+
+
उम्‍मेदवार प्रोफाइल :

गोकर्ण विष्ट : पूर्वसहकर्मीलाई रोक्दै चौथो जित निकाल्ने चुनौती

अनिल खत्री अनिल खत्री
२०७९ कात्तिक २८ गते १२:५२

नेकपा एमालेका सचिव गोकर्ण विष्टले यसअघि गुल्मी-२ बाट चार चुनाव लडेर तीन वटामा विजयी भए । यसपटक पाँचौं निर्वाचनमा उनी पूर्वसहकर्मी रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धामा छन् ।

गुल्मीकै इस्मामा जन्मिएका ५७ वर्षीय विष्ट पारिवारिक पृष्ठभूमिका कारण सानैदेखि वाम राजनीतिमा आकर्षित भए । राजनीतिमा उनको प्रवेश भने २०३६ सालको विद्यार्थी आन्दोलनबाट भयो ।

उनी अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै गुल्मी अध्यक्ष बने । २०५० सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसचिव र २०५६ सालपछि दुई कार्यकाल अध्यक्ष बने । त्यसपछि एमाले वागमती अञ्चल कमिटीहुँदै केन्द्रीय प्रचार विभाग प्रमुख, संगठन विभाग प्रमुख र युवा संगठनको केन्द्रीय विभाग प्रमुख बने ।

२०६५ सालमा पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएसँगै युवा तथा विद्यार्थी विभाग प्रमुख, बुद्धिजीवी विभागको इञ्चार्जको जिम्मेवारी पाएका उनी २०७१ मा केन्द्रीय सचिव बने । कानुन र व्यवस्थापन विषयका स्नातक विष्ट राजनीतिक आन्दोलनका क्रममा पटक–पटक धरपकडमा परे ।

२०५६ यता सबै चार वटा राष्ट्रिय निर्वाचन लडेका विष्ट २०६४ मा भने पराजित भए । यो अवधिमा उनी दुईपटक क्याबिनेट मन्त्री भए । २०७४ सालमा श्रम तथा रोजगार मन्त्री रहँदा उनले ७ वटै प्रदेशबाट श्रम स्वीकृतिको थालनी गरे ।

एमाले विभाजनअघि माधवकुमार नेपाल समूहमा रहेका चर्चित १० भाइमध्येका एक विष्ट अन्तिममा अन्य नौ भाइझैं एमालेमै बसे । पार्टी अध्यक्ष केपी ओलीले १० भाइमध्येका भीम रावल र घनश्याम भूसाललाई झैं उनलाई टिकटविहीन बनाएनन् ।

विष्टले आफ्नो जित जोगाउन अब पूर्वसहकर्मी झाँक्रीलाई हराउनुपर्नेछ । झाँक्रीलाई सत्ता गठबन्धनको साथ छ ।

चुनावी अंकगणित

२०४८ सालको आमनिर्वाचनमा गुल्मी-२ (साविक क्षेत्र नम्बर–३) मा नेपाली कांग्रेसका रुद्रमणि भण्डारी विजयी भएका थिए । त्यसपछिका निर्वाचनहरूमा वामपन्थी वर्चस्व रहँदै आएको छ ।

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको पार्टीगत मतमा एमाले अगाडि छ । उक्त निर्वाचनमा एमालेले ३१ हजार २५३ र कांग्रेसले २९ हजार ८२१ मत पाएका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले १ हजार ८४१, रामकुमारी झाँक्री आवद्ध नेकपा (एकीकृत समाजवादी)ले ६५८ र राष्ट्रिय जनमोर्चाले ५६ मत पाएका छन् । गुल्मी–२ मा १ लाख ४ हजार ३७ मतदाता छन् ।

यो क्षेत्रमा विष्ट र झाँक्रीबीच रोचक भिडन्त हुँदैछ । एमालेकी पूर्व नेतृ झाँक्रीले काट्ने मत जोगाउँदै गठबन्धनको पनि मत तान्न नसके विष्टलाई विजय बन्न चर्कै पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?