News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालनको समयसीमा राति २ बजेसम्म बढाएको छ ।
- ‘विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ लागू गर्दै प्रशासनले २१ सर्त अनिवार्य पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।
- मापदण्डअनुसार लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को र लाउन्ज बारले राति २ बजेसम्म सञ्चालन अनुमति पाउनेछन्, तर सर्त उल्लंघन भए अनुमति तत्काल रद्द गरिनेछ ।
२ मंसिर, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालनको समयसीमा राति २ बजेसम्म बढाएको छ । यसअघि यस्ता व्यवसाय राति साढे १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था थियो ।
‘विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ लागू गर्दै प्रशासनले मंगलबारदेखि राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न अनुमति दिएको हो । तर, यसका लागि व्यवसायीले २१ वटा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।
नयाँ मापदण्डअनुसार राति १० बजेसम्म मात्र सञ्चालन हुने व्यवसायले रात्रिकालीन व्यवसायका लागि छुट्टै अनुमति लिनुपर्ने छैन । त्यसपछि पनि व्यवसाय सञ्चालन गर्न चाहनेले भने सम्बन्धित स्थानीय तहको सिफारिस र मापदण्डको चेकलिस्टसहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ ।
मापदण्डको दफा १२ अनुसार लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को र लाउन्ज बारजस्ता मनोरञ्जनात्मक व्यवसायले राति २ बजेसम्म सञ्चालनको अनुमति पाउनेछन् । यसका लागि व्यवसायीले चेकलिस्टसहित प्रशासनमा आवेदन दिनुपर्नेछ । अनुगमन समितिले स्थलगत निरीक्षण र मूल्याङ्कन गरी उपयुक्त ठहर गरेपछि मात्र प्रशासनले अनुमति दिनेछ ।
त्यस्तै, पान, मिठाई, चिया, आइसक्रिम, किराना पसल, रेस्टुरेन्ट, खाना–खाजा पसल, दोहोरी र गजललगायतका व्यवसायले मापदण्ड पूरा गरे राति १२ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।
ध्वनि नियन्त्रणदेखि सुरक्षासम्मका सर्त
मापदण्डले राति २ बजेसम्म सञ्चालन हुने व्यवसायका लागि ध्वनि नियन्त्रण, सुरक्षा, मर्यादा र श्रमिकको सुविधालाई प्राथमिकतामा राखेको छ ।
राति २ बजेसम्म गीत–संगीत बजाउँदा छरछिमेक र आसपासको समुदायलाई कुनै बाधा पुग्न नहुने सर्त छ । यसका लागि व्यवसायस्थल पूर्ण रूपमा साउन्डप्रुफ बनाउनुपर्ने र आवाज बाहिर नजाने गरी साउन्ड कन्ट्रोल सिस्टम जडान गर्नुपर्नेछ । ध्वनि प्रदूषण भएको प्रमाणित भएमा व्यवसाय सञ्चालनको अनुमति तत्काल रद्द गरिने मापदण्डमा उल्लेख छ ।
व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइने भए पनि मदिरा बिक्री वितरणमा भने छुट्टै समयसीमा तोकिएको छ । होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ बमोजिम अनुमति प्राप्त व्यवसायीले दिउँसो १२ बजेअघि मदिरा बिक्री गर्न पाउने छैनन् । त्यस्तै, शुक्रबार राति १ बजेपछि र अन्य बार राति १२ बजेपछि मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ ।
राति २ बजेसम्म खुल्ने डान्स रेस्टुरेन्ट एन्ड बार, दोहोरी, लाइभ ब्याण्ड, लाउन्ज बार, पब, क्लब र डिस्कोथेकमा १८ वर्षमुनिका बालबालिकालाई ग्राहकका रूपमा प्रवेश गराउन पाइने छैन । उनीहरूलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री गर्न पनि पूर्ण प्रतिबन्ध लगाइएको छ ।
त्यस्ता व्यवसायमा धूमपान नगर्ने सेवाग्राहीलाई असर नपर्ने गरी छुट्टै स्मोकिङ जोन बनाउनुपर्नेछ । मादक पदार्थ सेवन गरेका सेवाग्राहीले होटल परिसर छाड्दा व्यवसायीले सुरक्षित यातायातको व्यवस्था मिलाउनुपर्नेछ । सेवाग्राहीले घर पुर्याइदिन अनुरोध गरेमा घरसम्म पुर्याउने व्यवस्था गर्नुपर्नेछ । सार्वजनिक बाटो अवरुद्ध नहुने गरी अनिवार्य पार्किङको व्यवस्था पनि मिलाउनुपर्नेछ ।
अश्लीलता प्रदर्शन गर्न नपाइने
मापदण्डले रात्रिकालीन मनोरञ्जनस्थलमा कलाकारले उत्तेजक पोशाक लगाएर नृत्य गर्न वा गीत गाउन रोक लगाएको छ । अश्लीलता प्रदर्शन नहुने गरी मौलिकता र संस्कृति झल्कने तथा स्वस्थ र मर्यादित मनोरञ्जन प्रदान गर्नुपर्ने सर्त राखिएको छ ।
व्यवसायको आन्तरिक सुरक्षाका लागि परिचयपत्र र पोशाकसहितका सुरक्षा गार्ड राख्नुपर्नेछ । सहज आपत्कालीन निकास, अग्नि नियन्त्रणका सामग्री र व्यवसायस्थलको १०० मिटर वरपरसम्म पर्याप्त बत्तीको व्यवस्था गर्नुपर्नेछ । प्रवेशद्वार र आसपासको सडकसमेत देखिने गरी सीसीटीभी जडान गरी त्यसको ३० दिनसम्मको रेकर्ड सुरक्षित राख्नुपर्नेछ ।
श्रमिकलाई अतिरिक्त सुविधा र सुरक्षित यातायात
राति २ बजेसम्म काममा खटिने कर्मचारी तथा श्रमिकलाई आलोपालो सिफ्टमा काम लगाउनुपर्नेछ । अतिरिक्त समय काम गरेबापत अतिरिक्त सुविधा दिनुपर्ने, रातिको खानाको प्रबन्ध गर्नुपर्ने र काममा आउन–जान पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने सर्त पनि मापदण्डमा छ ।
कार्यस्थलमा यौन शोषण तथा दुर्व्यवहाररहित वातावरण बनाउनुपर्नेछ । काम गर्ने सबै श्रमिकको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको अभिलेख राख्नुपर्नेछ । महिला श्रमिकका लागि स्तनपान कक्ष र सुरक्षित रूपमा पोशाक परिवर्तन गर्ने कक्षको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, मसाज पार्लर, स्पा र क्याबिनका ढोकामा चुकुल वा लक राख्न नपाइने व्यवस्था गरिएको छ ।
मापदण्डअनुसार राति १० बजेपछि सेवा लिन बाहिर निस्कने सेवाग्राहीले आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ । सुरक्षाकर्मीले मागेको समयमा त्यस्तो परिचयपत्र देखाउनुपर्नेछ ।
सर्त उल्लंघन गरे अनुमति खारेज
मापदण्ड र सर्त पालना भए–नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा सुरक्षा निकाय, विराटनगर महानगरपालिका र व्यवसायी संघका प्रतिनिधि रहनेछन् ।
समितिले समय–समयमा आकस्मिक निरीक्षण गर्नेछ । अनुगमनका क्रममा मापदण्डमा तोकिएका कुनै पनि सर्त उल्लंघन गरेको पाइएमा रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति तत्काल रद्द गरी आवश्यक कारबाही गर्न सकिने व्यवस्था मापदण्डमा गरिएको छ ।
प्रतिक्रिया 4