+
+

मेरो कर्णाली सपना

गुलाबजंग शाह गुलाबजंग शाह
२०७९ कात्तिक २९ गते १४:५०

सन् १९६३ को अगस्ट महिनामा मार्टिन लुथर किंग जुनियरले एक भाषणमा भनेका थिए – ‘आई ह्याव ए ड्रिम’। आजपर्यन्त अमेरिकी सिभिल राइट्स मुभमेन्टमा भएको उक्त भाषण संसारको सबैभन्दा सुन्दर भाषण मध्येमा दरिएको छ।

उक्त सपनाले आजसम्म अमेरिकामा समानताको लडाइँलाई उद्वेलित गराउने र उर्जा थप्ने काम गरेको छ। आज तिनै मार्टिन लुथर किंगका शब्द र भावना सापटी लिएर मलाई भन्न मन छ– ‘आई ह्याव ए कर्णाली ड्रिम’ ।

आजको दिनमा पहिलो विश्वको विश्वशक्तिको रुपमा दरिइसकेको अमेरिका भन्दा कोसौं दूर नेपालको पनि दूर-दराजको रुपमा चिनिने कर्णाली प्रदेशको सल्यान जिल्लाको एउटा थुम्कोबाट मैले ‘आई अल्सो ह्याव ए ड्रिम’ भन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ। तर मेरा आमाबुवा, दिदीबहिनी, दाजुभाइ अचम्म मान्नु पर्दैन।

गुलाबजंग शाह

अंग्रेजी शब्द ‘ड्रिम्स’ को उल्था सपना हामी सबैसँग हुन्छ र ती सपना तपाईंसँग पनि छ, मसँग पनि छ र मलाई लाग्छ सम्भावनाको पहाडमाथि टेकेर वर्षौंदेखि पिछडा बनेर बसेको कर्णालीका सबै जन-जनसँग छ, सल्यानका प्रत्येक मन-मस्तिष्कसँग छ।

आज म गुलाबजंग शाह, कर्णालीको सल्यान क्षेत्रको एउटा जनता र राजनीतिक कार्यकर्ताको रुपमा आफ्नो कुरा राख्दै गर्दा हामी सबैको वर्षौंदेखि ड्रिम्सलाई समष्टिगत रुपमा प्रस्तुत गर्न खोज्दैछु। यो एउटा साझा सपना हो जसलाई पूरा गर्न म माध्यम मात्र हुँ… हुन सक्छु।

र साँच्चै भन्ने हो भने यो एउटा सपना मात्रै हैन, यो एउटा संकल्प हो, एउटा अभियान र एउटा आन्दोलन हो। जसको पछाडि वर्षौंको आशा र हजारौंको इच्छाशक्ति, अठोट र दृढ लक्ष्यको साथ अघि बढ्ने संकल्प चाहिन्छ र त्यही बोकेर म तपाईंहरूमाझ आएको छु।

र सल्यान प्रदेश ‘ख’ बाट एउटा उम्मेदवारको रुपमा यो भन्दै गर्दा म जनता रिझाउन र चुनाव जित्नलाई मात्रै भनिरहेको छैन, यसमा साँच्चै भन्ने हो भने, एउटा स्वार्थ लुकेको छ -सल्यानी जनताको रुपमा, कर्णालीको जनताको रुपमा।

त्यसैले यो सपना, यो हाम्रो समष्टिगत सपना… मेरो स्वयंको लागि पनि त्यत्तिकै हो, जति म जस्ता अन्य धेरै कर्णालीवासीको लागि हो। जसले जे भने पनि कर्णालीको हितमा नै कर्णालीवासीको हित लुकेको छ। सल्यानको साझा विकासमा नै प्रत्येक सल्यानवासीको निहित स्वार्थ लुकेको छ। र त्यही साझा स्वार्थको लागि सल्यानको समग्र विकास गर्दै कर्णालीलाई नेतृत्व गर्नका लागि हामीले अघि बढ्नुपर्ने बेला छ ।

यसै ठाउँमा विकास र समृद्धिको सपना देखाउँदै अन्य धेरै उम्मेदवार पनि आएका छन्। धेरैले आफ्नो कुरा राखेका छन्। काम गर्छु भन्ने बाचा दिएका छन्, तर कसरी भन्ने प्रश्नमा कि त शून्यता हात लाग्छ कि त निम्छरो बाटो।

त्यसैले मेरो उम्मेदवारी दिनुपूर्व मैले आफूलाई सोचें र सोधें — आफूले गरेका र गर्नुपर्ने काम। र मजाले सोची, सम्झी समग्र कर्णालीको विकासको लागि आफूले नेतृत्व गर्न सक्ने देखेर तपाईंको माझ आएको छु।

आजको दिनमा अहिलेको लागि, त्योभन्दा ठूलो कुरा सल्यानको समग्र विकास र कर्णालीको समग्र विकास हो। आखिर कहिलेसम्म हाम्रा छोरा-छोरी, नाति-नातिना पुस्ताले दाङ, नेपालगञ्ज र काठमाडौंमा कर्णालीबाट आएको भनेर हीनता र लज्जाबोध गरिरहने, सम्भावनाको उच्चतम खानी भए पनि हामी किन सधैं पछि परिरहनुपर्ने हो र ? त्यसैले अब राजनीति समयको कसीमा बलियो भएर अडिने मात्र हैन भविष्यलाई गर्व गर्न लायक बनाउने खालको चाहिएको छ।

र त्यसको लागि हामी सबैको सहकार्य जरुरी छ। किनकि एक-दुई बाटा-घाटा, एउटा-दुइटा विद्यालय त एक्लैले बनाउन मिल्ला तर समग्र कर्णालीको स्थायी र दिगो परिवर्तन हामी सबैको सहकार्यले मात्रै सम्भव छ।

हामी आजसम्म काम गरिरहेको पार्टी फरक होलान्, भोट हालिरहेको चुनाव चिह्न फरक होला, विचारधारा र आस्था पनि फरक होलान् तर हामीमध्ये हरेकको मनमा कर्णाली र मस्तिष्कमा कर्णालीको हित रहेको कुरा पक्का हो।

त्यसैले सबैको लागि एउटा लगन, अठोट, भाइचारा र एक–अर्काप्रतिको सम्मानले बनेको सपना हो-कर्णाली ड्रिम्स।

कर्णाली ड्रिम्स के हो ?

  • देश, केन्द्र, राजधानीतर्फ हेर्ने हैन… समग्र देशलाई आफूतिर आकर्षित गराउन सक्ने अभियानको अर्को नाम हो, कर्णाली ड्रिम्स
  • पूर्वाधार, सहजता र भौगोलिकताले दूर बनायो होला, मन जोड्ने, हामीलाई समृद्धिसँग जोड्ने एउटा पुल हो, कर्णाली ड्रिम्स
  •  गल्ती गर्ने र आरोप-प्रत्यारोप गरेर हाम्रा आपसी मूल्य मान्यता लादिरहेर कर्णालीलाई पछि पारिरहने हाम्रो संस्कारलाई पाखा लगाउने विकल्प हो, कर्णाली ड्रिम्स
  •  विशाल हृदयले एकअर्कालाई स्वीकार गर्ने नवीन सोचको अर्को नाम हो, कर्णाली ड्रिम्स
  •  कर्णालीका छोरा-छोरीहरू देशकै रङ्गीन र सम्भावनाको आकाशमा लामो उडान भर्नबाट अब रोकिनुहुन्न र कर्णालीका सन्तानलाई यहीं अडिएर उद्यमशील बनाउने सपना हो, कर्णाली ड्रिम्स
  •  कुनै हेलिकप्टर उड्दा, कुनै गर्भवती महिलाको सकुशलताको कामना गर्ने ठाउँमा सुगम अस्पतालको कल्पना हो, कर्णाली ड्रिम्स
  •  चाडबाडको समयमा धेरैको ज्यान लिने सडक दुर्घटनाको समाचारबाट पर्यटनका लागि बन्न सक्ने बलिया पूर्वाधारयुक्त बाटोको यात्रा हो, कर्णाली ड्रिम्स
  •  हाम्रा छोरीहरूले छाउगोठमा प्राण त्याग गर्ने गरेको समयबाट विश्वविद्यालयमा हाम्रा छोरीहरू दीक्षान्त भइरहेको सपना हो, कर्णाली ड्रिम्स
  •  हाम्रा युवाहरू भारत वा खाडी मुलुकमा पसिना बगाइरहेको आजको अवस्थादेखि आफ्नै ठाउँमा आफूले चाहेको उद्यममा रोजगार गर्न पाउने समयको बाटो हो, कर्णाली ड्रिम्स
  •  पहिरो/बाटो भूक्षय जस्ता भीमकाय प्रकोपले हाम्रा धेरैलाई निल्यो, निलिरहेछ। त्यसको वैज्ञानिक र व्यावहारिक समाधान खोज्ने प्रयास हो, कर्णाली ड्रिम्स

यो साझा संकल्पको लागि सबैजना आ-आफ्नो ठाउँबाट योगदान गर्न कसिऔं, यो महान् प्रस्थानबिन्दुको लागि हामी एक ठाउँमा उभिनु जरुरी छ। र जरुरी छ, व्यक्तिगत जित–हारभन्दा अगाडि बढेर ‘कर्णाली ड्रिम्स’ को लागि एक हुने।

शाह सल्यान प्रदेशसभा ख बाट एमालेका उम्‍मेदवार हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?