News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति नहोस् भनेर आवश्यक जनशक्ति र साधनस्रोतसहित तयारी अवस्थामा रहेको बताएका छन् ।
- असोज ८ गते बेलुकादेखि ९ गते रातिसम्मको वर्षाले कर्णाली करिडोर, मध्यपहाडी राजमार्ग र राप्ती राजमार्गसहित विभिन्न सडक पहिरोले बन्द भएका छन् ।
- कर्णालीमा असोज ८ गते बेलुकादेखि ११ गतेसम्म रात्रिकालीन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ र लामो दूरीका सवारीसाधन पनि सञ्चालन भएका छैनन् ।
१० असोज, कर्णाली । कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति हुन नदिने गरी पूर्वतयारी अवस्थामा रहेको बताएका छन् ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको असोज ८ गतेको बैठकको निर्णयको निर्देशनअनुसार मौसमी विपद् जोखिमबाट क्षति हुन नदिन सबै प्रमुख जिल्ला अधिकारीहरूले उपलब्ध जनशक्ति तथा साधनस्रोतसहित पूर्वतयारी अवस्थामा रहेको बताएका हुन् ।
उनीहरूका अनुसार बाढी, पहिरो, डुबान तथा सडक दुर्घटनाको जोखिमबाट सतर्क रहन हरेक दिन सर्वसाधरणलाई सूचना गर्ने गरिएको छ । डोल्पा तथा हुम्लाका प्रमुख जिल्ला अधिकारीद्वय जुनु हमाल ढकाल र भोलानाथ गुरागाईँले बाढी तथा पहिरोको जोखिममा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन सूचना गरिएको बताए ।
भेरी तथा कर्णाली नदीको बहाव सामान्यतया बढेपनि त्यस्तो जोखिम नरहेको तथापि सम्भावित जोखिमबाट बच्न नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको उनीहरूको भनाइ छ ।
मुगु तथा कालिकोटका प्रमुख जिल्ला अधिकारीद्वय पोषनराज भण्डारी र झविलाल भट्टराईले यहाँका भिरोलो बस्तीहरू बढी जोखिममा रहेकाले बासिन्दाकालाई उच्च सतर्कता अपनाउन सूचना गरिएको बताए ।
मुगु प्रजिअ भण्डारीका अनुसार उच्च भागमा हिमपात र तल्लो भागमा मध्यम वर्षा भइरहेको छ । कालिकोट प्रजिअ भट्टराईले रातभरि बढी हावा चलेको, कर्णाली राजमार्गअन्तर्गत गगने खोलामा पहिरो जाँदा सडक बन्द भएको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जानकारी दिए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सिञ्जाको हिमनदी किनारको जोखिम बस्ती व्यवस्थापनका लागि सम्बन्धित पालिकासँग समन्वय गरिएको बताउँदै लेकमा हिमपात र बेँसीमा सामान्यत वर्षा भइरहे पनि ठूलो असर भने नगरेको बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले कर्णाली राजमार्गअन्तरगत दैलेख खण्डका सडकमा पहिरो जाने जोखिम देखिएकोले उक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ दैलेखको पहिरो प्रभावित परिवारलाई नजिकैको विद्यालयमा आश्रयको व्यवस्थापन गरिएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी नवराज बरालले हालसम्म अवस्था सामान्य रहेपनि जाजरकोट पहिरोको उच्च जोखिम क्षेत्र भएकाले सम्भावित जोखिमबाट क्षति हुन नदिन सबै संयन्त्र तयारी अवस्थमा राखिएको बताए ।
रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले ठूलो तथा सानो भेरी आसपासमा पानीको बहाव बढेर क्षति हुने जोखिम देखिएकाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना गरिएको बताए । जोखिमबाट बचाउन आठबीसकोट नगरपालिकाको गोतामकोटमा अस्थायी बसोबासका लागि क्षेत्र छुट्याइएको उनको भनाइ छ ।
सल्यानका प्रमुख जिल्ला अधिकारी बन्दनाकुमारी केसीले राप्ती राजमार्गअन्तर्गत लुहाम–कपुरकोट–तुल्सीपुर सडकमा पहिरो बढी गएको भन्दै सो क्षेत्रमा जोखिम धेरै रहेकाले दिउँसोको समयमा पनि सवारी आवागमन बन्द गरिएको जानकारी दिइन् । पहिरो पन्छाएर एम्बुलेन्स र विद्युत् जस्ता अति आवश्यक गाडी मात्र जान दिइएको उनले बताइन् ।
त्यस्तै, सल्यानको दार्मा, कुमाख, कालिमाटी गाउँपालिका र बागचौर नगरपालिकामा स्क्रबटाइफसको सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य सेवा महाशाखामा अध्ययन तथा अनुसन्धानका लागि विज्ञसहितको टोली पठाउन केन्द्रमा अनुरोध गरेसँगै टोली आउन तयार भएको तर पानीका कारण रोकिएको उनले बताइन् ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले सुर्खेतमा पहिरो, बाढीको जोखिम, जनसङ्ख्याको चाप र राजमार्ग सवारी आवागमनलाई ध्यानमा राखेर सबै सरोकार भएका निकायलाई तयारी अवस्थामा राखिएको बताए ।
मौसमी विपद् जोखिमका कारण हुने दुर्घटनाबाट नागरिकको जीउज्यान सुरक्षा गर्न सबै सुरक्षा निकाय, प्रदेश अस्पताल, रेडक्रस, गैरसरकारी संस्थासहित उपकरण र जनशक्ति तयार रहेको उनले जनाए ।
कर्णालीमा असोज ८ गते बेलुकादेखि ११ गतेसम्म रात्रिकालीन सवारी आवागमन पूर्ण बन्द गरिएको छ भने लामो दूरीका सवारीसाधन पनि सञ्चालन भएका छैनन् । नागरिकलाई तत्काल आश्रयका लागि सामुदायिक भवन, विद्यालय, स्वास्थ्य चौकी, वडा तथा पालिका क्षेत्र तोकिएको उनले बताए । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, जिल्ला आपतकालीन सञ्चालन केन्द्र, अस्पताल, नेपाल रेडक्रस, गैससलगायतलाई तयारी अवस्थामा राखिएको बताएका छन् ।
यता कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले असोज ८ गते बेलुकादेखि ९ गते रातिसम्म आएको वर्षाले कर्णाली करिडोर तथा राजमार्ग, मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग, सुर्खेत–सल्यान सडक, लुहाम–कालीमाटी सडकखण्ड पहिरो कारण बन्द भएको जानकारी दिए ।
प्रतिक्रिया 4