
काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले यस वर्षका दुई चर्चित हलिउड सुपरहिरो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको छ ।
हलिउड रिपोर्टर म्यागजिनका अनुसार चीनले शुक्रबारदेखि प्रदर्शनमा आएको मार्भल स्टुडियोको फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक आडम’लाई रोक लगाएको हो ।
ड्वेन जोन्सन स्टारर ब्ल्याक आडमलाई गत साता नै चीनले रोक लगाएको हो । फिल्मका एक अभिनेताले निर्वासित तिब्बती धार्मिक नेता दलाई लामालाई भेटेको खबर बाहिरिएपछि चीन क्रुद्ध भएको हो ।
यी दुई ठूला फिल्मलाई रोक लगाइएपछि हलिउड स्टुडियोले लाखौं डलर रकम गुमाएको अनुमान गरिएको छ । कडा सेन्सर नीति अँगालेको चीनले पछिल्लो समय शून्य कोभिड नीतिलाई कारण देखाउँदै बजारलाई पूर्ण रुपमा खोलेको छैन ।
सन् २०१८ मा रिलिज भएको ‘ब्ल्याक प्यान्थर’को पहिलो श्रृंखलाले चीनमा १०५ मिलियन डलर कमाएको थियो । ड्वेन जोन्सन स्टारर ‘स्काइक्रापर’ले ९८ मिलियन डलर र ‘हब्स एण्ड स’ले २०१ मिलियन डलर कमाएका थिए ।
हलिउड रिपोर्टर म्यागजिन ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’ र डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक आडम’लाई चिनियाँ अधिकारीले प्रदर्शनको अनुमति दिने सम्भावना निकै न्यून रहेको उल्लेख गरेको छ ।
खुला समलिंगी पात्रको चित्रणलाई कारण देखाउँदै चीनले वाकान्डा फरेभरलाई रोक लगाएको अनुमान छ । यसअघि अर्को सुपरहिरो फिल्म थोर : लभ एण्ड थन्डर’लाई गे चरित्र चित्रणको कारण रोक लगाएको उल्लेख थियो ।
वाकान्डा फरेभरमा पनि मिचेला कोएल र फ्लोरेन्स कुसुम्बाबीच समलिंगी रोमान्सको चित्रण गरिएको छ । चिनियाँ बजारबाहेक पनि वाकान्डा फरेभरले अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गर्ने प्रक्षेपण छ ।
प्रतिक्रिया 4