+
+

त्रिपाठीलाई फेरि पनि एमालेकै भर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते ११:१५

२१ कात्तिक, काठमाडौं । संसदीय राजनीतिका चर्चित खेलाडी हुन् हृदयेश त्रिपाठी । ०७० को दोस्रो संविधानसभा निर्वाचनबाहेक ०४८ यता सबै चुनाव जितेका त्रिपाठीको हक्की स्वभावसामू बेलाबेला सभामुखको पनि केही सीप लाग्दैन ।

तर उनी जति पार्टी फेर्दै जान्छन्, त्यति कमजोर बन्ने गरेको छ । ०७४ र यो आम चुनावलाई हेर्ने हो भने उनी नेकपा एमालेमा निर्भर हुन थालेका छन् भन्दा फरक पर्दैन ।

त्रिपाठीलाई राष्ट्रिय राजनीतिमा चिनाएको गजेन्द्र नारायण सिंह र नेपाल सद्भावना पार्टीले हो । तर संसदीय भूमिकामा स्थापित गरेको चाहि एमालेले हो भन्दा फरक पर्दैन । ०५१ को चुनावमा कुनै पनि पार्टीले बहुमत नल्याएपछि ६ सिटको सद्भावना पार्टी सत्ता राजनीतिमा शक्तिशाली बन्यो ।

अल्पमतको सरकार बनाएको एमालेले त्रिपाठीलाई संसदको सार्वजनिक लेखा समितिको सभापति बन्न सघायो । त्यही बेला हो लाउडा, धमिजा विमान काण्डदेखि थुप्रै भ्रष्टाचारको मुद्दाले लेखा समितिमा प्रवेश पाएको ।

एमाले सरकार ढलेसँगै त्रिपाठीको सभापति पद पनि गयो । तर त्यसयता उनी पटक पटकमन्त्री भइरहे । पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला उनी मंसिर २०७७ मा स्वास्थ्य तथा जनसख्या मन्त्री भएका थिए ।

२०१६ असारमा नवलपरासीमा जन्मिएका त्रिपाठी हाल प्रतापपुर नगरपालिका–६, नवलपरासी पश्चिमका स्थायी बासिन्दा हुन् ।

उनी २०३३ सालमा विद्यार्थी संगठनबाट राजनीतिमा आए । एक समय उनी प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (रायमाझी समूह) को केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । राजनीतिशास्त्रमा स्नातक त्रिपाठीले राजनीतिक आन्दोलनका क्रममा चार वर्ष ७ महिना जेल जीवन बिताए । केही वर्ष निर्वासनमा पनि गए ।

उनी २०४३ सालमा भएको राष्ट्रिय पञ्चायतको अन्तिम निर्वाचनमा उठेर पराजित भए । २०४७ पछि उनी नेपाल सद्भावना पार्टीमा सक्रिय रहे । केही समय सद्भावना पार्टीको प्रवक्ता र आठ वर्ष महासचिव रहेका उनी नेपाल गणतन्त्र भएसँगै तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)को उपाध्यक्ष हुन पुगे ।

त्यो बेला गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको मन्त्री पद त्यागेर त्रिपाठी तमलोपामा गएका थिए । त्यसपछि उनी मधेशकेन्द्रित दलहरूको एकताबाट बनेको राष्ट्रिय जनता पार्टी (राजपा)को सहअध्यक्ष बने ।

त्रिपाठी पाँचपटक प्रत्यक्ष निर्वाचित सांसद बनिसकेका छन् । उनी नवलपरासीको फरक क्षेत्रबाट २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । २०६४ सालमा नवलपरासीबाटै पहिलो संविधानसभामा पुगेका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी दलविहीन थिए । राजपा छाडेका उनले स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । त्यही बेला देशभर वाम गठबन्धन गरेको एमाले र माओवादीले नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ मा उनलाई समर्थन गर्ने भयो । त्रिपाठी एमालेको चुनाव चिह्न लिएर उम्मेदवार भए ।

ओली सरकारमा मन्त्री भएका उनले एक वर्ष अगाडि आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी बनाएका छन् । यो पार्टीले देशभर १५ क्षेत्रमा उम्मेदवार उठाएको छ । सुरुमा उनले आफ्नै उम्मेदवार उठाएको एमालेले उम्मेदवारी फिर्ताको अन्तिम समयमा आएर त्रिपाठीलाई समर्थन गर्ने निर्णय ग¥यो ।

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका अर्बपति विनोद चौधरीसँग प्रतिस्पर्धा गरिरहेका त्रिपाठीको हार जित एमालेबाट आउने भोटमा निर्भर हुने देखिन्छ ।

चुनावी अंकगणित

जनता प्रगतिशील पार्टीले नवलपरासी–१ मा गत स्थानीय तह चुनावमा जम्मा ४ हजार ६८१ भोट पाएको छ । तर उनलाई साथ दिएको एमालेको २६ हजार ७७९ म छ भने एमाले गठबन्धनमा रहेको जसपाको ३ हजार ५९९ मत छ ।

सबभन्दा धेरै ३० हजार ३४२ मत पाउने चाहिं नेपाली कांग्रेस छ । त्यस्तै, माओवादी केन्द्रले ५ हजार ३४७, एकीकृत समाजवादीले १ हजार १४१ र राष्ट्रिय जनमोर्चाले २६० मत पाएका छन् । यसअनुसार नवलपरासी–१ मा सत्ता गठबन्धनसँग ३७ हजार ७२ मत छ । पहिलोपटक प्रत्यक्ष चुनाव लड्न लागेका अर्बपति चौधरीलाई २०४८ सालपछि एकपटक मात्र पराजय व्यहोरेका त्रिपाठीले रोक्न सक्छन् कि चौधरीले त्रिपाठीलाई रोक्छन्, आमचासो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?