+
+

रामेछापको प्रदेश सभा २ मा मिलन एक्लै, गठबन्धनको भरमा ढुक्क युवराज

राजन महतरा राजन महतरा
२०७९ कात्तिक ३० गते ७:४५

३० कात्तिक, रामेछाप । १२ जना उम्मेदवार मैदानमा रहेको रामेछापको प्रदेश सभा- २ मा यो पटक नयाँ अनुहारअघि आउने छन् । कारण यहाँबाट उठ्ने सबै नयाँ अनुहार हुन् । यी नयाँ अनुहारमा पनि मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका युवराज चौलागाईँ र नेकपा एमालेका मिलन घिसिङ दुवै नयाँ र युवा हुन् ।

घिसिङ गैरसरकारी संघसंस्था चलाएर राजनीतिमा आएका हुन् भने चौलागाईं माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् ।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा प्रतिनिधि सभा माओवादीले लिएको थियो भने दुवै प्रदेश सभा एमालेले । प्रदेश सभा-२ मा एमालेबाट कैलाश ढुंगेलले चुनाव जितेका थिए । ढुंगेल अहिले प्रतिनिधि सभा उम्मेदवारमा छन् ।

२०७४ मा ढुंगेललाई सहयोग गर्ने माओवादीबाट यसपटक आफ्नै उम्मेदवार चौलागाईं मैदान उत्रिएका छन् । उनलाई नेपाली कांग्रेसले साथ दिएको छ । प्रतिनिधि सभामा माओवादीले यहाँ कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामलाई साथ दिएको छ ।

केन्द्रीय राजनीतिमा सक्रिय रहेका माओवादी उम्मेदवार चौलागाईं चुनाव जित्नेमा ढुक्क छन् । ‘स्थानीय तहको मतलाई हेर्दा पनि हामी अघि छौं । मेरो क्षेत्रको बलियो उम्मेदवार म हो । अहिले त नेपाली कांग्रेसको साथ पनि मलाई छ,’ उनी भन्छन् ।

४४ वर्षका चौलागाईंले ४० भन्दा बढी देशको भ्रमण गरेका छन् । विकसित र विकासोन्मुख देशको विकासको मोडल अध्ययन गरेका उनले रामेछापको दिगो विकासका लागि काम गर्ने बताएका छन् । रामेछापलाई केन्द्रीय राजनीतिको मूलप्रवाहमा जोड्न सक्ने भन्दै चौलागाईंले मतदाताको घरघरमा पुगेर भोट मागिरहेका छन् ।

रामेछापमै बसेर गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारसी संघ संस्थाका लागि काम गरेका एमाले उम्मेदवार घिसिङ पनि जितको दाबी गर्छन् । ‘रामेछापका सीमान्तकृत, दलित, जनजाति, महिला लगायतका क्षेत्रमा सामाजिक संघ संस्थामार्फत जिल्लाभरी कार्यक्रम गरेको छु,’ उनले भने, ‘गाउँमे बसेर नागरिकहरुको सेवा गरिरहेको छु । मेरो जित पक्का छ ।’

रामेछापको प्रदेश सभा २ मा मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिका पर्छ ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्ने हो भने माओवादीले दोरम्बा शैलुङ र सुनापति गाउँपालिका जितेको छ । माओवादीलाई साथ दिएको कांग्रेसल दोरम्बा शैलुङ गाउँपालिकामा उपाध्यक्ष मात्र जितेको छ । एमालेले मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?