+
+

श्रमिकका लागि मलेसियामा नेपाली दूतावासले सुरु गर्‍यो घुम्ती सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ८:३१

१ मंसिर, मलेसिया । मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ ।

नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए ।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उदघाटन गरे ।

गैरआवासीय नेपाली संघलगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा संचालन गरिएको हो ।

एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २८० जना श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानी सम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवा उदघाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगतनिरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तर्क्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गरेका थिए ।

सुरक्षा गार्ड तथा सरसफाइसम्बन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछि उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् ।

विशेषत सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम-सम्झौता २०१८ र मलेसियाको श्रम कानुन अनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए ।

राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् ।

मागपत्रमा प्रस्तुत गरे अनुसार आवास सुविधा, पारिश्रमिक र कार्यसमयलाई अक्षरस पालना गरिने उनले बताए । यसले गर्दा अहिले सुरक्षागार्ड र सरसफाइसम्बन्धी माग पत्र प्रमाणीकरणमा केही ढिला भए पनि दीर्घकालमा यसबाट श्रमिकहरुको सम्मान तथा सेवा सुविधामा सहयोग पुग्ने उनले बताए ।

घुम्ती सेवा उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर बुढ थापालगायत दूतावासका कर्मचारीहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?