+
+
Shares

कर्णालीका १० जिल्लामा राति सवारी सञ्चालनमा रोक

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले शुक्रबार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म राजमार्गसहित स्थानीय सडकमा रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरेको हो।

हेमन्त केसी हेमन्त केसी
२०८३ असोज ८ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली सरकारले भारी वर्षाको सम्भावना देखिएपछि १० वटै जिल्लामा शुक्रबार बेलुका ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
  • प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्गसहित जोखिमयुक्त सडकमा निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
  • समितिले सेना, प्रहरी र स्थानीय तहलाई खोज, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन तथा नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।

८ असोज, सुर्खेत । भारी वर्षाको सम्भावना देखिएपछि कर्णाली सरकारले बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न प्रदेशका १० वटै जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बिहीबार बसेको बैठकले शुक्रबार बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म राजमार्गसहित स्थानीय सडकमा रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय गरेको हो। मौसम प्रतिकूल रहेका बेला रातिको समयमा बाढी तथा पहिरोले सडक अवरुद्ध पार्ने, सवारीसाधन पुरिने तथा यात्रु अलपत्र पर्ने जोखिम उच्च हुने भएकाले सावधानीस्वरुप यस्तो निर्णय गरिएको हो।

मुख्यमन्त्री मङ्गलबहादुर शाहीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशभर रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार तत्कालका लागि शुक्रबार बेलुका ६ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ।

जोखिमयुक्त सडकमा विशेष निगरानी

कर्णालीका पहाडी तथा हिमाली जिल्लामा पछिल्लो समय सडक विस्तारसँगै बाढी र पहिरोको जोखिमसमेत बढ्दै गएको छ। भिरालो भूगोल, कमजोर सडक संरचना, नदी तथा खोलानालामाथिका अस्थायी संरचना र वर्षाका कारण सडकमा ढुंगा तथा माटो खस्ने समस्या रहेका कारण रातिको समयमा यात्रा थप जोखिमपूर्ण हुने गरेको छ।

समितिले कर्णाली राजमार्ग, भेरी करिडोर, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग लगायत प्रदेशका प्रमुख सडक तथा स्थानीय सडकमा आवश्यक निगरानी बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। विशेषगरी पहिरोको जोखिम रहेका सडकखण्ड, खोलामा पानीको बहाव बढ्नसक्ने स्थान तथा विगतमा बाढी र पहिरोबाट प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर निगरानी गर्न भनिएको छ।

वर्षाका कारण सडक अवरुद्ध भएमा तत्काल सडक खुलाउने, यात्रुको उद्धार गर्ने र आवश्यक सामग्री तथा जनशक्ति परिचालन गर्ने गरी सम्बन्धित निकायलाई तयारी अवस्थामा राखिएको प्रदेश सरकारले जनाएको छ।

सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

बैठकले सम्भावित विपद्को समयमा खोज, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई पनि आफ्नो क्षेत्रमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना प्रभावकारी बनाउन भनिएको छ।

विपद् भएको स्थानमा तत्काल उद्धार टोली पुग्न सक्ने गरी आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। स्थानीय तहलाई आफ्ना विपद् व्यवस्थापन संयन्त्र सक्रिय राख्न तथा जोखिममा रहेका बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गर्नसमेत आग्रह गरिएको छ।
प्रदेश सरकारले सम्भावित जोखिमयुक्त क्षेत्रमा नागरिकलाई अनावश्यक यात्रा नगर्न, खोला तथा नदीको किनारमा नजान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

राजमार्गदेखि स्थानीय सडकसम्म रोक

रात्रिकालीन सवारी आवागमन रोक्ने निर्णय कर्णालीका १० वटै जिल्लामा लागू हुनेछ। प्रदेशका मुख्य राजमार्ग तथा स्थानीय सडकमा समेत रातिको समयमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन नगर्न भनिएको छ।

कर्णालीमा सुर्खेतबाट दैलेख, कालिकोट हुँदै जुम्ला जोड्ने कर्णाली राजमार्ग, सुर्खेत–जाजरकोट हुँदै डोल्पा जोडिने भेरी करिडोर, सल्यान–रुकुम जोड्ने राप्ती राजमार्ग तथा मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा वर्षायाममा बाढी र पहिरोका कारण यातायात प्रभावित हुँदै आएको छ।

विशेषगरी भेरी करिडोरका विभिन्न स्थानमा नदी कटान र पहिरोको जोखिम रहेको छ। त्यस्तै कर्णाली राजमार्गमा पहिरो खस्ने तथा सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। रातिको समयमा सडकको अवस्था पहिचान गर्न कठिन हुने भएकाले सम्भावित दुर्घटना र मानवीय क्षति रोक्न रात्रिकालीन आवागमनमा रोक लगाइएको प्रदेश सरकारको भनाइ छ।

यात्रुलाई वैकल्पिक योजना बनाउन आग्रह

रातिको समयमा लामो दूरीको यात्रा गर्ने यात्रुले आफ्नो यात्रा तालिका परिवर्तन गर्न प्रदेश सरकारले आग्रह गरेको छ। सडकको अवस्था र मौसम हेरेर मात्रै यात्रा गर्न तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरिएको छ।

प्रदेश सरकारले वर्षाको अवस्था सामान्य भएपछि सडक तथा यातायात सञ्चालनबारे पुनः निर्णय गर्ने जनाएको छ। यसका लागि मौसम पूर्वानुमान, नदी तथा खोलाको बहाव, सडकको अवस्था र सम्भावित जोखिमका आधारमा सम्बन्धित निकायसँग समन्वय गरिनेछ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै प्रदेश, जिल्ला र स्थानीय तहबीच समन्वय बढाउनसमेत निर्देशन दिएको छ। भारी वर्षाका कारण कुनै क्षेत्रमा बाढी, पहिरो, डुबान वा अन्य विपद् भएमा तत्काल सूचना आदानप्रदान गरी उद्धार तथा राहत परिचालन गर्ने व्यवस्था मिलाउन भनिएको छ।

कर्णालीमा वर्षाका कारण विगतमा राजमार्ग तथा स्थानीय सडकमा पहिरो खस्दा लामो समयसम्म यातायात अवरुद्ध हुने, यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिने र कतिपय स्थानमा बाढीले सडक बगाउने समस्या देखिँदै आएको छ। यसपटक मौसम पूर्वानुमानमा भारी वर्षाको सम्भावना देखिएपछि विपद् आउनुअघि नै जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश सरकारले यातायातमा अस्थायी रोक लगाउने निर्णय गरेको हो ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?