+
+

पर्साको ठोरीमा स्नातक तह सञ्चालनको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते ११:१६

१८ कात्तिक, वीरगञ्ज । पर्साको ठोरीमा स्नातक तहको अध्ययन हुने भएको छ । सदरमुकाम वीरगञ्जबाट ६० किलोमिटर टाढा रहेको ठोरीमा स्नातक तहको पढाइ सुरु गर्न लागिएको हो ।

१४ वटा पालिका रहेको पर्सामा हालसम्म वीरगञ्ज महानगरपालिका र पर्सागढी नगरपालिकामा मात्रै स्नातक तहको अध्यापन हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले २०६९ सालमा शिक्षाशास्त्र संकायमा स्नातक तह सञ्चालन गर्न सम्बन्धन दिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए । त्रिविबाट ०६९ सालमै अनुमति पाएपनि यस वर्षदेखि भने कक्षा सञ्चालन गर्न लागिएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयले आंगिक र सम्बन्धन प्राप्त सबै शैक्षिक संस्थालाई मंसिर १८ गतेदेखि स्नातक तहको अध्यापन सुरु गर्न निर्देशन दिइसकेको छ ।

विजयबस्ती क्याम्पसको भवन नभएकाले तत्कालका लागि विजयबस्ती माध्यमिक विद्यालयमा नै कक्षा सञ्चालन गरिने उनले बताए ।

‘विजयबस्ती क्याम्पसको स्वामित्वमा भवन लगायत भौतिक पूर्वाधार छैन, आफ्नै भवन नहुँदासम्म विद्यालय सञ्चालनमा बाधा नपर्नेगरि विजयबस्ती माविमा नै कक्षा सञ्चालन गर्छौं’, उनले भने ।

यसवर्ष शिक्षा शास्त्र संकाय अन्र्तगत अनिवार्य विषयहरु नेपाली, अंग्रेजी सहित स्वास्थ्य, जनसंख्या विषयका कक्षा सञ्चालन हुने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

व्यवस्थापन खर्च जुट्छ कसरी ?

स्नातक तहमा विद्यार्थी भर्ना गर्ने तयारी भएसँगै सञ्चालन खर्चको व्यवस्थापनलाई लिएर भने चिन्तन शुरु भएको छ । ग्रामीण क्षेत्रमा क्याम्पस सञ्चालन खर्च कसरी जुटाउने भनेर बहस सुरु भएको हो ।

कक्षा सञ्चालनका लागि वार्षिक २०/२१ लाख खर्च हुने अनुमान क्याम्पस प्रशासनले गरेको छ । प्राध्यापक व्यवस्थापन, उनीहरुको तलब भत्ता शीर्षकमा सबैभन्दा धेरै खर्च हुने क्याम्पस प्रमुख गोपिलाल श्रेष्ठ बताउँछन् ।

तत्कालका लागि क्याम्पसको आन्तरिक आम्दानी नै क्यापस सञ्चालनको आधार हुने उनको भनाइ छ । विद्यार्थीसँग भर्ना शुल्क ५ हजार र मासिक शुल्क १५०० रुपैयाँ लिने उनी बताउँछन् । यसवर्ष ५० जनासम्म विद्यार्थी भर्ना हुनसक्ने अनुमान गरिएको छ ।

जनशक्ति व्यवस्थापनका लागि ठोरीमा सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षकलाई प्राथमिकतामा राखिएको छ । सम्भव भएसम्म स्थानीय जनशक्तिमार्फत पठनपाठन गराउने क्याम्पस प्रमुख श्रेष्ठले जानकारी दिए ।

विद्यार्थीसँग लिने शुल्क तथा स्थानीय सरकारसँग समन्वय गरेर आर्थिक व्यवस्थापन गर्ने लक्ष्य राखिएको क्याम्पस सञ्चालनका लागि सक्रिय अभियन्ता सन्तोष श्रेष्ठले बताए ।

ठोरीको शैक्षिक इतिहासमा निकै महत्व राख्ने स्नातक तहको पढाइका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने श्रेष्ठको धारणा छ ।

क्याम्पस सञ्चालनका लागि तत्काल आवश्यक डेस्क, बेन्च, टेबल, दराज लगायत फर्नीचरका सामग्रीहरु ठोरी गाउँपालिका कार्यालयले उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षदेखि क्याम्पसका लागि पनि बजेट विनियोजन गर्ने ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।

क्याम्पस नहुँदा त्यस क्षेत्रका बासिन्दा सदरमुकाम वीरगञ्ज, चितवनको माडी, नारायणघाट, बाराको सिमरा, मकवानपुरको हटौंडा लगायतका सहरमा अध्यापनका लागि जानुपर्ने छ । खर्च गर्न नसक्ने अभिभावकले आफ्ना छोराछोरीको पढाइ बीचमै रोक्ने गरेका थिए ।

क्याम्पस सञ्चालनपछि ग्रामीण क्षेत्रमा रहेर उच्च शिक्षा प्राप्त गर्ने अवसरबाट बन्चित विद्यार्थीले लाभ लिनेछन् । ठोरी, जीराभवानी लगायत ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले लाभ लिन सक्ने स्थानीय शिक्षक माधव तिमल्सिनाले बताए ।

ठोरीमा मात्रै ५ ओटा विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ । यी विद्यालयहरुबाट १२ कक्षा उत्तीर्ण हुने कतिपय विद्यार्थी आर्थिक अभावकै कारण स्नातक तह अध्ययन गर्नबाट वञ्चित हुने गरेका छन् । ठोरी गाउँपालिकाले १२ कक्षासम्म निशुल्क पढाउने व्यवस्था गरेको छ । आर्थिक अभावले क्याम्पस जान नसक्ने विद्यार्थीका लागि विजयबस्ती क्याम्पसले राहत दिने शिक्षक तिमल्सिनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?