+
+

दक्षिण अफ्रिकालाई स्तब्ध पारेको नेदरल्याण्ड्स बन्यो भाग्यमानी, अबको टी-२० विश्वकपमा छनोट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १९:४६

२० कात्तिक, काठमाडौं । नेदरल्याण्ड्स सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी-२० विश्वकपमा सिधै छनोट भएको छ ।

हाल अष्ट्रेलियामा भइरहेको टी-२० विश्वकपको शीर्ष ८ मा रहँदै एसोसिएट राष्ट्र नेदरल्याण्ड्स सिधै छनोट भएको हो । आइतबार सुपर १२ अन्तर्गत ग्रुप टु को खेलमा नेदरल्याण्ड्सलाई दक्षिण अफ्रिकामाथि अप्रत्यासित जित निकाल्दै दक्षिण अफ्रिकालाई विश्वकपकबाटै आउट गरेको थियो ।

आइतरबारकै अन्य दुई खेलमा पाकिस्तानले बंगलादेशलाई र भारतले जिम्बावेलाई पराजित गरेपछि नेदरल्याण्ड्स ६ टिम रहेको ग्रुप टु मा बंगलादेश र जिम्बावेभन्दा अघि रहँदै चौथो भयो । यसको अर्थ नेदरल्याण्ड्स समग्रमा शीर्ष ८ भित्र पर्न सफल भयो । ग्रुप वानबाट न्युजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया र श्रीलंका तथा ग्रुप टु बाट भारत, पाकिस्तान, दक्षिण अफ्रिकासँगै नेदरल्याण्ड्सले २०२४ को टी-२० विश्वकपमा सिधै स्थान पक्का गरेका हुन् ।

आयोजकद्वय वेष्ट इन्डिज र अमेरिका आयोजकको हैसियतमा सिधै छनोट भइसकेका छन् । वेष्ट इन्डिज जारी विश्वकपमा सुपर १२ मा समेत पुग्न सकेन भने अमेरिका यस विश्वकपमा छनोट भएको थिएन ।

आयोजक दुई र टी-२० विश्वकपको शीर्ष ८ गरी १० टिम अर्को टी-२० विश्वकपका लागि छनोट भइसकेका छन् ।

आईसीसीले २०२४ को टी-२० विश्वकपमा २० टिम सहभागी हुने निर्णय गरिसकेको छ । अष्ट्रेलियामा जारी विश्वकपपछि छनोट भइसकेका दश बाहेक वरीयतामा माथि रहने अन्य दुई टिम पनि सिधै अर्को टी-२० विश्वकपमा छनोट हुनेछ । अहिलेको अवस्थामा अफगानिस्तान र बंगलादेश वरियतामा अघि छ ।

बाँकी ८ टिम भने छनोट मार्फत विश्वकपमा पुग्नेछन् । यस बाहेक टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्डले अर्को विश्वकपका छनोट खेल्नुपर्नेछ । यस्तै अष्ट्रेलियामा विश्वकप खेलेका एसोसिएट राष्ट्रहरु स्कटल्याण्ड, युएई र नामिबियासहित नेपाल, ओमान, पपुवा न्यु गिनी जस्ता टिमहरुले भने अब क्षेत्रीय छनोट खेल्नुपर्नेछ ।

आगामी टी-२० विश्वकपका लागि आईसीसीले ग्लोबल छनोट नगरी क्षेत्रीय स्तरमा छनोट प्रतियोगिता गर्ने शीर्ष टिमहरुलाई छनोट गर्ने निर्णय गरेको छ ।

एसिया, युरोप र अफ्रिकाबाट दुई-दुई तथा अमेरिका र ओसियाना क्षेत्रबाट एक-एक गरी कूल ८ टिम छनोट खेल्दै २०२४ को टी-२० विश्वकपमा पुग्नेछन् । नेपाल टी-२० विश्वकपमा छनोट हुन एसियामा शीर्ष दुईमा पर्नुपर्नेछ । एसियामा नेपालसहित युएई, ओमान, हङकङ, सिंगापुर, बहराइन लगायत टिमले छनोट खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?