+
+

अमरेश सिंह : विजयको विरासत जोगाउन बगावतको बाटो 

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २०:२०

सर्लाही–४ का निवर्तमान सांसद अमरेशकुमार सिंहले यसपटक पार्टीबाट टिकट पाएनन् । नेपाली कांग्रेसले उक्त क्षेत्रबाट नागेन्द्र रायलाई उठाएपछि सिंहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसपटक उनी कांग्रेसको सिफारिसमै परेनन् । उनको क्षेत्रबाट पार्टीका महामन्त्री गगन थापा एकल सिफारिसमा परेका थिए । शेखर कोइराला गुटमा रहेका पूर्व केन्द्रीय सदस्य उनलाई पार्टी नेतृत्वले चौधौं महाधिवेशन प्रतिनिधिमै हराएको थियो । यो पृष्ठभूमिमा जिल्ला नेतृत्वले महामन्त्री थापालाई एकल सिफारिस गरेको थियो ।

गत स्थानीय चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसले सिंहलाई कारबाही पनि गरेको थियो । २०६३ सालको अन्तरिम संसद सदस्य बनेयता सधैं विवादमा आइराख्ने सिंह स्वतन्त्र उम्मेदवारी दिएर पनि चर्चामै छन् । यसअघि २०७० मा संविधानसभा र २०७४ मा आम निर्वाचन जितेका उनी यसपटक पनि विजयको दाबी गरिरहेका छन् ।

सिंह सर्लाहीको बलरा नगरपालिका–४ का स्थायी बासिन्दा हुन् । नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका उनी २०४२ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएको, दुईपटक हिरासतमा परेको बताउँछन् ।

गत वैशाखको स्थानीय तह निर्वाचनमा सर्लाहीमा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मत हेर्दा नेपाली कांग्रेस निकै अगाडि देखिन्छ । त्यो बेला कांग्रेसले २३ हजार १३१, नेकपा (माओवादी केन्द्र)ले १८ हजार ६१५ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १४ हजार ७३१, एमालेले ११ हजार ६७४, जनता समाजवादी पार्टी (जसपा)ले ६ हजार ४३३ र जनमत पार्टीले २ हजार ६१२ मत पाएको थियो ।

स्थानीय तहको मत सिंहलाई भन्दा कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र रायलाई बढी अनुकूल हुने देखिन्छ । सर्लाही–४ मा जसपाका राकेशकुमार मिश्र र जनमत पार्टीका रामबाबु राय पनि प्रतिस्पर्धामा छन् । मिश्रलाई एमालेको साथ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?