नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्रमुखको जिम्मेवारीमा पुगेको ३२ वर्ष भइसक्यो । कास्कीको ढिकुरपोखरीमा २०११ सालमा जन्मिएका उनले १७ वर्षको हुँदा २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनी ३५ वर्ष कै उमेरमा तत्कालीन नेकपा मशालको महामन्त्री बनेका थिए ।
यी सब पहिचान बन्नुअघि करिब ४६ वर्ष पहिले प्रचण्डले गोरखालाई कर्मथलो बनाएका थिए । कृषिमा स्नातक गरेपछि प्रचण्ड गोरखा, आरुघाटको भीमोदय माविमा शिक्षक बन्न पुगेका थिए । त्यहाँ उनी विज्ञान, गणित र अंग्रेजी पढाउँथे ।
शिक्षणसँगै राजनीतिक अभियानका लागि स्थानीयलाई कम्पोष्ट मल बनाउन र चर्पी प्रयोग गर्न सिकाइ हिंड्दा प्रचण्डले दुई पटक प्रधानमन्त्री बनिसकेपछि चुनाव जित्नैका लागि पुनः यही भूगोलमा फर्कनुपर्छ भन्ने सायदै सोचेका थिए होलान् । आगामी ४ मंसिरमा हुने आम निर्वाचनमा गोरखा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् उनी ।
अनुकूलता खोज्दै गोरखा
२०४३ सालमा मोहन वैद्य (किरण) मशालको नेतृत्वमा थिए । पञ्चायती व्यवस्थाले घोषणा गरेको निर्वाचन बिथोल्न उनको नेतृत्वमा भएको प्रहरी चौकी आक्रमण प्रयास असफल भयो । ‘सेक्टर काण्ड’ भनिने त्यो घटनालाई प्रचण्डले पार्टी प्रमुख हुने अवसर बनाए ।
त्यसयता उनी निरन्तर नेतृत्वमा छन् । आठौं महाधिवेशनमा सुनिएको ‘एक नेतृत्व, दुई कार्यकाल’ भन्ने मसिनो स्वर अहिले माओवादीभित्र हराएको छ । प्रचण्ड अझै ८–१० वर्ष नेतृत्वमा रहने अभिव्यक्ति दिइरहेका छन् । र, तेस्रोपटक प्रधानमन्त्री हुने इच्छामा डोरिएर उनी गोरखा २ मा खटिइरहेका छन् ।
‘गोरखा आउन पाएकोमा एकदमै खुसी छु, गौरवान्वित छु’, १३ कात्तिकमा आफ्नो नयाँ निर्वाचन क्षेत्र अजिरकोटको भच्चेकमा आयोजित चुनावी कार्यक्रममा प्रचण्डले भने, ‘अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो, यहाँ आउँदा एक ढंगले ‘रिल्याक्स’मा छु ।’
नेतृत्वको आकांक्षा राख्दा प्रचण्डबाट कारबाही परेर पार्टी छाडेका डा. बाबुराम भट्टराई अहिले उनै प्रचण्डका प्रमुख सहयोगी बनेका छन् । प्रतिकूलतालाई अनुकूलतामा बदल्ने प्रचण्डको खुबी यसले देखाउँछ ।
लामो राजनीतिक जीवनमा उनले ६ पटक त आफ्नो नाम नै फेरे- छविलाल दाहाल, पुष्पकमल दाहाल, कल्याण, विश्वास, निर्माण र प्रचण्ड । त्यस्तै, पार्टीको नाम पनि ६ पटक फेरे । यसबीचमा आधा दर्जन दलीय गठबन्धनमा सहभागी भए ।
रोल्पा हुँदै गोरखा पुग्दा उनले पाँच पटक निर्वाचन क्षेत्र फेरेका छन् । प्रचण्डको यस्ता क्रियाकलापलाई विरोधीहरूले अस्थिर चरित्रको रूपमा चित्रित गरे पनि उनी स्वयं भने यसलाई आफ्नो गतिशीलताको रूपमा व्याख्या गर्छन् ।
चुनावी अंकगणित
नेपाली कांग्रेस, गोरखाका एक नेता यसपटक प्रचण्डको चुनावी अनुकूलताबारे व्यंग्य गर्दै भन्छन्, ‘गठबन्धनका हामी स्वर्गबाट पनि मतदातालाई बोलाउँछौं ।’
डा. भट्टराई भने चुनावी सभाहरूमा प्रचण्डलाई ‘भावी प्रधानमन्त्री’को रूपमा चित्रण गरिरहेका छन् । सत्ताको चाबीको लागि अधिक सुरक्षित निर्वाचन क्षेत्र खोज्दै हिंड्ने प्रचण्ड सही ठाउँमा आइपुगेको गोरखाको चुनावी अंकगणितले पनि बताउँछ ।
गत स्थानीय चुनावमा गोरखा–२ मा वडाअध्यक्षहरूले पाएको मतको अवस्था हेर्दा प्रचण्ड अनुकूल अवस्थामा देखिन्छन् । उक्त चुनावमा माओवादी केन्द्रका वडाअध्यक्षहरूले २२ हजार २५० र कांग्रेसका उम्मेदवारहरूले २१ हजार १३६ मत ल्याएका थिए ।
त्यस्तै, नेकपा एमालेले ७ हजार ९२६ र जनता समाजवादी पार्टी (जसपा)ले ७ हजार ५०४ पाएका थिए । जसपाको मत अहिले डा. बाबुराम भट्टराईसँगै सत्तारूढ गठबन्धनतिरै छ । चुनावी अंकगणितले प्रचण्डलाई अत्यधिक सहज अवस्थामा उभ्याइदिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4