+
+

कैलाली–१ को संकेत : रामजनम र रञ्जिताको कडा प्रतिस्पर्धा

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर ४ गते २३:३१

४ मंसिर, धनगढी । कैलाली–१ मा सत्तारुढ गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आइतबार मतदान गरेपछि मतदातासँगको कुराकानीका आधारमा सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।

क्षेत्र नम्बर १ का ९ वटा मतदान केन्द्रमा करिब दुई सय जना मतदातासँग गरिएको कुराकानीलाई आधार भन्दा रामजनम चौधरी श्रेष्ठ भन्दा दुई मतले अघि देखिएका छन् । कुल दुई सय मतदातामध्ये ५४ जनाले चौधरीको रुख चिह्न र ५२ जनाले श्रेष्ठको ढकियामा मतदान गरेको बताएका छन् । ३५ जनाले नेकपा एमालेका तपेन्द्र रावललाई र १३ जनाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई र ११ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मत दिएको बताएका छन् ।

सर्वेक्षणमा सहभागी ३५ जनाले भने कसलाई मतदान गरेको खुलाउन चाहेनन् ।

कैलाली–१ को धेरै मतदाता रहेको र निर्णायक मानिएको क्षेत्र टीकापुर नगरपालिका–१ का मतदातासँग कुराकानी गर्दा रामजनम चौधरीलाई मत दिएको बताउने धेरै भेटिए ।

टीकापुरको खड्क स्मृति माध्यमिक विद्यालयमा ४३ जना मतदातासँग कुराकानी गर्दा १७ जनाले कांग्रेसलाई, ७÷७ जनाले नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेलाई मत दिएको बताएका छन् । तीमध्ये ५ जनाले नागरिक उन्मुक्ति पार्टी, ४ जनाले राप्रपामा मतदान गरेको बताउँदा तीन जनाले कहाँ मत दिएको खुलाउन चाहेनन् ।

टीकापुर नगरपालिका–१ कै वीरेन्द्र विद्या मन्दिर मतदान केन्द्रमा ४५ जना मतदातासँग गरिएको कुराकानीमा ११ जनाले कांग्रेस, ९ जनाले एमाले, ४ जनाले नागरिक उन्मुक्ति पार्टी, ५ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी र २ जनाले राप्रपामा मतदान गरेको भनेका छन् । १४ जनाले भने कसलाई मत दिएको खुलाउन चाहेनन् ।

टीकापुर नगरपालिका–२ को जनजागृति माध्यमिक विद्यालयमा १० जनामा गरिएको सर्वेक्षणमा ४ जनाले रुख, दुई जनाले सूर्य चिह्नमा मत दिएको बताए भने ४ जनाले खुलाउन चाहेनन् ।

टीकापुर नगरपालिका–१ र २ बजार क्षेत्रमा पर्ने वडा हुन् । यी दुवै वडा अरु वडाको तुलनामा थारु समुदायको कम बसोबास भएको क्षेत्रमा पर्छन् । यहाँ करीब ७० प्रतिशत अन्यत्रबाट बसाईं सरी आएकाहरुको बसोबास छ ।

यी दुई बाहेक ग्रामीण क्षेत्रमा पर्ने जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा भने नागरिक उन्मुक्ति पार्टीलाई मत दिनेको संख्या गठबन्धनको तुलनामा बढी देखिएको छ ।

जानकी गाउँपालिका–३ को कृषि भवन र गौरीशंकर आधारभुत विद्यालय मतदान केन्द्रमा भने उन्मुक्ति पार्टीको राम्रो मत पाउने देखिन्छ । कृषि भवनमा ३० जनामा गरिएको कुराकानीमा नागरिक उन्मुक्ति पार्टीलाई ९, कांग्रेसलाई ९, एमालेलाई ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई २÷२ जनाले मत दिएको बताएका छन् भने ६ जनाले बताउन चाहेनन् । यो केन्द्रमा २५ सय ७० मतदाता छन् ।

वडा नम्बर ३ को गौरीशंकर आधारभूत विद्यालयमा १५ जनालाई सोधिएको प्रश्नमा ५ जनाले रुख, ५ जनाले सूर्य, २ जनाले ढकियामा मतदान गरेको बताएका छन् । उनीहरुमध्ये ४ जनाले बताउन अस्वीकार गरे ।

जानकी गाउँपालिका–१ को तोरियापुरको जगन्नाथ प्राथमिक विद्यालय मतदान केन्द्रमा १५ जनामा मतदातासँग गरिएको कुराकानीमा ७ जनाले ढकियामा, ३ जनाले सूर्यमा र २ जनाले रुखमा मतदान गरेको बताए । ३ जनाले भने कहाँ मत दिएको खुलाउन चाहेनन् ।

सोही वडाको सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रमा १२ जना मतदाता मध्ये ढकियामा ५ जना, रुखमा २ जना, सुर्यमा १ जना र ४ जनाले नबताउने प्रतिक्रिया दिए । जोशीपुर गाउँपालिका–१ को वडा कार्यालय मतदान केन्द्रमा १५ जना मतदातामध्ये ६ जनाले ढकिया, ३ जनाले रुख, ३ जनाले सूर्य, ३ जनाले राप्रपामा मतदान गरेको बताएका छन् ।

नागरिक उन्मुक्ति पार्टीलाई मत दिएको बताउने ५२ मध्ये ४० जनाले २०७४ को निर्वाचनमा रेशम चौधरीलाई मत दिएको बताएका छन् भने अन्य १२ जनाले अरु पार्टीलाई मत दिएका थिए । अधिकांश थारु समुदायबाट प्रतिनिधित्व गर्ने ती मतदाताले नागरिक उन्मुक्ति पार्टीलाई परीक्षण गर्न मत दिएको बताए भने केहीले रेशम चौधरी र थारु समुदायको न्यायका लागि मत दिएको जनाएका छन् ।

‘रामजनम चौधरीजी पनि हाम्रो आफ्नै मान्छे हुनुहुन्छ । उहाँले धेरै पटक चुनाव जितिसक्नुभएको छ’, एक मतदाताले अनलाइनखबरसँग भने, ‘अहिले उन्मुक्ति पार्टी आएको छ । रेशम चौधरीको न्याय, हाम्रो पहिचान र विकासका लागि उहाँलाई मतदान गरेको हुँ ।’

नेपाली कांग्रेस र नेकपा एमालेलाई मत दिएकाहरु मध्ये अधिकांश पुराना मतदाता देखिए भने पारिवारिक पृष्ठभूमिका कारण धेरै युवाले पनि मत हालेको देखिएको छ ।

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा प्रति पनि नयाँ मतदाताको आकर्षण देखिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?