९ असोज, सुर्खेत । कर्णाली प्रदेशका सबै जिल्लामा वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सुर्खेत र जुम्लाका केही स्थानमा ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बङ्गालको खाडीमा विकसित भई भारत प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभाव पूर्वबाट पश्चिमतर्फ सर्दै गएपछि कर्णालीमा आजदेखि असोज ११ गतेसम्म वर्षाको प्रभाव बढी रहने अनुमान गरिएको छ ।
वर्षाको प्रभाव बढ्ने
विभागका अनुसार शुक्रबार राति कर्णालीका हिमाली भू–भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
पहाडी भू–भागका अधिकांश स्थानमा पनि मध्यम वर्षा हुने अनुमान छ । प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
शनिबार धेरै भारी वर्षा
शनिबार दिउँसो र राति कर्णालीका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
यस्तै, आइतबार दिउँसो कर्णालीका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । थोरै स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।
आइतबार राति वर्षाको प्रभाव केही घट्ने भए पनि कर्णालीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात र एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ ।
बाढी–पहिरोप्रति सतर्क
लगातारको वर्षाका कारण कर्णालीका सडक, नदी तथा खोला आसपास बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
विशेषगरी हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा भारी वर्षाका कारण यातायात तथा जनजीवन प्रभावित हुनसक्ने भएकाले सम्बन्धित निकायले पूर्वतयारी बढाउनुपर्ने अवस्था छ ।
प्रतिक्रिया 4