+
+

प्रधानमन्त्री कप- गण्डकीलाई हराएपछि आर्मीको सेमिफाइनल सम्भावना बलियो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १६:२१

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मीले गण्डकी प्रदेशमाथि ६९ रनको फराकिलो जित रचेको छ । लगातार दोस्रो जितसँगै आर्मीले समूह ‘ए’बाट सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ ।

पाँच टोली सम्मिलित समूहमा २ जितसँगै ४ अंक जोडेको आर्मी तेस्रो स्थानमा छ । चार खेलबाट ५ अंकसहित गण्डकी दोस्रो स्थानमा छ भने ७ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

यो समूहमा मधेश प्रदेश र कर्णाली अहिलेसम्म जितविहीन छन् । कर्णालीले प्रदेश १ सँग र आर्मीसँग खेल्न बाँकी छ । सेमिफाइनलमा पुग्नका लागि आर्मीले कर्णालीलाई हराउनै पर्नेछ । सो खेलमा कर्णाली विजयी भएमा गण्डकी सेमिफाइनलमा पुग्नेछ ।

१६६ रनको लक्ष्य पछ्याएको गण्डकीलाई ३३.२ ओभरमा ९६ रनमा अलआउट पार्ने क्रममा आर्मीका स्पिनर सुशान भारीले ५ विकेट लिए । उनले ९ ओभरमा २ मेडन राख्दै १४ रनमात्र खर्चिए । साहव आलम र कुशल मल्लले २–२ तथा वित्रम शोवले १ विकेट लिए ।

गण्डकीका लागि ओपनर ब्याटर समीर कडेलले सर्वाधिक ३९ रन बनाए । अर्का ओपनर ब्याटर अर्जुन कुमालले १४ रन बनाए । त्यसबाहेक कप्तान विपिन खत्रीले १९ रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

समीर र अर्जुनले ४१ रनको सुरुवाती साझेदारी गरेका थिए । २३.२ ओभरमा ५८ रन बनाउँदा गण्डकीले ६ विकेट गुमाइसकेको थियो । ओपनर समीरसँग मिलेर विपिनले सातौं विकेटका लागि ३८ रनको साझेदारी गरे । ३१.३ ओभरमा समीर आउट हुँदा गण्डकीको स्कोर ९६–७ थियो । दुई ओभरको अन्तरमा बाँकी तीन विकेट गुमाउँदा उसले एक रन पनि थप्न सकेन । गण्डकीका पाँच ब्याटरले रनको खाता खोल्नै सकेनन् ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ५४ रन बनाए । खराव सुरुवात गरेको आर्मीले २०.२ ओभरमा ५४ रन बनाउँदा सुरुवाती ६ विकेट गुमाइसकेको थियो । ओपनर अर्जुन साउद (१३) र अनिल मण्डल (२६)ले ४३ रनको सुरुवाती साझेदारी गरे पनि आर्मीका मध्यक्रमको प्रदर्शन कमजोर रह्यो ।

तर, सातौं विकेटका लागि कप्तान विनोद र भीम सार्कीले ७९ रनको अर्धशतकीय साझेदारी गरेपछि आर्मीले सम्मानित योगफल खडा गरेको हो । प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा विनोदले ७९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । भीमले ३९ रन बनाए ।

बलिङमा गण्डकीका कप्तान विपिनले ४ विकेट लिए । कमल परियारले २ विकेट लिए ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?