनात्मक द्वन्द्व चर्को छ ।

झट्ट हेर्दा लाग्छ यहाँ पिता र पुत्रबीच कलह छ । तपाईं कुन कित्तामा उभिएर हेर्नुहुन्छ, त्यसैले सही र गलत  निर्धारण गर्छ । निर्देशक प्रदीप भट्टराईले कसैलाई नायक र कसैलाई खलनायक घोषित गरेका छैनन् । सबै पात्र आफ्नो ठाउँमा ठिकठाक लाग्छन् । यद्यपि मान्छेको आत्मकेन्द्रित प्रवृत्ति र मानमर्यादाको भोकले यहाँ भयानक द्वन्द्व पैदा गरेको छ ।

‘दुनियाँले के भन्ला’ भन्ने मनोसामाजिक भयले मान्छेलाई यस्तो कठपुतली बनाइदिएको छ, उनीहरु आफूलाई हेरेर होइन अरुहरुलाई हेरेर कुनै पनि कुराको निर्णय लिन्छन् । यसले अन्ततः मान्छेको प्राकृतिक एवं जैविक आवश्यकताहरुलाई थुनछेक गर्छ ।

प्रदीप भट्टराईले हास्यको आवरणमा समाजको यति गहकिलो मुद्दालाई सरसपूर्ण ढंगले छेडिदिएका छन्, जसले धेरैको हृदयमा कम्पन ल्याइदिन्छ ।

प्रस्तुतीकरण

कहिले हँसाउँदै, कहिले विस्मात बनाउँदै, कहिले दुःखी तुल्याउँदै चलचित्रले दर्शकसँग भावनात्मक अन्तर्क्रिया गरिरहन्छ ।

यो वर्तमान युग र समाजको साक्षात् कथा हो । अतः चलचित्रले हरेक दर्शकलाई उनीहरुकै कथा भनिरहेको जस्तो लाग्छ । संवादहरु रसिला र चोटिला छन् । अभिनय समग्रमा कृत्रिम छैनन् । निर्देशकले कथा भन्नका लागि जति धेरै तानाबाना बुनेका छन्, त्यस अनुरुप दृश्यांश खिप्ने र त्यसलाई कलात्मक फ्रेममा पोत्ने काममा जाँगर चलाएका छैनन् । ध्वनि, प्रकाश संयोजनमा खास नवीनता छैन । कथालाई यति धेरै तन्काएर भन्दा पनि खँदिलो बनाएर यसको स्वाद दोब्बर बनाउन सकिने ठाउँ छन् ।

फिल्म : महापुरुष

जनरा : कमेडी, फेमिली ड्रामा

निर्देशक : प्रदीप भट्टराई

कलाकार : हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, सिरु विष्ट, रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली आदि ।

छायांकन : दीपक बज्राचार्य

सम्पादन  : मित्र गुरुङ

अवधि : २ घण्टा ३१ मिनेट

लेखकको बारेमा
शिव मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?