+
+

शिवप्रसाद हुमागाईं : खारिएका उम्मेदवार, अनुकूल अंकगणित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २२:१२

२०३६ सालमा नेविसंघमा आबद्ध भएर नेपाली कांग्रेसको राजनीतिमा आएका ६१ वर्षीय शिवप्रसाद हुमागाईं दोस्रो पटक संसद प्रवेश गर्ने चुनावी अभियानमा छन् । यसपटक काभ्रे-२ बाट प्रतिनिधिसभा सदस्यमा उठेका उनी स्थानीय राजनीतिमा खारिएका नेता हुन् ।

पहिलो पटक २०५६ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुमागाईं ०६४ र ०७० को दुवै संविधासभामा पुग्न सकेनन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको चुनावी कमाण्ड सम्हालेका उनले चौथो पटक टिकट पाएका छन् ।

२०३६–२०३९ सालसम्म नेविसंघ र शिक्षक संघको जिल्ला कार्यसमिति सदस्य भए । २०३८ सालमा नेविसंघको केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका उनी २०३९ देखि २०४१ सम्म नेविसंघ काभ्रेको सचिव भएर काम गरे । उनी २०४२ देखि २०४६ सम्म नेविसंघ जिल्ला सभापतिमा चयन भए ।

२०४८ देखि २०५१ सम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सचिवको एकैसाथ जिम्मेवारी सम्हालेका उनी २०५२ सालमा कांग्रेस जिल्ला सभापति निर्वाचित भए । २०५३ वैशाख १५ गते पुनः भएको अधिवेशनमा पनि उनी सभापति निर्वाचित भए ।

२०६२–२०६३ सालको जनआन्दोलनको बलमा पुनर्स्थापित अन्तरिम संसदमा पनि उनी सदस्य थिए । हुमागाईंले २०५८ देखि २०६१ सालसम्म पार्टीको केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर पनि काम गरे । १३ औं महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरे । यसपछि उनले श्रमिक तथा ट्रेड युनियन विभागको संयोजकको रूपमा भूमिका निर्वाह गरे । २०४२ सालको सत्याग्रहमा नख्खु जेलमा बसेका उनले पटक–पटक जेल जीवन बिताएका छन् । २०६२/६३ सालको जनआन्दोलनमा उनकै नेतृत्वमा बागबजारमा कर्फ्यू  तोडिएको थियो ।

चुनावी अंकगणित

सत्ता गठबन्धनको साझा उम्मेदवार हुमागाईंसँग जितका लागि सहज अंकगणित छ । यही अंकगणितको बलमा राष्ट्रिय राजनीतिमा चर्चित अनुहार नेकपा एमालेका नेता गोकुल बाँस्कोटासँग उनले प्रतिस्पर्धा गर्दैछन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा वडा तहमा एमालेले ४५ हजार ५१५ मत पाउँदा कांग्रेसले पनि ४५ हजार ४५६ मत पाएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले ६ हजार ३७० र नेकपा एकीकृत समाजवादीले ८ हजार ६७६ मत पाएको छ । माओवादी र एकीकृत समाजवादीको मत जोड्दा हुमागाईंको चुनावी अंकगणित अनुकूल देखिन्छ । उनको मुख्य चुनौती आफ्नै पार्टीको र गठबन्धनमा रहेका दलहरुको मत जोगाउनु हो ।

स्थानीय चुनावको नतिजा र एमाले विरुद्धको गठजोड हेर्दा यसपटक काभ्रे-२ मा एमालेका गोकुल बास्कोटाको जग कमजोर देखिन्छ । त्यसमाथि छानबिन र सफाइ नभएको भ्रष्टाचार आरोपको भारीसहित प्रतिस्पर्धामा छन् उनी ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका शिवप्रसाद हुमागाईं प्रतिस्पर्धामा छन् । त्यस्तै, राप्रपाकी यशु आले मगर, सिनेमेकर मनोज पण्डित (स्वतन्त्र) लगायत उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।

यो अवस्थाबाट विजय निकाल्न बास्कोटाले एमालेको मत जोगाएर मात्र पुग्दैन, स्वतन्त्र मत र गठबन्धनको पनि ठूलै संख्यामा मत तान्न सक्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?